नवीनतम प्रविधिको आदानप्रदानसँगै अन्तर्राष्ट्रिय पोल्ट्री सेमिनार सम्पन्न

काठमाडौं । पोल्ट्री क्षेत्रको नवीनतम प्रविधि तथा खोजबारे छलफल तथा अन्तरक्रिया गर्दै अन्तर्राष्ट्रिय पोल्ट्री सेमिनार सम्पन्न भएको छ। नेपाल कुखुरा व्यवसायी मञ्च, इण्डिया पोल्ट्री रिभ्युको आयोजना तथा पोल्ट्रीसँग सम्बन्धित विभिन्न संघ–संगठनको सहयोगमा सेमिनार गत शनिबार आयोजना गरिएको हो।

‘ड्राइभिङ इनोभेसन इन पोल्ट्री सेक्टर’ मुख्य विषयवस्तु रहेको सेमिनारमा कुखुरापालन, पोल्ट्री पोषण, दानामा गरिएको खोज, पोल्ट्रीको वर्तमान अवस्था, कुखुराजन्य रोगहरूको अवस्था, रोकथाम र नियन्त्रणको नवीनतम खोज, कुखुरापालनको डिजिटल रूपान्तरण, यसमा सूचना प्रविधि र कृत्रिम बौद्धिकता (एआई) को प्रयोगलगायत महत्त्वपूर्ण विषयबारे सात विशिष्टिकृत कार्यपत्र प्रस्तुत गरिएको थियो। डा. सुवीर सिंह र डा. दिनेश गौतमले संयुक्त रूपमा तयार गरेको नेपालको पोल्ट्रीको वर्तमान अवस्था, चुनौती, अवसर, दिगो विकास र भावी रणनीति विषयक कार्यपत्रमाथि अन्य सहभागीले टिप्पणी गरेका थिए।

कार्यक्रमका विज्ञहरूले अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरमा नेपाल र भारतबीच सहकार्य एवं प्राविधिक ज्ञान तथा सीप आदानप्रदान गरी पोल्ट्री क्षेत्रको समुन्नत विकास तथा दिगोपनामा पनि जोड दिए।

पोल्ट्री क्षेत्रमा कार्यरत राष्ट्रियस्तरका पशु चिकित्सक, पन्छी विज्ञ, पन्छीका पोषण विज्ञ, कुखुरा व्यवसायीहरू, दाना उद्योगीहरूसँगै भारत र अमेरिकाका पन्छी क्षेत्रमा कार्यरत विज्ञलगायत कुल ६७ जनाको सहभागिता रहेको कार्यक्रममा सभापतित्व नेपाल कुखुरा व्यवसायी मञ्चका वरिष्ठ उपाध्यक्ष डा. रेवन्तकुमार भट्टराईले गरेका थिए भने उद्घाटन नेपाल पोल्ट्री महासंघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गुणचन्द्र विष्टले गरेका थिए।

डा. सुविर सिंहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका डिन प्रा. डा. होमबहादुर बस्नेत, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष डा. लक्ष्मीदास मानन्धर, नेपाल दाना उद्योग संघका अध्यक्ष रवीन पुरी, नेपाल पशुपन्छी औषधि व्यवसायी संघका अध्यक्ष रितेश रिमाल, स्पेनाइस ग्रुपका कार्यकारी निर्देशक सोमुकुमार अम्वोट, इम्रोका हेल्थ प्रालिका डा. दिव्यान्दु दे, इण्डिया फेडेरेसन अफ एनिमल हेल्थका अध्यक्ष डा. रिसिम निगमलगायत पशुपन्छी तथा पोल्ट्री क्षेत्रका विज्ञहरूको उपस्थिति थियो।

कार्यक्रम संचालन इण्डियन पोल्ट्री रिभ्यूका प्रमुख कार्यकारी अधिकृत सञ्जोय मुखर्जीले गरेका थिए।

कार्यक्रमका मुख्य प्रस्तुतिको भिडियो सामग्री भेट टाइम्स मिडिया प्रालिको फेसबुक पेजमा सम्पादन पश्चात प्रसारण गरिनेछ: सम्पादक