७० देखि ८० प्रतिशत माहोल मेरो पक्षमा बनिसकेको छ’

नेपाल पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिवमा हुमाकान्त काफ्लेले उम्मेदवारी घोषणा गरेका छन् । लुम्बिनी प्रदेशमा रहेर व्यवसाय सञ्चाल गर्दै आइरहेका काफ्ले विजयी भएको खण्डमा व्यवसायीले झेलेका समस्या समाधान खातिर गोलमेच गर्ने बताउँछन् । आफ्नो पक्षमा अहिले नै ७० देखि ८० प्रतिशत माहोल बनिसकेको उनले दाबी गरे । काफ्लेसँग महाधिवेशन र उनको उम्मेदवारीको विषयमा केन्द्रित रहेर भेट टाइम्सले गरेको कुराकानी :

नेपाल पशुपन्छी औषधि व्यवसायी संघको महासचिवमा उम्मेदवारी दिन लाग्नु भएको हो । तपाईंको उम्मेदवारी केका लागि ?
नेपाल पशुपन्छी औषधि व्यवसायी संघभित्र अहिले मनमुटाव र अस्वस्थ्य प्रतिस्पर्धा छ । यसको निराकरण गर्नु मेरो पहिलो उद्देश्य हो । संघभित्रको अनियमितता, अस्वस्थ, अमर्यादित कामलाई अन्त्य गर्ने मेरो प्रतिबद्धता हो । संघभित्र इमानदार नेतृत्वको खाँचो छ । नेतृत्व इमानदार नहुँदा अस्वस्थ्य प्रतिस्पर्धा भइरहेको छ । मैँ कमाऊ, मैँ मात्र खाऊ भन्ने सोच विकसित भएको छ । बिना दर्ता औषधि बिक्री वितरणको समस्यादेखि लिएर संघभित्र आन्तरिक राजनीति छरपस्ट भइसकेको छ ।

वास्तवमा मेरो उद्देश्य भनेको आयात, थोक र खुद्रा व्यवसायीबीच मित्रता कायम गर्ने, व्यावसायिक इमान्दारिता कायम गर्ने र निःस्वार्थ भावले काम गर्ने हो । जहाँ व्यक्तिगत स्वार्थ हुँदैन, त्यहाँ मात्र सामाजिक काम गर्न सकिन्छ । जब व्यावसायिक इमानदारिताभित्र बसेर काम गरिन्छ, कसैलाई समस्या हुँदैन । यदि समस्या भयो भने पनि समाधान छिटो निस्किन्छ ।

उम्मेदवारी घोषणापछि साथी र शुभेच्छुकहरूको कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
म ०६२ सालदेखि नै औषधि व्यवसायमा संलग्न रहँदै आएको हुँ । म आफैंले भन्नुु भन्दा पनि साथीहरूले मेरो छवि कसरी हेर्नुभएको छ, त्यो महत्वपूर्ण हो ।

म हरेक कुरा व्यक्त गर्न सक्ने खालको मान्छे हो, त्यसैले संघमा मजस्ता व्यक्ति चाहिन्छ भन्ने साथीहरूको चाहना हो । जुनसुकै प्लेटफर्ममा व्यवसायीको समस्या म राख्न सक्छु भन्ने साथीहरूको विश्वास छ । व्यवसायीको सबै खालका समस्यालाई राख्न सक्ने र त्यसको पहिचान गरी समाधान पनि गर्न सक्ने भएको हुँदा ममाथि विश्वास छ ।

म व्यावसायिक रूपमा पनि सफल भएकै हो । यस्ता व्यक्तिलाई संघमा लैजानुपर्छ भन्ने साथीहरूको सोच हो । मेरो यही व्यक्तिगत कारणले ७० देखि ८० प्रतिशत माहोल मेरो पक्षमा बनिसकेको छ ।

त्यसो भए संघको महाधिवेशनमा चुनाव जित्नुहुन्छ भन्ने विश्वास छ ?
चुनाव जित्छु भन्नेमा म ढुक्क छु । पूर्वदेखि पश्चिमसम्मका साथीहरूले नै मेरो पक्षमा राम्रो माहोल रहेको भन्दै आइरहेका छन् । मलाई विजयी बनाउन देशैभरका साथीहरू तयार छन् ।

