डेरी एशोसिएसनले मनायो रजत जयन्ती

काठमाडौं । नेपाल डेरी एशोसिएसनले रजत जयन्ती मनाएको छ । आइतबार काठमाडौंमा आयोजित एक समारोहबीच एसोसिसनले रजत जयन्तीका साथै वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि कषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले किसान र उद्योगी मिलेर डेरी उद्योगलाई अगाडि बढाउन आग्रह गरे । कृषकले समयमा भुक्तानी नपाएको, सिंचाइ र बत्तीको समस्यालगायतका विषयमा मन्त्रालयले सम्बन्धित निकायसँग समाधानको प्रयास गरिरहेको उनले बताए ।

संघका पूर्वअध्यक्ष सुमित केडियाले दुग्ध क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्था, नेपालमा दुग्ध क्षेत्रको महत्त्व र चुनौतीका साथै डेरी क्षेत्रका विविध आयामबारे प्रकाश पारे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले डेरी क्षेत्रका सीप सिकाउन राम्रो शिक्षण संस्था खोल्नुपर्ने आवश्यकतामा जोड दिए । विभिन्न कारणले डेरी उद्योग पछाडि पर्न थालेको चिन्ता व्यक्त गर्दै उनले विदेशी कम्पनीहरूसँग उपभोगको मूल्य प्रतिस्पर्धा गर्न नसकेकाले समस्या उत्पन्न भएको बताए ।

यसैबीच, रजत जयन्तीको अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान पनि गरियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्वसचिव डा. योगेन्द्र कुमार कार्की राष्ट्रिय पुरस्कारबाट सम्मानित भए । त्यस्तै, घरेलु डेरी उद्योगबाट भैंसेपाटी डेरी उद्योग, ललितपुरका दीपक सञ्जेल, साना डेरी उद्योगबाट गजुरमुखी दर्शन डेरी उद्योग, इलामका अशेषकुमार बुढाथोकी र मझौला डेरी उद्योगबाट पर्रोहा दुध डेरी उद्योग रूपन्देहीका शिवलाल भुसाल सम्मानित भएका थिए ।

यस्तै, ठूला डेरी उद्योगबाट धमला डेरी प्रडक्ट्स प्रा.लि भक्तपुरका दीप प्रसाद धमला सम्मानित भए । सीताराम गोकुल मिल्क्स्का अध्यक्ष स्व. विश्वनाथ केडिया मरणोप्रान्त सम्मानबाट सम्मानित भए ।
उत्कृष्ट प्रदेश सम्मानबाट बागमती प्रदेशका अध्यक्ष टीकाप्रसाद घिमिरे र दीर्घसेवा सम्मानबाट संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठ सम्मानित भए ।

सोही अवसरमा पत्रकारहरूलाई पनि सम्मानित गरिएको थियो । हिमालय टाइम्सका आर्थिक ब्युरो प्रमुख लेखनाथ पोख्रेल, न्युज लाइन्स मिडिया प्रालिका अध्यक्ष राजु भट्ट, कृषि अनलाइनका सम्पादक वैकुण्ठ भण्डारी र टक्सार पत्रिकाका रवि थापा सम्मानित भएका हुन् ।

यसैगरी, नेपाल डेरी एसोसिएसनका पूर्वअध्यक्ष मेघराज भण्डारी र सुमित केडिया पनि सम्मानित भए ।

सोही अवसरमा नेपाल डेरी एसोसिएसनको गीत रचनाकार उषा आचार्य, गायक गोपाल तामाङ्ग, गायिका बिन्दु परियार र अधिवक्ता प्रह्लाद महतलाई प्रशंसा पत्रबाट सम्मान गरियो ।

कार्यक्रममा उपस्थित अतिथिहरूलाई पनि मायाको चिनोस्वरूप ठेकी र घ्यू प्रदान गरियो ।

एसोसिएसनले आफ्ना हरेक कार्यक्रममा दूध तथा दुग्ध पदार्थ मायाको चिनोको रूपमा प्रदान गर्दै आएको छ । कार्यक्रमको उद्घाटन बालबालिकालाई दूध सेवन गराएर फरक ढंगले गरिएको थियो ।

नेपाल डेरी एशोसिएसन २०५५ सालमा स्थापना भएको हो । सात प्रदेशका १५ जिल्लामा संगठन विस्तार गरेको एशोसिएसनमा देशभर २७५ सदस्य छन् ।