सुँगुर–बंगुर ओसारपसारका लागि प्रमाणपत्र जारी नगर्न एनभिएको अपिल

काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए), गण्डकी प्रदेशले सुँगुर–बंगुरको ओसारपसारका लागि पशुपन्छी ढुवानी प्रमाणपत्र जारी नगर्न आफ्नो क्षेत्रभित्रका पशुपन्छी चिकित्सकलाई अनुरोध गरेको छ ।

गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूमा अफ्रिकन स्वाइन फिभरको संक्रमण तीव्र गतिमा फैलन थालेपछि एनभिए, गण्डकी प्रदेशले गण्डकीमा क्रियाशील भेटेरिनरियनहरूलाई सुँगुर–बंगुरको ओसारपसारमा प्रमाणपत्र जारी नगर्न अनुरोध गरेको हो ।

एनभिए गण्डकी प्रदेशका अध्यक्ष डा. राजेशकुमार चौधरीले शुक्रबार एक सूचना जारी गरी गण्डकी प्रदेशमा अफ्रिकन स्वाइन फिभरको संक्रमण तीव्र गतिमा फैलिएको उल्लेख गरेका छन् । गण्डकीमा देखिएको संक्रमण अन्यत्र फैलन सक्ने भन्दै उनले यसको आवश्यक रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेशमा कार्यरत भेटेरिनरियनहरूलाई सुँगुर र बंगुरको ओसारपसारका लागि ढुवानी प्रमाणपत्र जारी नगर्न आग्रह गरेका छन् ।

‘गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूमा सुँगुर र बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण तीव्र गतिमा फैलिएको हुँदा आवश्यक रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेशमा कार्यरत सम्पूर्ण भेटेरिनरियनहरूलाई माघ १९ गतेबाट अर्को सूचना नआउँदासम्म सुँगुर र बंगुरको ओसारपसारका लागि भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र जारी नगराउनुहुन अनुरोध गरिन्छ,’ डा. चौधरीद्वारा जारी सूचनामा भनिएको छ ।

दुई वर्षअघि नेपालमा पहिलो पटक अफ्रिकन स्वाइन फिभर देखिएको थियो । यो संक्रमणले लामो समय महामारीको रूप लिँदा काठमाडौं उपत्यकालगायत क्षेत्रको सुँगुर तथा बंगुरपालन व्यवसाय तहसनहस भएको थियो ।

भर्खरै लय लिएको यो व्यवसाय तहसनहस भएर मुझाइरहेका बेला गण्डकीमा पुनः यसले महामारीको आकार लिने संकेत गरेको छ । गण्डकीमा तीव्र गतिमा फैलिएको अफ्रिकन स्वाइन फिभर देशका अन्य भागसम्म फैलने जोखिम भए पनि सरकारले अहिलेसम्म यसको रोकथाम र नियन्त्रणमा गम्भीरता देखाएको छैन ।