भारतबाट अवैध रुपमा आयात गरिएको ठूलो संख्यामा कुखुरा र हाँसको चल्ला नियन्त्रणमा

काठमाडौं । भारतबाट अवैध रुपमा आयात गरिएको ठूलो संख्यामा कुखुरा र हाँसको चल्ला नियन्त्रणमा लिइएको छ । शसस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीले आइतबार (५ वैशाख)मा २ सय ५० वटा कुखुरा बरामद गरी पशु क्वारेन्टाइन कार्यालय बेलहिया रुपन्देहीलाई जिम्मा लगाएको कार्यालयका प्रमुख डा. शिवलाल भुषालले जानकारी दिए ।

त्यस्तै, इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपेन्देही पनि ठूलो संख्यामा हाँसका चल्ला बरामद गरी कार्यालयको जिम्मा लगाएको उनले बताए । बर्डफ्लुलगायत रोगका मामारीका कारण पन्छी तथा पन्छी जन्य उत्पादनको अवैध आयातलाई प्रतिबन्ध गरिए पनि भारतबाट लुकीछिपी आयात हुँदै आएको उनले बताए । अवैध ओसारपसार नियन्त्रणमा पछिल्लो समय पशु क्वारेन्टाइन कार्यालय बेलहियाको सक्रियतालाई सरोकारवाला निकायले प्रशंसा समेत गरेका छन ।