तीन तहका सरकारको भूमिका कृषकले बुझ्न सकेका छैनन्
२०७५ सालमा लोक सेवामार्फत् सरकारी सेवामा प्रवेश गरेकी डा. सृजा वाग्ले पशु सेवा कार्यालय, काभ्रेपलाञ्चोकको निमित्त कार्यालय प्रमुख हुन् । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पहिलो पोस्टिङ पाएकी उनले त्यहाँ तीन वर्ष तीन महिना काम गरिन् । त्यसपछि उनको सरुवा पशु सेवा कार्यालय, ललितपुरमा भयो । ०८० भदौदेखि पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकमा निमित्त प्रमुखको भूमिकामा रहेकी डा. वाग्लेले पूर्वाञ्चल विश्वविद्यालयबाट सन् २०१७ मा बिभिएस्सी र सन् २०२३ मा त्रिभुवन विश्वविद्यालयबाट एमभीएस्सी उत्तीर्ण गरेकी छन् । डा. वाग्ले कार्यरत भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले सम्पादन गरिरहेको कार्य र पशुपालनको समग्र अवस्थालगायत विषयमा उनीसँग गरिएको कुराकानी :
पशु सेवा कार्यालय, काभ्रेपलाञ्चोकले किसानका लागि कसरी काम गरिरहेको छ ?
पशु सेवा कार्यालय, काभ्रेपलाञ्चोकले किसानको समृद्धि र सन्तुष्टिलाई सदैव आफ्नो प्रमुख लक्ष्य मान्दै आएको छ । हाल काभ्रे जिल्ला पशुपन्छी तथा मत्स्य पालनको क्षेत्रमा व्यावसायिकतातर्फ उन्मुख बन्दै गएको छ । त्यसैले गुणस्तरीय पशु सेवा नै यहाँका किसानहरूको मुख्य माग रहँदै आएको छ । यसै मागलाई सम्बोधन गर्न कार्यालयले पशु स्वास्थ्य संरक्षण र पशुपन्छीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत पशुपन्छी प्रवद्र्धनात्मक कार्यक्रम, कृत्रिम गर्भाधान, पशुपन्छी उपचार, संक्रामक रोगहरू विरुद्धको खोप कार्यक्रम, पशुपन्छीका रोग नियन्त्रण, अनुदान÷प्रोत्साहन कार्यक्रमलगायतका कार्यहरू छन् ।
यस कार्यालयले भोगिरहेका मुख्य समस्याहरू के–के हुन ?
पशुपन्छीमा विभिन्न रोगहरूको प्रकोप र त्यसको नियन्त्रण तथा निदानका लागि हालसम्म पनि प्रादेशिक प्रयोगशालाहरूको अभाव, कार्यालयमा जनशक्तिको अभाव, कृषकहरूको कार्यालयसँग बढ्दो अपेक्षा यस कार्यालयका मुख्य समस्या हुन् ।
यस्ता समस्याका बावजुद पनि काम गर्न कति सहज छ ?
विभिन्न समस्याहरू रहे पनि संघीय, प्रादेशिक तथा स्थानीय निकायहरूको सहयोग एवं समन्वयमा प्रभावकारी सेवा प्रवाह गर्न कार्यालय प्रयत्नशील छ । कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा सुविधालाई निष्पक्ष, पारदर्शी र कृषिकमैत्री बनाउँदै आम जनमानसलाई सुशासनको प्रत्याभूति दिन कार्यालय तत्पर छ ।
यस कार्यालयका अन्य चुनौतीहरू के–के हुन ?
