नेपाल पशुपन्छी औषधि व्यवसायी संघको गत महाधिवेशनमा रितेश रिमालसँग झिनो मतान्तरले पराजित विकास शर्मा तिमिल्सिना हारको इतिहास मेट्न यस पटक पनि पुनः यही पदमा उम्मेदवार बनेका छन् । पूर्वअध्यक्षको साथ–सहयोग रहेको बताउने तिमिल्सिना संघलाई डिजिटाइज्ड गर्न भूमिका खेल्ने बताउँछन् । तिमिल्सिनासँग संघको महाधिवेशन, उनको उम्मेदवारी, भावी कार्ययोजनालगायत विषयमा भेट टाइम्स मासिकले गरेको कुराकानी :
नेपाल पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशनमा तपाईं उपाध्यक्ष थोकतर्फ उम्मेदवारी किन दिनुभएको हो ?
म विगत २५ वर्षदेखि यो पेशमा छु । मैले खुद्राबाट यो व्यवसाय सुरु गरको हुँ । थोकको व्यवसायमा चाहिँ पछि आएको हुँ । त्यसैले मैले थोक र खुद्रा व्यवसायीका सबै समस्या बुझेको छु । यो कार्यसमितिमा थोक र खुद्राका समस्या खासै सुनिएको छैन । थोक र खुद्राका उठ्न नसकेका समस्यालाई समाधान गर्न मैले उम्मेदवारी दिएको हुँ । विगतमा पनि म उम्मेदवार भएको थिएँ र झिनो मतले पराजित भएको थिएँ ।
तपाईंले उम्मेदवारी दिँदा व्यवसायीहरूबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
व्यवसायी साथीहरूको प्रतिक्रियाभन्दा पनि उहाँहरूकै आग्रहमा मैले उम्मेदवारी दिएको हुँ । विगतमा म झिनो मतले पराजित हुँदा साथीहरूले गल्ती महसुस गर्नुभएको थियो । यो पटक आफ्नो चाहनाले भन्दा पनि उहाँहरूकै दबाबले उम्मेदवार बनेको हुँ ।
सात प्रदेश र जिल्ला शाखाहरूबाट ममाथि उम्मेदवार बन्न दबाब आएको छ । संस्थाका पूर्वअध्यक्षहरू भूपेन्द्र गौतम, कम्पोज बडाल, नवराज शर्मालगायतले पनि संघमा मजस्ता व्यक्ति आवश्यक रहेको बताउनुभएको छ ।
चुनाव जित्छु भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
यसमा म ढुक्क छु । मलाई त चुनावै होला जस्तो पनि लाग्दैन । नेतृत्व चयन सम्भवतः सहमतिकै आधारमा हुन्छ जस्तो लाग्छ । मैले व्यवसायको एजेण्डा बोकेर हिँडेको छु । त्यो एजेण्डा स्थापित गर्न, व्यवसायीको हकहितका लागि साथीहरूले यस पटक मलाई विश्वास गर्नु हुनेछ ।
थोक व्यवयायीका मुख्य समस्याहरू के हुन् ?
अहिले संघ ३ तहमा बाँडिएको छ–थोक, खद्रा र आयातकर्ता । खुद्रा व्यवसायीका आ–आफ्नै समस्या छन् । हामीले के पनि बुझ्नु पर्छ भने यो व्यवसाय किसानसँग पनि जोडिएको छ । त्यसैले किसान रहे खुद्रा रहला, खुद्रा रहे थोक व्यापारी रहन्छन् । थोक रहे मात्रै आयातकर्ता रहने हो । तीनै तहबीच अन्योन्याश्रित सम्बन्ध छ । आयात गर्ने साथीहरूले सहकारी, डेरीलाई सिधा औषधि बेच्दा खुद्रालाई असर परिरहेको छ ।
पालिकाहरूले औषधि खरिद गर्दा दूरदराजमा रहेका खुद्रा व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन् । किनभने, पालिकाहरूले औषधि खरिद गरी निःशुल्क बाँड्ने गरेका छन् । यसरी पालिकाले औषधि बाँड्दा किसानले आफूले चाहेको औषधि किन्नु परेन । तर यसको मार खुद्रा व्यवसायीले खेपिरहेका छन् । सरकारले निःशुल्क औषधि बाँडनु हुँदैन भनेको होइन तर सरकारको सप्लाई चेनलाई परिवर्तन गरी खुद्रा व्यवसायमार्फत् कारोबार हुनुपर्छ भन्ने मेरो मान्यता हो ।
आयात, थोक र खुद्राको संरक्षण गर्ने योजना सुनाउनुभयो । तर यसको कार्यान्वयन कसरी गर्नुहुन्छ त ?
संघ कार्यान्वयन गर्ने निकाय होइन । तर, हामी सहजीकरण गर्न सक्छौं । यद्यपि, हामी व्यवसायीले पनि आफ्नो धर्म निर्वाह गर्नुपर्छ । अर्थात् संघमा आबद्ध रहेका व्यवसायीहरू जस्तो ः आयातकर्ताले आफ्नो धर्म निर्वाह ग¥यो भने थोक र खुद्रालाई समस्या हुँदैन । यस्तै थोक र खुद्राले पनि आ–आफ्नो धर्म निर्वाह गर्नुपर्छ जसबाट अरूलाई समस्या हुनुहुँदैन । सबै व्यवसायी आफ्नो कार्यक्षेत्रभित्र रहेर व्यवसाय गर्नुपर्छ । यसका लागि तीन वटै पक्षबीच सहमति आवश्यक छ र म त्यसका लागि पहल गर्छु ।
संघलाई नै व्यवस्थित बनाउन तपाईंको योजना के छ ?
संघबाट व्यवसायीले धेरै नै आशा गरेका छन । हामीले सबै व्यवसायीको समस्या बुझेर यसको सचिवालयलाई दुरस्त बनाउनु पर्छ । संघलाई डिजिटलाइज्ड गर्नुपर्छ । औषधि व्यवस्था विभागमा दर्ता गर्नका लागि संघमार्फत व्यवस्था मिलाउनु पर्छ । यसो भयो भने व्यवसायीलाई राहत हुन्छ । कर र अडिटका विषयमा पनि संघले नै पहलकदमी गर्नुपर्छ । यसका लागि संघभित्र छुट्टै हेल्प डेस्क व्यवस्था गर्नुपर्छ । यी काम भए भने व्यवसायीलाई त राहत पुग्छ नै संघ पनि बलियो हुन्छ ।
सहमतिमा नेतृत्व चयनको विकल्प हुँदाहुँदै यसको प्रयोग भएको छैन । के भन्नुहुन्छ ?
चुनाव हुनु गलत होइन, यो प्रजातान्त्रिक प्रक्रिया नै हो । नेतृत्वका लागि हुने प्रतिस्पर्धा संघको लोकप्रियताको कारणले हो, संघप्रति माया र सद्भावले हो । प्रतिस्पर्धा भएन भने संघ बलियो हुन सक्दैन ।
महाधिवेशनमा आउने प्रतिनिधिहरूलाई तपाईंको सन्देश के छ ?
महाधिवेशनमा म सबै प्रतिनिधिलाई स्वागत गर्दछु । यस पटक सायद सर्वसम्मतमा नेतृत्व चयन हुन्छ होला । कदाचित चुनाव भइहालेमा मलाई अत्यधिक मतले विजयी गराइदिनु होला भन्ने आग्रह गर्दछु ।