तपाईंको नजरमा व्यवसायीका समस्याहरू के के छन् ?
मुुख्य समस्या भनेको व्यवसायीहरूलाई तालिमको अभाव हो । साथीहरू पनि तालिम उपलब्ध गराइदिनु पर्ने भन्दै आएका छन् ।

लुम्बिनी क्षेत्रमा मेरो व्यवसाय छ । खुला सिमानाका कारण यहाँका खुद्रा व्यवसायीहरू धेरै मर्कामा छन् । किसानहरू साइकलमै सीमा पारिबाट औषधि किनेर ल्याउँछन् । खुला सीमाले गर्दा पनि व्यवसाय कमजोर भएको छ । उताबाट बिना दर्ताका औषधिहरू आइरहेको छ ।
यसबाहेक अरु पनि समस्याहरू छन् । यी समस्याहरू छिटो सम्बोधन होस् भन्ने साथीहरूले आग्रह गरेका छन् ।

यी समस्याहरूलाई समाधन गर्न तपाईंको योजना के छ त ?
मेरो पहिलो एजेण्डा भनेको संघका पूर्वअध्यक्षहरू, औषधिका विज्ञहरू र खुद्रा व्यवसायीबाट प्रतिनिधित्व हुने गरी गोलमेच सम्मेलन गर्ने हो । त्यस सम्मेलनबाट समस्याको पहिचान गरी सबैको सुझावका आधारमा योजनबद्ध तरिकाले हल गर्ने हो । समस्या समाधान गर्न संघलाई नै सक्रिय पार्छु ।

नेता बन्न चुनावमा उठ्ने तर पछि व्यवसायीका समस्यालाई टुलुक्क फर्केर पनि नहेर्ने गरेको गुनासो व्यवसायीहरूको छ । के भन्नु हुन्छ ?
व्यवसायीका यो गुनासो जायज नै हो । विगतमा कतिपय साथीहरूले यस्तो काम गरेका छन् । तर यसलाई चिर्ने काम मबाट नै सुरु हुन्छ । व्यवसायसँगै संघलाई पनि परस्पर लैजाने मेरो तयारी हो । संघमा गइसकेपछि व्यवसायीका कुरा छोडने र बिर्सिने परिपाटीको अन्त्य हुनेछ । व्यवसायभन्दा संघमै जान खोज्नेहरूले व्यवसायीको समस्या बुुझ्दैन । त्यसैले व्यवसाय, व्यवसायी र संघ तीन वटैलाई सँगसँगै लैजाने प्रयत्न मेरो रहन्छ । व्यवसाय पनि गर्ने र संघ पनि जोगाउने मेरो योजना हो ।

व्यवसायिक संगठनमा राजनीतिक छिरेको भन्ने व्यवसायीमा चिन्ता देखिन्छ, यसबारे तपाईंको भनाइ के छ ?
संघभित्र कुनै प्रकारको राजनीति छिर्नु हुँदैन । यो राजनीतिक मैदान होइन । विशुद्ध व्यवसायिक संगठन हो । मान्छे अराजनीति हुन सक्दैन । तर राजनीतिक चेतना कहाँ प्रयोग गर्ने भन्ने मूल कुरा हो । तर यदि मेरो कुरा गर्ने हो भने म संघभित्र राजनीति गर्नु हुँदैन भन्ने मान्यता बोकेको मान्छे हुँ ।

संघमा नेतृत्वको चयन सहमतिको आधारमा होस् भन्ने चाहना कति छ ?
संघमा नेतृत्वको चयन सहमतिमा होस् भन्नका लागि पूर्वअध्यक्षहरू लागिरहनु भएको छ । कोही जितेर या हारेर केही हुँदैन । विस्तारै नेतृत्व गर्ने पालो सबैको आउँछ नै । साथीहरू पनि सहमतिको पक्षमा रहेको र म नै हुनुपर्छ भन्ने अडानमा छैनन् ।

अन्त्यमा, महाधिवेशनमा आउने देशभरिका प्रतिनिधिहरूलाई के भन्न चाहनुहुन्छ ?
यो महाधिवेशनलाई हामीले यस पटक फरक तरिकाले सम्पन्न गर्दैछौं । देशैभरका प्रतिनिधिलाई ढुक्क भएर आउन र कुनै प्रकारको समस्या नहुने जानकारी गराउन चाहन्छु । यो सबै व्यवसायीको साझा संगठन हो र यो महाधिवेशनलाई सफल बनाउन आग्रह गर्दछु ।