नेपाल पशुपन्छी औषधि व्यवसायी संघको हालै चितवनमा सम्पन्न महाधिवेशनले मलाई अध्यक्षमा निर्वाचित गरेको छ । आफ्नो अमूल्य मत दिएर मलाई अध्यक्षमा विजयी गराउनु हुने देशभरका पशुपन्छी औषधि व्यवसायीप्रति सर्वप्रथम म आभार प्रकट गर्न चाहन्छु ।
पशुपन्छी औषधि व्यवसायीहरू देशभर छरिएर रहनुभएको छ । उहाँहरूले जनताको घरदैलोमा पुगेर निरन्तर सेवा दिइरहनु भएको छ । यी सबै पशुपन्छी औषधि व्यवसायी मेरा लागि समान हुन् । यीमध्ये कोही पर र कोही वर भन्ने मेरो लागि छैन । त्यसैले सबैप्रति मेरो समान व्यवहार रहनेछ ।
हामीले सामूहिक स्वार्थमा काम गर्नुपर्छ । सामूहिक हितमा गरेको कामले अन्ततः सबैको हित हुनेछ । त्यसैले कसैको व्यक्तिगत कामका लागि फाइल बोकेर म कहिल्यै हिँड्ने छैन । आम व्यवसायीको हितसँग सम्बन्धित काममा भने मेरो अहोरात्र दिलचस्पी रहनेछ ।
म भर्खरै अध्यक्षमा विजयी भएको छु । बधाई र सम्मानका लागि आइदेओस् भन्ने कतिपय व्यवसायीको चाहना हुनसक्छ । व्यवसायीको हक हितमा गर्नुपर्ने काम धेरै भएकाले सम्मान र बधाई थाप्न नहिँड्ने जानकारी गराउन चाहन्छु । व्यवसायीसँग सम्बन्धित समस्याबारे कसैले अन्तरक्रिया राखेको खण्डमा भने म त्यसमा सहभागी हुनेछु ।
औषधि व्यवस्था विभाग र पशु सेवा विभागसंगको समन्वयनमा तालिम सम्पन्न भए पनि परीक्षा सञ्चालन नभएको अवस्था छ । हामीले परीक्षा सञ्चालनका लागि राज्यका निकायलाई घचघचाएको भए पनि सुनुवाइ भएको छैन । रोकिएको परीक्षा सुरु गरेर अर्को चरणको तालिम सञ्चालनका लागि मेरो इमानदार कोसिस जारी रहनेछ ।
संस्थाको भवन निर्माणको लागि जग्गा प्राप्त हुने प्रकृयामा रहेको यहाँहरुलाई अवगतनै छ । निवर्तमान अध्यक्षज्यूलाई उक्त जग्गाको अख्तियारी प्राप्त भएकाले सो जग्गा संस्थाले ग्रहण गरी प्राविधिक रिपोर्टका आधारमा भवन निर्माणतर्फ लाग्ने सोच छ ।
माथि नै भनिसकेँ कि व्यवसायीको हक–हितका लागि मैले आफ्नो कार्यकाल केन्द्रित गर्नेछु । व्यवसायी हितका लागि संघले गरेका काम–कारबाही थाहा पाउनु हरेक सदस्यको अधिकार हो । यसतर्फ मध्यनजर गरी हरेक महिना व्यवसायीमाझ आफ्नो कार्यप्रगति प्रस्तुत गर्ने सोच बनाएको छु । पारदर्शिता र इमानदारिता मेरो कार्यकालको मूल मन्त्र र आधारशिला हुनेछ ।
नेतृत्वले कहिल्यै पनि प्रशंसाको अपेक्षा गर्नु हुँदैन । उसको ध्यान समग्र क्षेत्रकै सम्मान बढाउनेतर्फ लक्षित हुनुपर्छ । त्यसैले म मेरा साथीहरूको सम्मान र बधाई ग्रहणका निम्ति नभएर बहुमूल्य सल्लाह तथा सुझावका लागि लालायित छु । यस्ता खुला संवादले संघको सकारात्मक परिवर्तनमा उत्प्रेरकको रूपमा काम गर्नेछ भन्ने मेरो विश्वास छ ।
अन्त्यमा, संघका सदस्यहरूले ममाथि राखेको विश्वासको लागि पुनः एक पटक हार्दिक आभार व्यक्त गर्न चाहन्छु । कर्तव्य, समर्पण र जोशका साथ यो यात्रामा निस्कन म आतुर छु । पशुपन्छी औषधि क्षेत्रको समृद्धि र उन्नति त्यतिबेला हुनेछ जतिबेला तपाईं–हामी हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्ने छौं ।
Language »