भेटेरिनरी औषधि वर्गीकरणमा असमानता: समान कम्पोजिसनका औषधिहरू फरक समूहमा वर्गीकृत

काठमाडौं । नेपालका विभिन्न भेटेरिनरी औषधि उत्पादन तथा बिक्री गर्ने कम्पनीहरूले एकै कम्पोजिसनका औषधिहरूलाई फरक समूहमा वर्गीकृत गरी बजारमा बिक्री वितरण गरिरहेका छन्। औषधि ऐनले तोकेको मापदण्डको पालना नगरेर विभिन्न कम्पनीहरूले औषधि वर्गीकरणमा अनियमितता तथा असमानता देखाएका छन्। यस्ता असमान वर्गीकरणले पशु चिकित्सक, उपभोक्ता, र औषधि वितरणकर्ताहरूका लागि समस्या बनेको छ, जसका कारण पशु औषधि बजारमा अव्यवस्थित तथा गैरकानूनी अभ्यास बढ्दै गएको छ।

नेपालको औषधि ऐन, २०३५ नियमावली २०४३ले पशु औषधिहरूलाई कम्पोजिसन तथा प्रिस्क्रिप्सन आवश्यकताको आधारमा विभिन्न समूहहरूमा वर्गीकृत गर्नुपर्ने स्पष्ट मापदण्ड निर्धारण गरेको छ। यस मापदण्ड अनुसार समूह ’क’, ’ख’, ’ग’, र ’घ’ मा वर्गीकृत गरिएको छ, जसमा समूह ’ख’ मा पर्ने औषधिहरू बिना प्रिस्क्रिप्सन बिक्री गर्न नहुने व्यवस्था गरिएको छ। समूह ‘ग’ तथा अन्य समूहका औषधिहरू भने अनुभवका आधारमा प्रिस्क्रिप्सन बिना नै विक्री वितरण गर्न सकिने व्यवस्था ऐनले गरेको छ।

ऐनको यो वर्गीकरण प्रणालीले पशु स्वास्थ्यको सुरक्षा, औषधि दुरुपयोगको रोकथाम, र उपभोक्ताको हितलाई ध्यानमा राख्दै औषधिहरूको नियमन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

यद्यपि, समान कम्पोजिसन हुँदाहुँदै पनि फरक समूहमा वर्गीकृत गरी बजारमा वितरण भइरहेको छ। उदाहरणका लागि, एमडिएच फर्मास्यूटिकल्सको आईभरनाइड बोलस र लिक्विडमा अक्सीक्लोजानाइड बीपी भेट १०० एमजी र आइभरमेक्टिन २० एमजी राखिएको औषधिलाई समूह ‘ख’ मा पर्ने भनी विक्री वितरण गरिएको छ, जुन औषधि बिना प्रिस्क्रिप्सन बिक्री गर्नु नहुने उल्लेख गरिएको छ।

त्यस्तै, एमडिएचकै अर्को उत्पादन एजडेनाइड-एल भेटेरिनरीमा लिभामोसिल हाइड्रोक्लोराइड बीपी ७५० एमजी र अक्सीक्लोजानाइड बीपी भेट १३०० एमजी राखिएको छ, र यस औषधिलाई पनि समूह ‘ख’ मा वर्गीकृत गरिएको छ। एमडिएचकै आइभरनाइड १५० एमएलमा समेत अक्सीक्लोजानाइड बीपी भेट १०० एमजी र आइभरमेक्टिन मिश्रित रहेको छ, र यसलाई पनि समूह ‘ख’ मा राखिएको छ।

यस्तै, एसियन फर्मास्यूटिकल्सको उत्पादन म्याटेमर एल फोर्ट बोलस र लिक्विडमा पनि अक्सीक्लोजानाइड बीपी भेट १२५० एमजी र लिभामोसिल हाइड्रोक्लोराइड आईपी ७५० एमजी रहेको छ, र यसलाई समूह ‘ख’ मा राखिएको छ।

क्यूमेड फर्मुलेसनको उत्पादन जेनाइड-एल बोलस र जेनाइड एल लिक्विडमा लिभामोसिल र अक्सीक्लोजानाइड सस्पेन्सन मिश्रित औषधिलाई भने समूह ‘ग’ मा वर्गीकृत गरिएको छ। त्यसैगरी, आर्य फार्माल्याब प्रालिको उत्पादन फ्लुकारिड-एल मा पनि अक्सीक्लोजानाइड र लिभामोसिल एचसीएल सस्पेन्सन मिश्रण रहेको औषधिलाई समूह ‘ग’ मा राखिएको छ।

लाइभकेयर फर्मास्यूटिकल्सको उत्पादन अक्सिलिभमा पनि अक्सीक्लोजानाइड र लिभामोसिल एचसीएल सस्पेन्सन रहेको कम्पनीले जनाएको छ, र यसलाई पनि समूह ‘ग’ मा वर्गीकृत गरिएको छ।

त्यस्तै, कान्तिपुर फर्मास्यूटिकल्सको उत्पादन भलबाजिन सस्पेन्सनमा पनि समान कम्पोजिसन मिश्रित औषधिलाई समूह ‘ग’ मा समावेश गरिएको छ। जेजे फर्मास्यूटिकल्सले क्लोजाम एल बोलस र लिक्विडमा पनि सोही कम्पोजिसन मिश्रित औषधि उत्पादन गर्दा समूह ‘ग’ मा राखेको छ।

एमडिएच र एसियनले समूह ‘ख’ मा राखेका समान कम्पोजिसन भएका औषधिहरूलाई क्यूमेड, आर्य, लाइभकेयर, कान्तिपुर, र जेजे फर्मास्यूटिकल्सले भने समूह ‘ग’ मा वर्गीकृत गरी बिक्री गरिरहेका छन्।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालसँग यस विषयमा जिज्ञासा राख्दा, उनले आफू यस विषयमा जानकार रहेको बताउँदै, उक्त कम्पोजिसन भएका औषधिहरू समूह ‘ख’ मा पर्ने विभागको निर्णय भएकोले हामीले उद्योगीहरूलाई समूह ‘ग’ बाट ‘ख’ मा राख्न निर्देशन दिन कर्मचारी खटाइएको बताए। उनले यसमा उद्योगीको दोष नभएको र पुरानो नियमावली अनुसार विभागले समूहसम्बन्धी लाइसेन्स दिँदा कुनै त्रुटि भएको हुनसक्ने बताएका छन्। साथै, उनले समूह ‘ख’ मा रहेका ती औषधिहरू विक्री गर्दा अनिवार्य रूपमा चिकित्सकको प्रिस्क्रिप्सन आवश्यक पर्ने पनि बताए।

एउटै कम्पोजिसनका औषधिहरू फरक समूहमा वर्गीकृत हुँदा किसानहरू अन्योलमा परेका छन् कि कुन औषधि प्रिस्क्रिप्सन बिना खरिद गर्न मिल्छ र कुनमा मिल्दैन। ऐनको उल्लंघन गर्ने यस्तो प्रवृत्तिले पशु औषधि बजारमा अनियमितता निम्त्याएको छ। नियामक निकायहरूको अनुगमन अभावका कारण यस्ता अनियमितता बढ्दै गएका छन्। औषधि व्यवस्थापन विभागले यस्ता अनियमितता रोक्न कम्पनीहरूलाई ऐन अनुसारको मापदण्ड पालना गर्न निर्देशन दिनु र बजारमा वर्गीकरणको स्पष्टता ल्याउने योजना बनाउनुपर्ने आवश्यकता रहेको छ।