चिडियाखाना र यसको महत्व

जावलाखेलस्थित देशको एक मात्रै सदर चिडियाखाना पाटन शहरको मात्रै नभई काठमाडौं उपत्यकाकै खास आकर्षण केन्द्र रहँदै आएको छ । काठमाडौं बाहिरबाट आउने हिन्दू धर्मावलम्बीहरूको पहिलो गन्तव्य भगवान् पशुपतिनाथको मन्दिर हो । त्यसपछि हाम्रा राजा कहाँ कस्तो ठाउँमा बस्छन् होला ? भन्ने जिज्ञासा मेटाउन साधारणजन बाहिरबाटै भए पनि नारायणहिटी राजदरबार हेरेर फर्कन्थे । त्यसपछिको महत्वपूणर् गन्तव्य सदर चिडियाखाना थियो । वन्यजन्तु नजिकैबाट हेरेर रमाउन यो मानिसहरूको रोजाइमा पथ्र्यो । त्यसो त पशुपन्छी प्रेमीका लागि काठमाडौं उपत्यकाको घुमफिर गर्ने थलोको पहिलो सूचीमा चिडियाखाना पर्न सक्छ ।

वनमा स्वछन्द विचरण गर्ने जीवजन्तुलाई चिडियाखानाको घेराभित्र बन्दी अवस्था वा थुनामा राख्नु हुँदैन भन्ने धारणाहरू सुनिन्छन् । उनीहरूको विचारमा चिडियाखाना, जुलोजिकल गार्डेन/पार्क, सफारी पार्क आदि राख्नु अनैतिक, अमानवीय हुनु हो । पशुलाई थुनेर राखिने यस्ता सबै स्थानलाई बन्द गर्नुपर्छ ।

सीमित घेराभित्र पर्याप्त ठाउँ नपाउने हुँदा प्राकृतिक बासस्थानबाट वञ्चित भएका खासगरी ठूला जन्तुहरूको प्राकृतिक स्वभावमा परिवर्तन आउने हुन्छ । कतिपय मुख्यतः निजी पुराना साघुँरा चिडियाखानाका खोरहरूमा निकृष्ट ढंगले बाँचिरहेका जन्तुहरू सजाय भोगिरहेका बन्दीजस्ता देखिन्छन् । यस्ता जूप्रति घृणा जाग्नु स्वाभाविक नै हो । जसले गर्दा अहिलेको मानव समाजमा चिडियाखाना विवादित बन्न गएको हो ।

जू बनाउने एउटा महत्वपूणर् उद्देश्यहरू प्राकृतिक बासस्थानबाट लोप भइसकेका, लोप हुने खतरा भएका प्रजातिहरूको प्रजनन्, सम्वर्धन र संरक्षण गर्नु हो । उदाहरणको रूपमा विश्वबाट लोप भइसकेका १० प्रजातिहरू जू आदिमा संरक्षण भएकाले यो एक आखिरी सरभाइबल ग्राउण्ड (बाच्ने भूमि) भएको छ । ती प्रजातिहरू हुन् – फ्रेजवाल्स्की घोडा, अरेबियन ओरिक्स  (एन्टीलोपजाति), क्यालिफोर्निया कन्डोर (गिद्ध जाति), कोरोबोरी भ्यागुता, बंगो (एन्टीलोप जाति), रिजेन्ट हनीइटर (चरा) प्रजाति, पनामानियन सुनौला भ्यागुता, बेलिनगर नदी, कछुवा, सुनौला सिंह तामारिन (बाँदर जाति) र अमूर चितुवा । जूको यस महान् संरक्षण कार्यलाई विरोधीहरूले पनि नकार्न सक्दैनन् ।
पशुपन्छी संरक्षणका अतिरिक्त जूका अन्य उद्देश्यहरू पनि छन् । शिक्षा, मनोरञ्जन, अनुसन्धान र आयश्रोत चिडियाखानाका मूलभूत उद्देश्य हुन् ।

