पशु सेवा विभागको उप–महानिर्देशकमा डा. सिंह

राजन प्रसाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका निकायमा कर्मचारीहरूको जिम्मेवारी हेरफेर भएको छ । कृषिले कर्मचारी सरुवाका लागि पठाएको फाइल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृत गरेपछि कर्मचारीहरूको जिम्मेवारी हेरफेर भएको हो ।

डा. नम्रता सिंहले पशुसेवा विभागको उप–महानिर्देशकको जिम्मेवारी पाएकी छन् । उनी नेपाल सरकारको सहसचिव हुन् । पद्या अर्यालले कृषि मन्त्रालय सम्हालेपछि दोस्रो पटक विभागमा महिलालाई महत्त्वपूर्ण अवसर दिइएको हो । यसअघि अर्याल कृषि मन्त्री भएलगत्तै विभागले पहिलो पटक महिला महानिर्देशकका रूपमा डा. दमयन्ती श्रेष्ठलाई पाएको थियो । भर्खंरै सहसचिवमा पदोन्नति भएका डा. शरणकुमार पाण्डेलाई भने राष्टिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला सरुवा गरिएको छ । कृषि तथा पशपन्छी विकास मन्त्रालयले केही महिना अगाडि नै मातहत निकायका कर्मचारी सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको थियो ।

कृषिकै सिफारिसअनुसार केही बिलम्व गरेर सामान्यले जिम्मेवारी हेरफेर गरिदिएको हो । दुई उपमहानिर्देशक रहने विभागमा हाल डा.रामनन्दन तिवारी उपमहानिर्देक छन् । डा.श्रेष्ठ महानिर्देशकमा नियुक्त भएलगत्तै यसको काम–कारबाही चुस्त पार्न तिवारीलाई उपमहानिर्देशकको जिम्मेवारी दिइएको थियो ।

व्यवसायी उत्साहित

विभागअन्तर्गतका कर्मचारी सरुवापछि यसको आ–आफ्नै ढंगले विश्लेषण गरिँदैछ । पशु सेवा विभाग मातहतको प्रयोगशालामा कुशलतापूर्वक जिम्मेवारी सम्हालेकाले सिंहलाई मन्त्री अर्यालले अर्को महत्त्वपूर्ण जिम्मेवारी दिएको कतिपयको बुझाइ छ । भर्खंरै सहसचिवमा पदोन्नति भएका पाण्डेलाई भने व्यवसायीहरूको लविडमा प्रयोगशाला सरुवा गरिएको चर्चा विभागतिर छ । यसअघि लाइभस्टक गुण नियन्त्रण प्रयोगशालामामा रहेकी सिंहप्रति व्यवसायीहरू सन्तुष्ट थिएनन् ।

व्यवसायीको चाहना र कामनालाई नजरअन्दाज गर्दै विधि र प्रक्रियाअनुसार सिंह अघि बढेकाले व्यवसायीहरूले त्यहाँबाट उनको शीघ्र बहिर्गमन चाहेका थिए । पशुपन्छी तथा दाना उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ तथा फिड सप्लिमेन्ट आयात गर्न अनुमति दिने यो कार्यालयबाट उनलाई सरुवा गराउन व्यवसायीहरू सफल भएको विश्लेषण गरिदैछ ।

प्रदेश मन्त्रालयको सह–सचिवको जिम्मेबारी सम्हालेका पाण्डे सहसचिवमा नाम निकाल्न सफल भएपछि विभागअन्तर्गको लाभको कार्यालय मानिने लाइभस्टक ताकेर बसेका थिए । व्यवसायीको रोजाइमा समेत परेकाले उनको चाहना पूरा भएको स्रोत बताउँछ ।