पशुपन्छी औषधि व्यवसायी सादुराम ढकालले संघको अघिल्लै महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी घोषणा गरेका थिए । तर सहमतिका लागि भन्दै उनी व्याक भए । उनै ढकाल यस पटक पनि महासचिव पदको आकांक्षासहित मैदानमा उत्रिएका छन् । गत महाधिवेशनमा सहमतिका लागि त्याग गरेकाले यस पटक अन्यले आफूलाई सहयोग गर्नुपर्ने बताउँछन् । व्यवसायीले झेलेका समस्या आफ्नै ठानेर समाधान गर्ने बताउने ढकाल आफ्नो पक्षमा देशभर माहोल रहेको बताउँछन् ।
ढकालसँग पशुपन्छी औषधि व्यवसायीको महाधिवेशन र उनको उम्मेदवारीबारे केन्द्रित रहेर
विष्णु पाण्डेले गरेको कुराकानी :
तपाईं नेपाल पशुपन्छी औषधि व्यवसायी संघको महासचिवमा उम्मेदवारी दिनुभएको छ । किन र केका लागि हो तपाईंको यो उम्मेदवारी ?
म विगत १० वर्षदेखि संघको विभिन्न तह र तप्कामा रहेर व्यवसाय गर्दैै आइरहेको छु । काठमाडौंकेन्द्रित भएर व्यवसाय गर्दै आइरहेकाले व्यवसायिका समस्यालाई नजिकबाट बुझेको छु । थोक, आयातकर्ता र खुद्रासहित अन्य विभागीय समस्याहरू पनि नजिकबाट नियालेको हुँदा यी समस्याको दीर्घकालीन निराकरणका लागि महासचिव पदमा मैले उम्मेदवारी दिएको हुँ ।
उम्मेदवारीबारे व्यवसायीहरूको प्रतिक्रिया के छ ?
व्यवसायी साथीहरू मेरो उम्मेदवारी घोषणाले खुसी हुनुहुन्छ । धेरैले शुभकामना पनि दिइरहनु भएको छ । तपाईंजस्तै लिडर खोजिरहेका थियौं, पायौं भनिरनुभएको छ । मजस्तै व्यक्ति संघलाई आवश्यक रहेको उहा ँहरूको भनाइ छ । मैले दुई पटकसम्म साथीहरूका लागि त्याग गरिसकेँ । त्यसैले यस पटक महासचिवमा म आउनु पर्छ भन्ने धेरैको चाहना छ । देशभरिका व्यवसायीहरूको मागलाई मध्यनजर गरेर उम्मेदवारी दिएको हुँ । पदीय लोभका कारण नभएर तमाम् साथीहरूको सदाशयताले उम्मेदवार बनेको हुँ ।
चुनाव जितिएला भन्ने विश्वास छ ?
चुनाव जितिन्छ भन्नेमा म ढुक्क छु ।
व्यवसायीहरूले तपाईंलाई नै मत किन दिने ?
मैले व्यवसायीका तमाम् समस्या निकै नजिकबाट नियालेको छु, बुझेको छु । मैले कसैलाई आक्षेप लगाउन खोजेको होइन । तर संघमा कुरा मात्रै गर्ने, काम नगर्ने संस्कार विकास भएर गएको छ । संघलाई अगाडि बढाउन मसँग लामो भिजन छ । यो नै मेरो पुँजी हो । यो नै मेरो जितको मूल आधार हो ।
चुनाव प्रचारका क्रममा तपाईं देशैभरि पनि डुल्नुभयो । व्यवसायीका समस्याहरू के रहेको पाउनुभयो ?
व्यवसायीका समस्याको चाङ्ग नै छ । खुद्रा, थोक र आयातकर्ता साथीहरूको आ–आफ्नै समस्या छन् । खुद्राले सिधै औषधि बेचबिखन गरिरहेका छन् । आयातकर्ताले पनि आफैं टोलटोलमा पु¥याइरहेका छन् । सबैभन्दा ठूलो समस्या व्यवस्थित बजारीकरणको हो । बजारमा अत्यावश्यक औषधिको ठूलो अभाव छ । नक्कली औषधि छयापछयाप्ती बिक्री भइरहेको छ । मानव स्वास्थ्यलाई असर गर्ने औषधिहरू पनि बिक्री भइरहेका छन् । विजयी भएको खण्डमा यो समस्या पूर्ण रूपमा समाधान गर्र्ने मेरो प्रतिबद्धता छ ।
यस्ता गम्भीर समस्या समाधन गर्न तपाईंको रोडम्याप के छ त ?
वास्तविक समस्यालाई वास्तविक ठाउँमा समाधान गर्न सक्ने आधार मसँग छ । मैले किसान र व्यवसासीका समस्या नजिकबाट बुझेको र हेरेको हुँदा म सक्छुजस्तो लाग्छ ।
कतिपय व्यवसायीको के गुनासो छ भने चुनावका बेला उम्मेदवारले खोज्ने तर अरू बेला वास्ता नै गदैैनन् । यस्तो प्रवृत्तिलाई कसरी चिर्नु हुन्छ ?
तपाईंले भनेको कुरा सबै साथीमा लागू नहुन पनि सक्छ । कतिपय साथीहरू दिनरात नभनी संघका लागि खटिरहेका छन् । तर कतिपय साथीहरू चुनाव नजिकिएपछि मात्रै संघलाई सम्झने गरेका छन् र अनेका खालका प्रपञ्च रच्छन् । चुनावमा मात्र हेरिने अनुहारलाई व्यवसायीले नै वास्ता गर्दैनन् अब । तर पनि यस्ता प्रवृत्तिलाई तलैदेखि चिर्ने मेरो प्रतिबद्धता छ ।
सहमतिका आधारमा नेतृत्व चयन हुनुपर्ने विषयमा तपाईंको धारणा के छ ?
सहमतिकै लागि मैले दुई पटकसम्म साथीका लागि ठाउँ छाडेको व्यक्ति हुँ । जतिबेला मेरो जित सुनिश्चित थियो, सहमतिका लागि मैले निर्वाह गरेको भूमिका एउटा ज्वलन्त उदाहरण हो । तैपनि चुनावी प्रतिस्पर्धामा जान साथीहरू गोलबन्द भएका छन् । र पनि म सहमतिकै पक्षमा छु ।
सहमतिको लागि हिजो तपार्इंले पद छाडनुभएको थियो । आज तपाईंको नाममा सहमति नहुँदा नै चुनावमा जान लाग्नुभएको त होइन ?
पक्कै पनि । तर अघिल्लो पटक मैले छाडेको र यस पटक मेरो लागि छाड्ने सदाशयता कतिपय साथीहरूमा देखिएको छैन ।
अन्त्यमा आफ्नो मतदाता र व्यवसायीहरूलाई के भन्न चाहनुहुन्छ ?
यदि मतदाता साथीहरूले मलाई निर्वाचित गरे भने व्यवसायीका तमाम् समस्या समाधान गर्ने म उपयुक्त पात्र हो भन्ने विश्वास दिलाउँछु । व्यवसायीका दुःख, कष्ट मैले ग्रहण गरी सबै समस्या समाधान गर्न उचित पहल गर्ने छु भन्ने अर्को बचनवद्धतासहित महाधिवेशनमा अत्यधिक मतले विजय गराउनु हुनेछ भन्ने आशा मैले पालेको छु ।
Language »