विदेशका हरेक ठूला शहरहरूमा स्थापना गरिएका चिडियाखानालगायत पशु राखिएका स्थानले दर्शकहरूलाई आकर्षित गर्ने गरेको छ । जू एक शैक्षिक र मनोरञ्जन स्थल पनि हो ।

सबै मानिसहरू रमाइलो चाहन्छन् । खासगरी केटाकेटीहरू जू जान ज्यादै मन पराउँछन् । एकै स्थलमा विभिन्न प्रकार र जाति-प्रजातिका अन्तरमहादेशीय जन्तुहरू सजिलै हेर्न सकिन्छ । जुन जंगलमा गएर हेर्न सम्भव हुँदैन । यी कारणहरूले गर्दा नयाँ-नयाँ चिडियाखाना खुल्दै गएका छन्, बन्द गरिएका छैनन् ।

चिडियाखाना मानव सभ्यताको अंग बन्न पुगेको कुरा १५औं शताब्दीमा विश्वको पहिलो चिडियाखाना बन्नुले पुष्टि हुन्छ । यो स्थापना गर्ने श्रेय मिश्र देशकी महारानी हातसेपसुतलाई जान्छ । उनले अफ्रिकी मुलुकका जन्तुहरू ल्याई चिडियाखाना शुरु गरेकी थिइन् । त्यसपछि चीनका बादशाह वेन वाङले आफ्नो राज्यमा पाइने जन्तुहरू राखी आफ्नो सम्पन्नता र शक्तिको प्रतीक १ हजार ५०० एकडमा फैलिएको चिडियाखाना बनाए । जसलाई गार्डेन अफ इन्टेलिजेन्स (विद्वत् उद्यान) नामाकरण गरे । यसबाट थाहा लाग्छ, त्यो चिडियाखाना शैक्षिक अभिप्रायले खोलिएको थियो ।

आधुनिक चिडियाखानाको चर्चा गर्नुपर्दा जर्मनीका डा. बर्नार्ड जीमेकको नाम अग्रपंक्तिमा आउँछ । भेटेरिनरी मेडिसिनका चिकित्सक उनलाई ३० वर्ष फ्रान्कफर्ट जुलोजिकल गार्डेनमा निर्देशक र फ्रान्कफर्र्ट जुलोजिकल सोसाइटीमा ४० वर्षसम्म अध्यक्ष भएर फ्रान्कफर्ट जूलाई विश्वकै उदाहरणीय जुलोजिकल गार्डेनमा परिणत गरेको जस दिने गरिन्छ । टिभी होष्ट, वन्युजन्तुसम्बन्धी फिल्म निर्माता, लेखक, वन्यजन्तु संरक्षकको पहिचान बनाएका उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय कैयौं पुरस्कारबाट सम्मानित महान् व्यक्तित्व थिए । डा. जीमेकको लाइफ इन्साक्लोपिडियाको मोटा पोथाका १३ ग्रन्थहरू स्मारकीय विश्वज्ञान कोषको उदाहरणीय योगदान मानिन्छ । यसका अतिरिक्त जीव जन्तुबारे त्यत्तिकै ३ मोटा किताबहरू इकोलोजी (परिस्थिति विज्ञान), इकोलोजी (पशुको स्वभाबिए व्यवहार विज्ञान) र इभोल्यूसन (क्रमानुगत विकास) । विश्वको उच्चस्तरीय अनुकरणीय रेफरेन्स ग्रन्थ भएको छ । डा. जिमेकले तान्जानियाको सेरेनगेटी नेशनल पार्कमा गर्नुभएको वन्यजन्तु संरक्षण कार्य अति नै प्रशंसनीय मानिन्छ ।

