व्यवसायी तालिम सुचारु छ, जीवरक्षक औषधिबारे परामर्श गर्छौं

पशुपन्छी औषधि व्यवसायीको पछिल्लो अवस्थालाई कसरी हेर्नुभएको छ ?

पशुपन्छी औषधिको बजार ठीकै छ । व्यवसायीहरूको गुनासो पनि सुन्नु परेको छैन । नेपाली औषधि कम्पनीहरूले पनि राम्रै उत्पादन गरिरहेका छन् । बाहिरबाट पनि ठीकै तरिकाले औषधिको आपूर्ति भइरहेको छ । खासगरी लम्पी स्किन प्रकोपका बेला एन्टिबायोटिक औषधिको समस्या देखापरेको थियो, त्यसको व्यवस्थापन ग¥यौं । त्यसपछि कुनै पनि व्यवसायीले औषधि अभावको कुरा गरेका छैनन् ।

नेपाल पशुपन्छी औषधि व्यवसायी संघले विभागसँग सहकार्य गरेर कस्ता कामहरू गर्न सक्छ ? यसमा विभाग र संघको भूमिका के रहन्छ ?

संघमा देशैभरिका आयातकर्ता, थोक र खुद्रा व्यवसायीहरू संलग्न छन् । उनीहरू किसान र पशुपालक व्यवसायीसम्म पुगेर औषधिको अभाव हुन दिएका छैनन ।

औषधिको आपूर्ति र गुणस्तरीयता कायम गर्ने सन्दर्भमा हामीसँगको सम्बन्ध र सहकार्य आवश्यक नै छ । यसका लागि विभिन्न प्रकारका कार्यक्रम जस्तो : व्यावसायिक तालिम, विचार गोष्ठी, अन्तरक्रिया भइरहेको छ । संसारभरि नै नयाँ ब्याचका र नयाँ खालका औषधि आइरहेको छ ।

यस विषयमा व्यवसायीलाई जानकारी दिने, औषधि सञ्चय गर्ने, आपूर्ति गर्ने, किसानहरूलाई सुसूचित गर्न संघ महत्वपूर्ण कडीको रूपमा रहेको छ । त्यसकारण विभाग र संघबीच अति नै प्रगाढ र सक्रिय सम्बन्ध हुनुपर्छ । अहिलेको कार्यसमितिले पनि हामीसँग नजिक रहेर आफ्ना समस्या र तिनको समाधानका उपाय सुझाएका छन् । आउने समितिले पनि यसैगरी काम गर्ने अपेक्षा छ ।

गलत खालका औषधि आपूर्ति गर्नेहरूलाई रोक्न संघको भूमिका अपरिहार्य छ । जुन औषधि नै होइन या नियमित प्रक्रियाबाट औषधि आपूर्ति भएको हुँदैन, त्यस्ता प्रकारका औषधिको बिक्रीवितरण औषधि व्यवसायीमार्फत नै हुने भएकाले यसलाई रोक्ने र विभागलाई जानकारी दिने उहाँहरूको काम हो । गलत कार्यमा संलग्न व्यवसायीलाई सचेत गराउनेदेखि कारबाही गर्नेसम्मका सन्दर्भमा संघको भूमिका महत्वपूर्ण छ ।

औषधि व्यवसायी समग्रमा सुदृढ र भरपर्दो, किसानमैत्री, हुनुपर्छ । औषधि आपूर्ति र बिक्रीवितरण गर्ने ठूलो दायित्व हो भन्ने बुझेर व्यवसायीहरूबाट सरकारलाई पनि ठूलो टेवा पुगेको छ । के, कस्ता काम गर्दा औषधिको गुणस्तरीयता कायम रहन सक्छ भन्नेमा पनि संघको भूमिका अपरिहार्य छ ।

व्यवसायीको केही गुनासाहरू पनि छ । जसमध्ये एक छ, तालिम । अर्को छ, जीवरक्षक औषधिको आयातमा विभागले सहजीकरण नगरेको । यसबारे के भन्नुहुन्छ ?

व्यवसायीका लागि नियमित रूपमै तालिम भइरहेको छ । यस वर्ष पनि तालिम भएको छ । तर तालिम लिएकाहरूको परीक्षा भएको छैन । यसै वर्ष परीक्षा लिने तयारी छ ।  जहाँसम्म जीवरक्षक औषधिको विषय छ, यसमा अतिआवश्यक औषधिको अन्तिम सूची लगभग तयार भइसकेको छ । अब यस सूचीलाई विभागको सल्लाहकार समितिमा पेश गर्ने तयारी छ ।

त्यसैले अतिआवश्यक औषधिको जे सिद्धान्त छ र अरु देशमा यस विषयमा के व्यवस्था छ त्यसबारेमा सूचना दिन हामीले संघका साथीलाई आग्रह पनि गरेका छौं । अतिआवश्यक औषधिको आपूर्ति गर्न विभाग नियामक निकाय भएकाले जहिले पनि तयार छ ।

पशु स्वास्थ्यको सन्दर्भमा खासै अन्तर्राष्ट्रिय अभ्यास छैन । तर पनि विभागले मापदण्ड बनाउने काम गरिरहेको छ ।

यही पुस २४ र २५ मा नेपाल पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन हुँदै छ । यो महाधिवेशनबाट कस्तो नेतृत्व आउँदा उपयुक्त होला ?

पशुपन्छी स्वास्थ्यको ख्याल औषधि व्यवसायीहरूले पनि गर्नुपर्छ । पशुपन्छीको स्वास्थ्य मानव स्वास्थ्यसँग पनि जोडिएकाले यसमा ध्यान दिन जरुरी छ । औषधि समयमा आपूर्ति गर्ने, किसानसम्म पु¥याउने, गलत औषधिको बेचविखन र प्रयोग गर्ने काम व्यवसायीहरूबाट हुनुहुँदैन । किसानमैत्री र किसानको भलाइमा व्यवसायीहरू केन्द्रित हुनुपर्छ । नेपालको पशुस्वाथ्य व्यवसायलाई उत्थान गर्ने सन्दर्भमा व्यवसायीहरूको भूमिका अहं छ ।

महाधिवेशनबाट आउने नयाँ नेतृत्वले पनि यी विषयहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ । सक्रिय र सकारात्मक सोच भएको व्यक्ति नेतृत्वमा आउनुपर्छ । सबैलाई समेट्ने गरी समावेशी र संघको मूल्य मान्यताको परिधिभित्र रहने खालको नृेतत्व चयन होस्, मेरो शुभकामना छ ।