काठमाडौं । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) ले अविरल वर्षापछि देशका विभिन्न स्थानमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै आफ्ना पदाधिकारी तथा सदस्यलाई राहत तथा उद्धारमा जुट्न आह्वान गरेको छ ।
नेभ्लाका अध्यक्ष रामप्रसाद मेहताले आइतबार एक विज्ञप्ति जारी गरेर पदाधिकारी तथा सदस्यलाई राहत तथा उद्धारका कार्यमा स्वतःस्फुर्त लाग्न तथा आपसी समन्वय तथा सहयोग गर्न अपिल गरेका हुन् ।
‘देशभर बाढी, पहिरो र प्राकृतिक विपदले कृषिबाली तथा पशुपन्छीहरूसमेत प्रभावित भएका छन् । किसानहरू यसको चपेटामा परेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विषम् परिस्थितिमा यस एसोसिएसनका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई उद्धार तथा राहतलगायतका कार्यमा स्वतः स्फुर्त रूपमा लाग्न र आवश्यक समन्वय तथा सहयो.ग गर्न हार्दिक आग्रह गर्दछौं ।’
नेभ्ला देशव्यापी संगठन रहेको पशुपन्छी प्राविधिकहरूको छाता संगठन हो । यसले यसअघिका प्राकृतिक विपत्तिमा पनि राहत तथा उद्धार कार्यमा सहायता पु–याउँदै आएको छ ।
समस्यामा परेकाको तत्काल उद्धार गर्न, हराइरहेकाको खोजी गर्न, घाइतेको निःशुल्क उपचार गर्न, कृषकहरूको क्षतिको विवरण संकलन गरी मरेका पशुपन्छीको व्यवस्थापन गर्न तथा राहत र पुनस्र्थापनाका कार्यक्रम ल्याउन तीनै तहका सरकारसमक्ष एसोसिएसनले जोडदार माग गरेको छ ।
जोखिमको जानकारी एक साता अघिदेखि गराउँदा पनि आवश्यक पूर्वतयारी नगरेर सरकारले लाभरबाही गरेको उल्लेख गर्दै एसोसिएसनले स्रोतसाधन सम्पन्न राजधानीमै घण्टौंसम्म उद्धारको प्रतीक्षामा बसेकाको ज्यान जाने अवस्था बस्नु ज्यादै दुःखद् भएको जनाएको छ ।
‘केही दिन अगाडि देखि नै जल तथा मौसम विज्ञान विभागले देशमा ठूलो पानी पर्ने जोखिमको जानकारी पर्याप्त मात्रामा प्रवाह गरेको अवस्थामा पनि जनधनको रक्षा गर्नका लागि सरकारको पूर्वतयारी र सतर्कताको लागि अपनाउनुपर्ने कार्यमा सरकारी निकायको गम्भीरता नदेखिएको प्रष्ट रूपमा उजागर भएको छ,’ नेभ्लाको ठहर छ ।
नेभ्लाले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।