काठमाडौं । भेट टाइम्स मिडिया प्रालिको प्रकाशन भेट टाइम्स मासिक राष्ट्रियतर्फ ‘क’ वर्गमा परेको छ ।
प्रेस काउन्सिल नेपालले गत आइतबार आर्थिक वर्ष २०७८÷७९ को पत्रपत्रिका वर्गीकरणको नतिजा प्रकाशन गरेको छ जसमा भेट टाइम्स मासिक ‘क’ वर्गमा पर्न सफल भएको हो ।
सञ्चारमाध्यमको नियामक निकाय प्रेस काउन्सिल नेपालले हरेक आर्थिक वर्षमा सूचना विभागमा दर्ता भएर प्रकाशनमा रहेका पत्रपत्रिकाहरू प्रकाशन संख्या, वितरण पहुँच र समाचारको स्तरीयतालगायत पक्ष मूल्यांकन गरेर राष्ट्रिय, प्रदेश र स्थानीयतर्फ ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार वर्गमा वर्गीकरण गर्छ । वर्गीकरण प्रक्रियामा केही वर्षयता सामेल हुँदै आएको भेट टाइम्स मासिक पहिलो पटक ‘क’ वर्गमा उक्लिएको हो । यसअघि भेट टाइम्स मासिक ‘ख’ वर्गमा समेटिँदै आएको थियो ।
भेट टाइम्स मिडिया प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाईंले प्रेस काउन्सिल नेपालको वर्गीकरण नतिजाप्रति प्रशन्नता प्रकट गर्दै आफू र आफ्नो टिमको जिम्मेवारी थपिएको महसुस भएको बताए । यो उपलब्धि कायम राख्न भेट टाइम्स मिडिया प्रालि आफ्नो सम्पूर्ण शक्ति खर्च गरेर आगामी दिनमा अघि बढ्ने प्रतिबद्धता पनि उनले जनाए ।
‘यो हाम्रो प्रकाशन गृह, पाठक, विज्ञापनदाता, शुभेच्छेक, पशुपन्छी क्षेत्रको लागि खुसीको समाचार हो,’ कार्यकारी अधिकृत प्रसाईंले भने, ‘काउन्सिलको नतिजाले पत्रकारितामा जिम्मेवारी थपिएको महसुस भएको छ ।’
भेट टाइम्स मासिकका प्रधान सम्पादक विष्णु पाण्डेयले सम्पादकीय टिम, प्रशासन समूहको अथक मिहिनेत र लगनशीलताको परिणामस्वरूप आफ्नो प्रकाशन भेट टाइम्स मासिक वर्गीकरणको नतिजामा राष्ट्रियतर्फ ‘क’ वर्गमा परेको बताए ।
भेट टाइम्स मासिक पशुपन्छी क्षेत्रलाई मात्र कभरेज गरेर प्रकाशित हुने देशकै एक मात्र मासिक प्रकाशन हो । भेट टाइम्स मिडिया प्रालिले यसका अतिरिक्त डिजिटल पत्रिका भेट खबर डटकम पनि सञ्चालन गर्दै आइरहेको छ ।
Language »