देश संघीयतामा प्रवेश गरेसँगै हाल संघ, प्रदेश र स्थानीय तह गरी सबै सरकारबाट पशुपन्छी तथा मत्स्यजन्य सेवा प्रवाह हँुदै आएको छ । संघीयताको अभ्यास गरेको लामो समय भइसक्दा पनि तीन तहका सरकारको भूमिका कृषकले स्पष्ट रूपमा बुझ्न सकेका छैनन् । तीन तहका सरकारबीच समन्वयका लागि नीतिगत व्यवस्था नहुँदा महामारीजन्य रोगको नियन्त्रण र रोकथाम, पशुपन्छी सेवाको नियमन आदिमा चुनौती थपिँदै गएको छ । साथै तीनै तहका सरकारबाट एकै प्रकृतिका अनुदान र अनुदानका शर्तहरू हुँदा एउटै कृषक दोहोरिने र अन्य किसानले राज्यबाट उपेक्षा भएको महसुस गर्नु पनि चुनौतीको रूपमा रहेको छ ।
कार्यालयको दरबन्दी र जनशक्तिको अवस्था के छ ?
कार्यालयको स्वीकृत दरबन्दी १२ जना रहकोमा हाल ९ जना कर्मचारीहरू कार्यरत छन् ।
अहिले पशुहरूमा देखिने मुख्य रोगहरू के के छन ?
हाल गाईभैंसीमा लम्पीस्किन रोग, खोरेत, बाख्रामा पिपिआर, इन्टेरोटोक्सेमिया, परजीविको संक्रमण त्यसैगरी बंगुरहरूमा स्वाइन फिभर नै मुख्य रोगको रूपमा लिन सकिन्छ । त्यसैगरी काभ्रे जिल्लामा कुकुरहरूमा रेबिजको संक्रमणको समस्या पनि विद्यमान छ ।
यी रोगहरूको नियन्त्रण तथा रोकथामका लागि कार्यालयले के गरिरहेको छ ?
कार्यालयले यस्ता संक्रामक रोगहरूको नियन्त्रण तथा रोकथामका लागि जिल्लाको १३ वटै पालिकाहरूमा खोप अभियान सञ्चालन, नमुना संकलन, पशुपन्छी रोग सर्भिलेन्स, पशुपालक कृषकहरूमा जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरी रोगी पशुहरूको उपचारलगायतका कार्य गरिरहेको छ ।
किसानलाई पशुपालन व्यवसायमा अभिप्रेरित गर्न कार्यालयसँग के कस्ता कार्यक्रम छन् ?
चालु आवमा कृषकहरूको आवश्यकता र मागमा आधारित पशुपन्छी प्रवद्र्धन कार्यक्रम, घाँसमा आधारित पशुपालन प्रणालीलाई प्रोत्साहित गरी उत्पादन लागत घटाउँदै दुग्ध क्षेत्र विकास गर्न ग्रिन टू ह्वाइट कार्यक्रम, दूध उत्पादन वृद्धि कार्यक्रम, पशुपालनमा असल अभ्यास प्रवद्र्धन कार्यक्रम, खाघ प्रणाली रूपान्तरण तथा मागमा आधारित जीविकोपार्जन सहयोग कार्यक्रम, पशुपन्छी तथा मत्स्यजन्य यन्त्र उपकरण वितरणलगायतका कार्यक्रमहरू यस कार्यालयले सञ्चालन गरेको छ । यसका अतिरिक्त कृषकहरूले आफूले चाहेको व्यवसाय सञ्चालन गर्न कार्ययोजनाका आधारमा निव्र्याजी ऋण उपलब्ध गराउने उद्देश्यले बीउपुँजी कोष परिचालन यस कार्यालयको मुख्य कार्यक्रम हो ।
पशुपालनजन्य वस्तुको उत्पादनको अवस्था कस्तो छ ?
काभ्रे जिल्लामा अहिले करिब १ लाख ४७ हजार ३० मेट्रिक टन दूध उत्पादन भइरहेको छ । त्यसैगरी मासु उत्पादनको क्षेत्रमा काभ्रे जिल्लाको तथ्यांक करिब १२ हजार ८२५ मेट्रिक टन र अण्डा तीस हजार ७० हजार गोटा रहेको छ ।
Language »