यही ठाउँमा जन्तु शोध कार्यमा उहाँले आफ्नो प्यारो जवान छोरा गुमाउनु पर्‍यो । जहाजबाट वन्यजन्तुको एरिएल डकुमेन्ट्री सुटिङ क्रममा जहाज गिद्धसँग ठोक्किन पुग्दा दुर्घटनामा परेका थिए । डा. जिमेकले जर्मन भाषामा लेख्नुभएका “सेरेनगेटी स्याल नट डाई (सेरेनगेटी मर्ने छैन) भन्ने पुस्तक विश्वका २० भाषामा अनुवाद गरिएका छन् । डा. जिमेकको जति प्रशंसा गरे पनि कमै हुन्छ । उहाँबारे विस्तृत लेख्ने हो भने अर्को छुट्टै लेखको आवश्यकता पर्छ । यो पंक्तिकारले फ्रान्कफर्र्ट जुलोजिकल गार्डेनमा जू हजवैन्डी, न्यूट्रिसन र व्यवस्थापन विषयमा ६ महिने तालिम लिने क्रममा उहाँलाई भेट्ने सौभाग्य पाएको थियो । त्यो अविस्मरणिय छ । साथै डा. जिमेकले सम्पादक भई स्थापना गर्नुभएको जन्तुसम्बन्धी जर्मन भाषामा वैज्ञानिक लेखहरू छापिने अन्तर्राष्ट्रिय म्यागजिन “दश टिएर” (दि एनिमल) मा नेपालको वन्यजन्तु संरक्षणबारे यो पंक्तिकारको लेख पनि छापिएकोमा आफूलाई भाग्यशाली ठानेको छ ।

गुणस्तरीय जूमा जूपार्कका भौतिक पूर्वाधारहरू बनाउन जस्तै ः चरा, बाँदर जाति मृग/एन्टीलोप हिंसक पशुहरूका लागि खुला खोरहरू जू अस्पताल, एक्वरीयम, घस्रने जन्तुको हाउजिङ, भिजिटर्स सेन्टर, जन्तु र दर्शकलाई सुविधा दिने पूर्वाधारहरू आदि महत्वपूणर् आर्थिक पक्ष पनि छन् । यसमा धेरै लागतको आवश्यकता पर्दछ । जन्तुहरूको प्रजाति अनुसार विभिन्न सन्तुलित आहार र दक्ष जनशक्ति त्यत्तिकै अपरिहार्य छ ।

वन्यजन्तुहरूलाई जूको सीमित घेराभित्र राख्दा तिनीहरूको पालनपोषण, स्वस्थताको लागि विभिन्न महत्वपूणर् विधि आकर्षित हुन्छन् । जस्तै हजवैन्ड्री, प्रजातिअनुसार भिन्न प्रकारका सन्तुलित आहार, खोरहरूको स्वच्छता र सरसफाइ (हाइजिन र सेनिटेसन), रोगको रोकथामका लागि खोप, रोगको निदान र उपचार, शरीरको  बाहिरी र भित्री परोपजीवीकोे विरुद्धमा नियमित उपचार आदि ।

चिडियाखानाको पहिलो दायित्व त्यहाँ राखिएका पशुपन्छीलाई जीवित राख्नु हो । चिडियाखानाका जीव जीवित भएनन् भने ती जन्तुको प्रदर्शन हुन नसकी शैक्षिक, मनोरञ्जनलगायतका अन्य उद्देश्यहरू पूर्ति हुन सक्तैनन् । यसका अतिरिक्त प्रजननबाट वंशवृद्धि र संरक्षण, अनुसन्धानका लक्ष्यहरू पनि टाढिने भएकाले तिनको संरक्षणमा ध्यानकेन्द्रित गर्न जरुरी छ । अन्यथा लक्ष्य अधुरो रहन्छ ।

