रूपन्देहीको सदस्य पाल्पाको प्रतिनिधि !
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायीको गत पुस २४ र २५ मा चितवनमा सम्पन्न १४औं राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा फर्जी मतदाताले मतदान गरेको भेटिएको छ । साथै एक जिल्लामा सदस्य रहेकाले अर्कै जिल्लाको प्रतिनिधि बनेर निर्वाचनमा भाग लिएको पनि खुलेको छ ।
औषधि व्यवस्था विभागमा पसल दर्ता नै नभएका चार व्यवसायीले संघको केन्द्रीय नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा पाल्पाको प्रतिनिधि बनेर मतदान गरेका हुन् ।
पाल्पामा दर्ता भेटेरिनरी पसलको संख्या ३६ छ । नेपाल पशुपन्छी औषधि व्यावसायी संघको स्मारिकमा ३६ मा ३३ व्यवसायी सदस्य रहेको उल्लेख छ । यीमध्ये १० प्रतिनिधि संघको चितवनमा सम्पन्न महाधिवेशनमा प्रतिनिधि चयन भएका थिए । जसमा ४ व्यवसायीको पाल्पामा पसल नै दर्ता नभएको भेटिएको छ । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको विधानमा यसको सदस्य बन्न औषधि व्यवस्था विभागमा पसल दर्ता भएको हुनुपर्ने प्रावधान छ ।
प्रतिनिधि बनेर मदतान गर्न आएकामध्ये रिजाल भेट सेन्टरका जनक रिजाल, मिलन भेट फर्माका विनोद खाती र विष्णु भण्डारीको भण्डारी एग्रोभेट औषधि व्यवस्था विभागको रेकर्डमा पाल्पामादर्ता नभएको पाइएको हो ।
नेपाल पशुपन्छी औषधि व्यवसायीद्वारा प्रकाशित स्मारिकामा सिर्जना एग्रोभेट सेन्टरकी सम्झना मलेगो सदस्य रहेको उल्लेख छ । तर सो फर्मबाट हरि कोइरालाले मतदान गरेको रेकर्ड भेट टाइम्सलाई प्राप्त भएको छ ।
नेपाल पशुपन्छी औषधि व्यवसायीको विधानअनुसार सदस्य भएको व्यक्तिले मात्र मतदान गर्न पाउँछन् ।
त्यसैगरी, शाखा अध्यक्ष विमल घिमिरेले स्वतः प्रतिनिधिमा र जिल्लाबाट ५ बराबर १ प्रतिनिधिमा समेत आफ्नो नाम दर्ता गराएको पाइएको छ ।
हेर्नुहोस नेपाल पशुपन्छी औषधि व्यावसायी संघमा पाल्पाबाट छानिएका प्रतिनिधिहरु जसमा विमल घिमिरेको नाम दुई ठाँउमा राखिएको छ ।
विमलराज घिमिरेको अध्यक्षतामा रहेको पाल्पा जिल्ला कार्यसमितिमा विनोद खाती कार्यसमिति सदस्य हुन् । तर संघद्वारा प्रकाशित स्मारिकामा न उनको फर्मको नाम छ न त सम्पर्क नम्बर नै । स्रोतका अनुसार उनी औषधि व्यवस्था विभागमा दर्ता नभएका अवैध व्यवसायी हुन् ।
हेर्नुहोस नेपाल पशुपन्छी औषधि व्यावसायी संघको स्मारिकामा प्रकाशित पाल्ला शाखाका सदस्यहरु
रूपन्देहीमा सदस्य, पाल्पामा प्रतिनिधि
फर्जी प्रतिनिधिलाई मतादेशको अधिकार दिइएको संघको महाधिवेशनमा अर्को गाईजात्रा पनि भएको छ । संघको विधानतः जुन जिल्लाको सदस्य हो, महाधिवेशनमा त्यसैको प्रतिनिधि बन्न पाइन्छ । तर रूपन्देहीमा सदस्यता रहेका एक व्यवसायीलाई पाल्पाको प्रतिनिधि बनाइएको भेटिएको छ । पाल्पा शाखाका पूर्वअध्यक्ष समेत रहेका विष्णु भण्डारीले सदस्य नै नभएको जिल्लाको प्रतिनिधि बनेर मतदान गरेका हुन् ।
हेर्नुहोस औषधि व्यावस्था विभागमा पाल्पा जिल्लामा दर्ता रहेका भेटेरिनरी पसलको नामावली
पाल्पाको तानसेनमा व्यवसाय सञ्चालन गरेका भण्डारीको पसल भने औषधि व्यवस्था विभागमा भण्डारी भेट सेन्टरका नाममा रूपन्देहीमा दर्ता । आफू पाल्पा शाखाको सदस्य नभएको स्वंय भण्डारी बताउँछन् । तर भण्डारीले पाल्पाको प्रतिनिधि बनेर मतदान गरेको स्वीकार गरे । ‘मेरो पसल ठाँउ सारी गरेर रूपन्देही लगेको छु । म पाल्पाको सदस्य होइन,’ उनले भने । भण्डारीले संघको चितवनमा सम्पन्न महाधिवेशनमा प्रदेश प्रतिनिधिका रूपमा मतदान गरेको जिकिर गरे । जबकि, नेपाल पशुपन्छी औषधि व्यवसायी संघको प्रदेश प्रतिनिधिमा भण्डारीको नाम नै छैन् ।