पनौतीमा पहिरोले भैंसीफार्म बगायो, चार दिनदेखि पाएनन् ४० भैंसीले पानी

कृषकको याचना– बाटो  खोलेर पानी भएको ठाउँमा पु¥याइदिने व्यवस्था गरिदिनुहोस्

काठमाडौं । राजकुमार तिमिल्सिनाले काभ्रेको पनौतीमा सञ्चालन गरेको भैंसीफार्म पहिरोले बगाएको छ । गत शुक्रबार र शनिबारको अविरल वर्षापछि गएको पहिरोले पनौती नगरपालिका–१२ स्थित टिपचोक जंगल नजिक सञ्चालित तिमिल्सिनाको भैंसीफार्म बगाएको हो ।

तिमिल्सिनाले केही वर्षदेखि सञ्चालन गर्दै आएको फार्ममा ४० वटा भैंसी छन् । पनौती क्षेत्रकै सबैभन्दा ठूलो यो फार्मलाई पहिरोले बगाउँदा २ करोड लागतमा निर्माण गरिएको गोठ ध्वस्त भएको छ । ज्यान हत्केलामा राखेर समयमै उद्धार गरेकाले भैंसीलाई भने सुरक्षित राख्न सकिएको तिमिल्सिनाले बताए ।

पीडित तिमिल्सिनाले पहिरोका कारण आफू विस्थापित हुनुपर्ने अवस्था आएको जनाउँदै घटनापछि फार्मनजिकै रहेको भैंसीलाई पानीसमेत खुवाउन नसकेको दुःखेसो गरे ।

पहिरोमा परेका भैंसीलाई सुरक्षित ठाउँमा स्थानान्तर गर्नका लागि बाटो र स्थान दुवैको समस्या रहेको उनको भनाइ छ ।  भिरालो स्थानमा रहेको फार्म र आसपासका क्षेत्रमा पहिरो गएकाले नजिकैको बाटोसँगको सम्पर्कसमेत टुटेको छ ।

‘पानी भएको ठाउँमा जान मात्र पाए पनि भैंसीलाई खुवाएर बचाउन सकिन्थ्यो,’ तिमिल्सिनाले भने, ‘संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र जनप्रतिनिधिज्यूहरूले अरू केही नसके पनि बाटो बनाइदिएर सहजीकरण गरिदिए हुन्थ्यो ।’

पहिरोले पानी नहुँदा तथा वर्षाले दाना, घाँस, पराल भिजेर काम नलाग्ने हुँदा चार दिनदेखि भैंसीहरूले केही खान नपाएको तिमिल्सिनाले बताए । दानापानी र घाँस नपाएका भैंसी भोकले आलसचालस भएर कराइरहेको भेट खबर डटकमलाई प्राप्त भिडियोमा देख्न सकिन्छ ।

बाढी, पहिरो र डुबानबाट पीडित बनेकाको उद्धार तथा राहतमा जुट्न केन्द्र सरकारले सबैलाई आह्वान गरे पनि पीडित तिमिल्सिनाले भने घटना घटेको चार दिन बितिसक्दासमेत कतैबाट सहायता पाएका छैनन् ।

किसान राजकुमार तमिल्सिनिालाई ९८४१६८९८५६ मा सम्पर्क गर्न सकिन्छ ।