Home पशु र मानव पोल्ट्रीका नयाँ ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्न प्रदर्शनीको आयोजना
सरकारको नीतिगत सहयोग नभई पोल्ट्री आत्मनिर्भर बन्दैन
२०४६ बाट व्यावसायिक कुखुरापालन सुरु भएको चितवनलाई पोल्ट्रीको राजधानीका रूपमा चिनिन्छि । त्यहाँको पोल्ट्री व्यवसाय व्यावसायिक बन्दै गएपछि यहाँका उत्पादनको खपत देशभर हुन थाल्यो र यो पोल्ट्री व्यवसायकै केन्द्र बन्न पुग्यो । पोल्ट्रीको हब यही चितवनको भरतपुरमा जेठ १८ गतेदेखि २० गतेसम्म अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी, २०८१ आयोजना हुँदैछ । अल इण्डिया पोल्ट्री इकोमेण्ट म्यानुफ्याक्चर एसोसियन र नेपाल पोल्ट्री महासंघको आयोजनामा प्रदर्शनी हुन लागेको हो ।
भरतपुरस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने पोल्ट्री प्रदर्शनीमा देश विदेशका हजारौं व्यवसायी, विज्ञ र प्रतिनिधिहरू सहभागी हुने अनुमान गरिएको छ । नेपाल पोल्ट्री व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष गुणचन्द्र विष्ट नेपाली पोल्ट्री क्षेत्रको विकास र आधुनिकीकरणका लागि प्रदर्शनी आयोजना गरिएको बताउँछन् । अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनीको सन्दर्भमा अध्यक्ष विष्टसँग गरिएको कुराकानी :
अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी आयोजना गर्न लाग्नुभएको रहेछ । यसको उद्देश्य के– के छन्, बताइदिनुहोस् न ।
पोल्ट्री क्षेत्रमा आएका नयाँ र अत्याधुनिक यन्त्र, उपकरण, औषधिलगायतको विषयमा जानकारी आदान–प्रदान गर्न अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी आयोजना गर्न लागिएको हो । पोल्ट्री क्षेत्रको लगानीलाई प्रेरित गर्ने, कोरानापछि सुस्ताएको पोल्ट्री व्यवसायलाई चलायमान बनाउने अर्को उद्देश्य पनि हाम्रो छ । नयाँ प्रविधि, ज्ञान, सीप, उत्पादित नयाँ औषधि तथा दानाबारे पनि सहभागीले प्रदर्शनीबाट जानकारी लिन सक्छन् ।
संसारमा प्रयोगमा आएका पोल्ट्रीसम्बन्धी अत्याधुनिक यन्त्र, उपकरणको प्रयोग नेपालमा कमै छ । अधिकांश व्यापारीले पुरानै प्रविधि र उपकरण अहिले पनि चलाइरहेका छन् । यस प्रदर्शनीबाट उनीहरूलाई नयाँ–नयाँ प्रविधिको विषयमा ज्ञान र जानकारी प्राप्त हुनेछ । नेपाली पोल्ट्री क्षेत्रलाई उच्च व्यावसायिक परिचय दिई अन्तर्राष्ट्रियस्तरमा चिनाउने र अन्य विकसित देशमा भइरहेका पोल्ट्रीजन्य उत्पादनका प्रविधिहरू नेपालमा भित्रयाउने वातावरण बनाउन अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना गर्न लागिएकोे हो ।
प्रदर्शनीमा कुन कुन देशका कति सहभागि हुँदैछन् ?
प्रदर्शनीमा नेपालसहित विभिन्न देशका २०० भन्दा बढी स्टलहरू रहने छ । प्रदर्शनीमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, अमेरिका, क्यानाडा, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटली, इजरायललगायत १५ देशबाट करिब १५ हजार सहभागी हुँदैछन् ।
स्टल कस्ता–कस्ता रहनेछन् ?
यसमा मूलतः आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्ट्स, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योगलगायतका स्टलहरू राखिने छ । त्यस्तै, पशुपन्छीपालन, प्रशोधन र बजारीकरणसम्बन्धी स्टल पनि रहनेछन् । पोल्ट्री व्यवसाय गर्न चाहनेहरूले पोल्ट्रीसम्बन्धी अत्याधुनिक उपकरण, औषधिसहितका विषयमा आवश्यक सबै जानकारी प्रदर्शनीबाट लिन सक्नेछन् । यसका साथै अन्तर्राष्ट्रिय रूपमा पोल्ट्री क्षेत्रका विज्ञहरूमार्फत् पोल्ट्री पाठशाला पनि सञ्चालन गरिने छ । अहिलेको प्रविधि, हस्ब्यान्डरी, पोषण आदिका विषयमा विज्ञहरूले पाठशालामा प्रस्तुति दिने छन् ।
यो प्रदर्शनीबाट पोल्ट्री व्यवसाय कतिको लाभान्वित होला त ?