चिडियाखानामा दुई ग्रामभन्दा कम तौलको मौरीजस्तै देखिने हमिङ बर्ड चरादेखि ७ टनका हात्तीको सन्तुलित आहारमा पानीलगायत प्रोटिन कार्बोहाइड्रेट, चिल्लो पदार्थ, भिटामिन र मिनरलाई प्रजातिअनुसार सन्तुलन गरी राख्न ठूलो चुनौती हुने गर्दछ । पशुपन्छीलाई बचाइ राख्न सन्तुलित आहार नै पहिलो आवश्यकता हो ।

जन्मने बित्तिकै बच्चाले आफ्नो माउको दूधमा पाउने तत्वहरूले नै उसको आहाराको दिशा निर्देश गर्छ । हात्ती-माउको दूधमा १५ प्रतिशतभन्दा बढी चिल्लो हुन्छ भने गैंडाको दूधमा यो ज्यादै न्यून हुन्छ । गैंडामा पित्तथैली हुँदैन र चिल्लो पचाउन पित्त चाहिन्छ । पित्त नभएकाले चिल्लो दूध गैंडाको बच्चाले खाएमा उसलाई पखाला लागेर मर्न सक्छ । त्यसलाई चिल्लोरहित, स्किम दूध खुवाएर हुर्काउन पर्ने हुन्छ ।

अष्ट्रेलियामा पाइने मायालाग्दो जन्तु क्वालावेरलाई मसलाको (यूकलिप्टस) पात नखाई बाँच्न सक्तैन । त्यस्तै किसिमले चीनमा पाइने जायन्ट पाण्डालाई बचाउन बाँसको पात नै खुवाउनु पर्छ । कीरा खाने चराहरूको निमित्त दैनिक मिलवर्म (कीरा) जूभित्रै उत्पादन गरेर चराहरूको बचाउको लागि आहारमा कीरा समावेश गरिन्छ । यी प्रतिनिधित्व गर्ने केही उदाहरण मात्र हुन् । धेरै जन्तुहरू आपूmलाई नयाँ ठाउँ तथा वातावरणमा केही भिन्न आहारमा अभ्यस्त हुने क्षमता राख्छन् । अन्यथा मरेर जान्छन् ।

त्यसैले प्राकृतिक आहारलाई आधार बनाएर यथासक्य अनुकरण गरी समायोजन गर्नुपर्ने हुन्छ । त्यसैले जूसम्बन्धी हजवैन्ड्री, न्युट्रिशन, स्वस्थ तथा स्वच्छ वातावरण र व्यवस्थापनमा तालिम प्राप्त दक्ष जनशक्ति नितान्त जरुरी छ । यहाँ उदाहरण दिन लायकको एउटा क्लासिक घटना सदर चिडिखानाको विगतमा घट्न गएको रहेछ । पहिले जूको हाकिम प्रशासन सेवाबाट नियुक्ति हुने गथ्र्यो । त्यहाँ एउटा पनि जू विशेषज्ञ थिएन ।

गैंडाको बच्चा जन्मिएछ, मानिसको बच्चाझैं तोरीको तेल घसेर बलियो हुन्छ भने आफूले भोगेको र देखेको एन्थ्रोपोमोरफिक धारणाले ग्रसित हाकिम साहबले त्यसलाई समातेर तेल घस्न लगाएछन् । प्रशासनको हाकिमलाई थाहा भएन, जन्तुले आफ्नो बच्चा सुँघेर चिन्छ । तेल घसेको बच्चालाई माउ गैंडाले चिन्ने कुरै भएन । बच्चाको काल आफैं बन्यो, दूध चुस्न माउको टाङमा छिरेको बच्चालाई थुतुनो माथिको सिङले हिर्काएर, कुल्चिएर मार्‍यो । माउबाट छुट्याएर चिल्लोरहित दूध खुवाएर बचाउन सकिन्थ्यो होला ? त्यो पनि हुन सकेन ।

