प्राथमिकता निर्धारण गर्न नसक्दा परिषद् कुहिरोको काग बन्यो : नेभ्ला

वार्षिकोत्सवको शुभकामना दिँदै नेभ्लाको भन्यो– व्यवसायी दर्ता र पदाधिकारी चयन शीघ्र गरौं

काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को दोस्रो वार्षिकोत्सवको अवसरमा पशुपन्छी प्राविधिकहरूको छाता संगठन नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) ले शुभकामना व्यक्त गरेको छ । बुधबार सन्देश सार्वजनिक गर्दै नेभ्लाका अध्यक्ष रामप्रसाद मेहताले कृषक, उद्यमी, व्यवसायी तथा प्राविधिक जनशक्तिलगायत सरोकारवालाहरूमा शुभकामना व्यक्त गरेका हुन् ।

पशु प्राविधिकहरूको निरन्तरको दबाबपछि दुई वर्षअघि आजकै दिन पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा सेवारत प्राविधिक जनशक्तिको दर्ता, नियमन तथा परिचालन गर्न परिषद् स्थापना भएको थियो । नेभ्लाले आफ्नो संगठनको नेतृत्वमा परिषद् स्थापना भएको स्मरण गर्दै यसलाई उद्देश्यअनुरूप अघि बढाउन जोड दिएको छ ।

पशु प्राविधिकको चाहनाबमोजिम स्थापना भएको परिषद्को वर्तमान नेतृत्वले पदाधिकारी नियुक्ति नियमावली निर्माण, कार्यालय व्यवस्थापनलगायत कतिपय कार्य गरे पनि व्यवसायी दर्ता र पदाधिकारी निर्वाचनलगायतका महत्त्वपूर्ण कार्य अझै हुन सकेको छैन । सरोकारवाला संघ–संगठनसँग सहकार्य नगर्दा, पदाधिकारीबीच मतैक्यता नहुँदा तथा आफ्नो प्राथमिकता के हो भन्ने खुट्याउन नसक्दा परिषद् अल्मलिन पुगेको किटान गर्दै नेभ्लाले वर्तमान पदाधिकारीको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गरेको छ ।

‘परिषद् पदाधिकारीबीचको खिचातानी, मनमुटाव, अहंता र आन्तरिक समन्वय अभाव तथा नेतृत्वले सरोकारवाला पेशागत संघ–संस्थहरूसँग समन्वय गर्नुपर्नेमा निधेषको व्यवहार गर्दा र पदाधिकारीको निर्वाचन सम्पन्न गरी नयाँ पदाधिकारीलाई जिम्मेवारी हस्तान्तरण गर्ने अवस्था टर्दै गएको हाम्रो बुझाइ छ,’ सन्देशमा भनिएको छ ।

नेभ्लाका अध्यक्ष मेहताद्वारा जारी शुभकामना सन्देशमा परिषदका पदाधिकारीबीचको खिचातानी, मनमुटाव, दम्भ र आन्तरिक समन्वय अभावसँगै सरोकारवाला पेशागत संघ÷संस्थासँग समन्वय गर्न छाडेर निषेधको व्यवहार गर्दा व्यवसायी दर्ता न्यून हुनुका साथै पदाधिकारी निर्वाचन गरेर नेतृत्व हस्तान्तरण प्रक्रिया टर्दै गएको उल्लेख छ ।

आफ्नो कार्यकाल सकिनुअगावै पदाधिकारी निर्वाचन गर्नुपर्ने भए पनि परिषद्का वर्तमान पदाधिकारीले अझै निर्वाचन गराउन सकेका छैनन् । परिषद्का पदाधिकारीको कार्यकाल आगामी कात्तिक १६ मा सकिँदैछ ।

नेभ्लाले व्यवसायीहरूको दर्ता प्रक्रिया व्यवस्थित गरी व्यवसायी दर्ता संख्या किटान गर्न र तोकिएको पदाधिकारी चयनका लागि सरोकारवालासँग छलफल गरी अघि बढ्न सुझाएको छ ।

अहिलेको प्राथमिकता व्यवसायी दर्ता र तोकिएको पदाधिकारी चयनका लागि निर्वाचन गर्नु मुख्य भएको उल्लेख गर्दै नेभ्लाले निर्वाचन निर्देशिका, मतदाता नामावली प्रकाशन, निर्वाचन समिति गठन लगायतका कार्य तत्काल अघि बढाउन माग गरेको छ ।

‘अहिलेको प्रागमिकता व्यवसायी दर्ता र तोकिएको पदाधिकारी चयनको लागि निर्वाचन मुख्य भएकाले निर्वाचनको लागि निर्वाचन निर्देशिका, दर्ता भएको र निर्वाचन घोषणा अगावै दर्ता हुने व्यवसायीको नामावली तयारी, निर्वाचन समिति गठनलगायतको कर्या परिषद्का वर्तमान समितिले सरोकारवाला संघ–संस्थासँग आवश्यक छलफल गरी निर्वाचन सुनिश्चितता गर्न र परिषदलाई निकास दिन अहिलेको आवश्यकता देखिएकले परिषद्का पदाधिकारी तथा सरोकारवाला एकजुट भई अगाडि बढ्न अनुरोध गर्दैछु,’ सन्देशमा भनिएको छ ।