उधारो तिर्न दुग्ध विकास संस्थानलाई सरकारले दियो ६० करोड ऋण

काठमाडौँ । सरकारले दुग्ध विकास संस्थान (डीडीसी) लाई किसानहरूको बक्यौता तिर्न ६० करोड रुपैयाँ ऋण उपलब्ध गराएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले दुग्ध किसानहरूको बाँकी रकम भुक्तानी गर्न सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने निर्णय गरेको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले यसअघि दशैँअघि नै किसानहरूको बक्यौता तिर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। बिहीबारको मन्त्रिपरिषद्ले कृषि मन्त्रालयको प्रस्तावमा यो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

चालु आर्थिक वर्षमा डीडीसीको नाममा १ करोड रुपैयाँ ऋणको व्यवस्था भएकोमा, कृषि मन्त्रालयले थप ५९ करोड रकम रकमान्तर गरी कुल ६० करोड रुपैयाँ ऋणको प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरेको थियो। अब डीडीसीले यो रकममार्फत किसानहरूको बाँकी रकम भुक्तानी गर्नुपर्नेछ।