अहिले पोल्ट्री व्यवसायीहरू धेरै विषयमा अनभिज्ञ छन् । उनीहरूलाई अन्तर्राष्ट्रिय रूपमा भइरहेको नयाँ प्रविधिको विकासको बारेमा जानकारी छैन । कतिपय व्यवसायीसँग सीप पनि छैन । सीप र आवश्यक जानकारीको अभावमा नेपालको पोल्ट्री व्यवसाय चलिरहेको छ ।
त्यसैले यस्ता प्रकारको प्रदर्शनीबाट नयाँ प्रविधिसँग साक्षात्कार मात्रै होइन, ज्ञान र सीपको पनि आदानप्रदान हुन्छ, जसले व्यवसायीलाई थप मद्दत गर्छ । प्रदर्शनी भनेको केही सिक्ने र केही सिकाउने थलो पनि हो ।
यस क्षेत्रमा लागेका व्यवसायीहरूलाई विश्वमा कस्ता प्रविधि प्रयोग भइरहेका छन् भन्ने विषयमा जानकारी दिइने छ । अबका दिनमा सामान्य तरिकाबाट यो व्यवसाय चलाउन कठिन छ ।
प्रदर्शनीबाट नेपाली पोल्ट्री कृषक तथा व्यावसायीहरूद्वारा उत्पादित वस्तुहरूको कम लागतमा अन्तर्राष्ट्रियस्तरका उत्पादन भई उपभोक्ताले सस्तो, सुलभ तथा गुणस्तरीय पोल्ट्रीजन्य उत्पादनहरू पाउने र देशको अर्थतन्त्रमा हालको खर्बौँको लगानी र लाखौंको रोजगारीबाट महत्वपूर्ण योगदान दिएको पोल्ट्री क्षेत्रको अझै विकास र विस्तार गर्न टेवा पुग्ने छ ।
नेपालको पोल्ट्री बजार र व्यवसाय अन्तर्राष्ट्रिय रूपमा कस्तो छ ?
नेपालको पोल्ट्री बजार र व्यवसायको अन्तर्राष्ट्रियकरण भएको छैन । पोल्ट्रीको क्षेत्रमा हामीले हरेक चिज जस्तो ज्ञान, सीप र उत्पादित वस्तु बाहिरैबाट आयात गर्नुपर्ने अवस्था छ । हामीसँग पोल्ट्रीको क्षेत्रमा काम गर्ने विज्ञ पनि छैन ।
नेपालको पोल्ट्री व्यवसायको वर्तमान अवस्था कस्तो छ ?
अहिले देशका अधिकांश उद्योग, व्यवसाय चौपट भएका छन् । यसबाट पोल्ट्री व्यवसाय पनि अछुतो छैन । खस्कँदो व्यवसायलाई उकास्ने, उद्योगी, व्यवसायीको मनोबल बढाउने र नयाँ लगानीका लागि प्रेरित गर्ने हाम्रो उद्देश्य हो र यही चाहना राखेर प्रदर्शनी गर्न लागेका छौं । यस्ता प्रदर्शनीले शिथिल अवस्थामा रहेको व्यवसायको प्रवद्र्धनमा सहयोग पुग्नेछ ।
अहिले नेपालमा ३५० ह्याचरी उद्योग छन् तर तीमध्ये २०० बढी बन्द भइसकेका छन् । बाँकी रहेकाले पनि ५० प्रतिशतभन्दा कम उत्पादन गरिरहेका छन् । कोरोना महामारीपछि ह्याचरीसँगै धेरै पोल्ट्री व्यवसाय बन्द भएको छ ।
अहिले पोल्ट्रीको बजार खस्किएकै हो त ?
विगतमा प्रतिहप्ता ४५ लाख बोइलर चल्ला उत्पादन हुने गथ्र्यो । तर अहिले प्रतिहप्ता २० लाख चल्ला मात्रै उत्पादन भइरहेको छ । त्यसैगरी, लेयर्स चल्ला हप्तामा २ लाख वटा उत्पादन हुने गरेकोमा अहिले ३०÷४० हजार मात्रै उत्पादन हुने गरेको छ ।
बजारमा चहलपहल घट्नु, युवाको विदेश पलायन, विकास, निर्माणका काममा कमी, बैंकिङ प्रक्रियामा असहजता लगायत कारण पोल्ट्री व्यवसायमा गिरावट आएको छ । पोल्ट्री क्षेत्रलाई आत्मनिर्भर बनाइराख्न सरकारले नीतिगत तहबाट सघाउनु पर्छ ।
पोल्ट्री क्षेत्रलाई आत्मनिर्भर बनाउन सरकारको भूमिका के हुनुपर्छ ?
यो व्यवसाय अहिले घाटामा चलिरहेको छ । यस क्षेत्रमा नयाँ लगानी आउन सक्ने स्थिति छैन । पुरानैलाई कसरी जोगाउने चिन्ता सरकारको पनि हुनु प¥यो । नयाँ प्रविधि ल्याउन र त्यसको विस्तार गर्न सरकारले सहज भूमिका निर्वाह गर्नुपर्छ ।
Language »