आक्रामक स्वभाव भएका जन्तुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, त्यसबारे करिब दुई दशकअघि अवलम्बन गरिएका उपाय यहाँ उल्लेख गर्नु पर्ने हुन्छ । वयस्क कृष्णसार भालेको पिठ्यु भाग कालो हुने र लामो घुमरिएको तिखो सिङ आकर्षक हुन्छ । आफैंले गर्भिणी गराएको पोथी र सीमित परिधिभित्र आफ्नै उपवयस्क सन्तानलाई देखी नसहने र पिछा गरीगरी पेटमा तिखो सिङ घुसाइ मार्ने गरेको कारण लोप हुन लागेको कृष्णसारको प्रजनन, सम्वर्धनको सदर चिडियाखानाको प्रयासलाई असफल हुने समस्या आइलागेको थियो । धेरैलाई घोचेर मारेपछि, त्यो रोक्न विभिन्न खोरमा राखिएका डोमिनेन्ट भालेलाई ब्लोगन-डार्टले बेहोशपारी तिखो सिङलाई फेदैदेखि काटिने गरियो र विभिन्न खोरहरूमा वयस्क हुन लागेको कृष्णसारहरूको सिङको टुप्पामा पी.भी.सी.पाइप लगाएर घातक सिङलाई बुच्चो पारियो । यस किसिमको उपायबाट भालेले मार्ने संख्यालाई न्यूनतम गरी दश वर्षमा ४ जोडी कृष्णसारबाट ४ वटा खुला खोरमा १८७ संख्यामा वृद्धि हुन सक्यो । एक पटक सदर चिडियाखाना कृष्णसारले भरिएको थियो । आन्तरिक प्रजनन (इन विडिङ) नहोस् भन्ने हेतुले विभिन्न समयमा बाहिरबाट ल्याइएका भाले कृष्णसारहरू मिसाइएको थियो । करिब सय जति कृष्णसारलाई प्राकृतिक बासस्थान बर्दिया राष्ट्रिय निकुञ्ज र काठमाडौंको गोकणर् सफारी पार्कमा स्थानान्तरण गरियो । बर्दियामा कुष्णसारको सयभन्दा बढी संस्थामा आखिरी जंगली वथान बाँचेका लोपोन्मुख छन् ।

यो पंक्तिकारले युनिभर्सिटी अफ क्यालिफोर्निया, डेभ्रिसमा जू तथा वन्यजन्तु मेडिसिनमा एम.एस. गर्दा ३ महिना गर्मी छुट्टीमा सान्फ्रान्सिस्को जुलोजीकल गार्डेनमा तालिम लिने अवसर पाएको थियो । हाल सदर चिडियाखानामा भएको सिंह र बाघको मोटेड खुला खोर अमेरिकाको सान्फ्रान्सिस्को जुलोजिकल गार्डनको बाघखोरको अवधारणामा बनेका हुन् । यी नयाँ आधुनिक खुला खोरहरू  हेर्न आउने आगुन्तकहरूबाट धेरै रूचाइए । अन्तरमहादेशीय जन्तुहरू प्रदर्शनमा राख्न महङ्गो पर्र्छ ।

एक  पटक वीरगञ्जनजिकै रामवन प्राकृतिक चिडियाखाना बनाउने भनिएको सन्दर्भमा यसलाई अन्तर्राष्ट्रियस्तरको आकर्षक र खासगरी तराई क्षेत्रमा पाइने दुर्लभ तथा लोपोन्मुख प्रजातिका जन्तुहरू जस्तै पुडके बँदेल (पिगमी हग) चौका, (चारसिङभएको एन्टीलोप), कृष्णसार (ब्ल्याक वक) आदि स्वदेशी जन्तुको संरक्षण सम्वर्धनमा प्राथमिकता दिएमा त्यो ठाउँको पर्यटकीय आकर्षक तथा महत्व बढ्ने हुन्छ । त्यो राष्ट्रिय मात्र नभई विश्वकै वन्यजन्तु सम्पदाको जगेर्ना कार्यमा सहायक त बन्ने छ नै हाम्रो गौरवको प्रतीकसमेत हुनेछ ।