Home पशु र मानव एबी र जयमाताले दिए व्यवसायी र किसानलाई कुखुरापालन तालिम
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपामा कुखुरापालन सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । ए.बी प्यालेट फिड प्रा.लि र जयमाता चण्डेश्वरी सप्लायर्सको संयुक्त आयोजनामा मंगलबार बनेपा बजारस्थित द अरिनको फ्यामिली फुड क्याफेमा कुखुरापालक किसान तथा व्यवसायीलाई तालिम दिइएको हो ।
बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चलेको तालिममा पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. सुरज गुरुङले कुखुराको खोर व्यवस्थापन तथा चल्ला राख्नुभन्दा पहिलेको तयारी र जैविक सुरक्षाको महत्त्वबारे जानकारी दिएका थिए । त्यसपछि आएका ललितपुर ह्याचरी प्रालिका पशु चिकित्सक डा. रामचन्द्र सञ्जेलले बोइलर चल्लाको ब्रिडिङ व्यवस्थापन र यसको महत्त्व बारे प्रकाश पारे ।
केन्द्रीय रिफरल पशु चिकित्सालयका पशु चिकित्सक डा. प्रकाश अधिकारीले पनि सहभागीलाई कुखुरापालनसम्बन्धी जानकारी बाँडेका थिए । उनले कुखरमा लाग्ने रोग, त्यसको निदान, आहाराको व्यवस्थापन, पानीको सरसफाइ र खोपको महत्त्वबारे बोले ।
तालिममा काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुलीलगायत जिल्लाका ६० भन्दा बढी कुखुरापालक किसानको सहभागिता थियो ।
तालिम सम्पन्न पश्चात आयोजकले सहभागी किसान तथा व्यवसायीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
राष्ट्रियगानको प्रस्तुतिबाट सुरु कार्यक्रममा एबी प्यालेट फिड प्रा.लिका प्रबन्ध निर्देशक बलराम सञ्जेल, बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य, नगरपालिकाकी उप–प्रमुख विमला सापकोटा दाहाल, बनेपा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिटलर शाक्यलगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।
बलराम सञ्जेलको सभापतित्व, बनेपा नगरपालिकाकी प्रमुख शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जयमाता चण्डेश्वरी सप्लायर्सका सचिन तिमिल्सिना, पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. सुरज गुरुङ, ललितपुर ह्याचरी प्रा.लिका पशु चिकित्सक डा. रामचन्द्र सञ्जेल, केन्द्रीय रिफरल पशु चिकित्सालयका पशु चिकित्सक डा. प्रकाश अधिकारी, वरिष्ठ पत्रकार मधुसुदन गुरागाई, पत्रकार तथा सामाजिक अभियान्ता निराज रानाभाटलगायतको उपस्थिति थियो ।
दीपेश लामिछानेले संयोजन गरेको कार्यक्रमलाई डा. अनुसुया भटराईले सञ्चालन गरेकी थिइन् ।
Language »