व्यावसायिक ज्ञान नभएकालाई यस पटक प्रवेश निषेध छ

संघको सचिव पदमा तपाईंको दुईवर्षे कार्यकाल कस्तो रह्यो ?
मैले आफ्नो दुई वर्षको कार्यकाललाई पछाडि पर्केर हेर्दा सफल नै भएको ठानेको छु । म जे सोचेर संघको केन्द्रीय सचिव पदमा उम्मेदवारी दिएको थिएँ, त्यो पूरा गर्न सफल भएको छु । आफ्नो मिसन सफलतापूर्वक पूरा गरेँ भन्ने मेरो विश्वास छ ।

दुई वर्षअघि सचिव पदमा उम्मेदवार हुँदा व्यवसायीका तमाम् समस्या समाधान गर्ने मुद्दा तपाईंले उठाउनु भएको थियो । ती कति पूरा भए ?
केन्द्रीय सचिवमा उम्मेदवारी दिँदा र त्यसमा विजय भएर आउँदा व्यवसायीको दर्ता र नवीकरणको समस्या थियो । औषधि व्यवस्था विभागमा दर्ता भएका तर नवीकरणका लागि विभागले आनाकानी गरिरहेको अवस्था थियो । तर दर्ता र नवीकरणका फाराम थिएन । औषधि व्यवस्था विभाग र पशु सेवा विभागसँग समन्वय गरेर नवीकरणका लागि संघको केन्द्रीय समितिले मलाई सहजीकरण गर्ने जिम्मा दिएको थियो । यसरी नवीकरण नभएका देशैभरका व्यवसायीका फर्मलाई विभागमा आफैं उपस्थित भएर नवीकरण गराउन लगाएको हुँ । यसप्रति सबै व्यवसायी मसँग खुसी छन् ।

यसबाहेक अरू उल्लेखनीय काम के गर्नुभयो ?
करिब ९÷१० वर्ष अघिदेखि औषधि व्यवस्था विभागमा दर्ता भएका तर पशु औषधि व्यवसाय तालिम नलिएका धेरै साथीहरू थिए । उनीहरू पशु औषधि व्यवसाय तालिमको पर्खाइमा थिए । यो कार्यसमितिले नै ९÷१० वर्षदेखि हुन नसकेको तालिम गराउन सफल भयो । तालिम गराउन औषधि व्यवस्था विभाग र पशु सेवा विभाग दुवैसँग समन्वय गर्ने काम गरेँ । यसका साथै मृत्यु भएका या दुर्घटनामा परेका व्यवसायीको व्यवसाय बन्द हुने भएपछि त्यस्ता व्यवसायीका परिवारका औपचारिक शिक्षा पुगेका सन्तान या सदस्यलाई तालिममा सहभागी गराउन हामी सफल भयौं । यस कार्यकालमा यस्ता व्यवसायीका एकाघरका ९ जनाले तालिम लिए । यसलाई मैले महत्वपूर्ण कार्यको रूपमा लिएको छु ।

खासमा औषधि व्यवसायीका मूल समस्या के के हुन्?
यसमा आयात, थोक र खुद्रा गरी तीन तहका व्यवसायी छन् । उनीहरू सबैका आ–आफ्नै समस्या छ । आयात र थोक बिक्रेताले गाई, पोल्ट्री व्यवसायीसँग सिधा औषधि पु¥याउँदा त्यसको प्रत्यक्ष मारमा खुद्रा व्यवसायी पर्छन् । यस्तै दर्ता नगरेकाहरूले अन्धाधुन्ध व्यवसाय गर्दा, राज्यलाई कर तिरिरहेका खुद्रालाई समस्या पर्छ । यसैगरी, थोक व्यवसायीलाई आयातकर्ताबाट समस्या परिरहेको छ ।
आयातकर्ताको पनि आफ्नै समस्या छ । उनीहरूको सिफारिसदेखि सरकारी कानूनमा व्यवधान छ । भन्सारमा चर्को शुल्क तिर्नु परिरहेको छ । यी सबै समस्यालाई एकमुष्ट कसरी हल गर्ने भन्ने विषयमा हामी विचार गरिरहेका छौं ।

आगामी कार्यकालको आयाततर्फको उपाध्यक्ष पदमा तपाईंको उम्मेदवारी किन ?
मै संघको चितवन शाखा कार्यसमिति सदस्य भएर दुई वर्ष काम गरेँ । त्यसपछि सचिव हुँदै अध्यक्ष भएँ । त्यसपछि केन्द्रीय कार्यसमिति सदस्य हुँदै अहिले सचिव भएँ । संघको विभिन्न तहमा रहेर १० वर्ष काम गरेको अनुभव मसँग छ ।

यस १० वर्षको दौरानमा मैले व्यवसायीका हकहितका विषय उठाउन कहिले पनि पछि परिनँ । यस पटक मैले आयाततर्फ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । व्यवसायीका तमाम समस्या समाधान गर्न, आयातमा देखिएका समस्या अन्त गर्नका लागि नै मेरो उम्मेदवारी हो । यसका साथै आयातमा व्यवसायीले काम गरिरहँदा गलत मनसाय बोकेका अर्को व्यवसायीले अप्ठ्यारो पारिरहेको पनि देखिएको छ । यस्तो प्रवृत्तिलाई अन्त्य गरी स्वस्थ र प्रतिस्पर्धात्मक व्यावसायिक वातावरण निर्माणका लागि तयार पार्ने जिम्मा म लिन्छु ।

गुणस्तरीय औषधिको आयातमा मेरो जोड रहन्छ । व्यवसायलाई मर्यादित बनाउनुका साथै सचिव रहँदा पूरा गर्न नसकेका केही कामलाई आउने कार्यकालमा सम्पन्न गर्ने मेरो लक्ष्य छ ।
गलत ढंगले व्यवसाय गर्नेलाई निरुत्साहित गर्ने व्यक्ति हुँ म । औषधिको गुणस्तरमा म कहिल्यै सम्झौता गर्दिनँ र गर्न पनि दिन्नँ । सरकारले बन्द गरेको, प्रतिबन्ध लगाएको औषधि आयात गरी बिक्रीवितरण गर्न हुँदैन । यस्ता गलत क्रियाकलापविरुद्ध संघ अब खरो रूपमा उत्रन्छ र यसको पहल मैले गर्छु ।

यस्तो एजेण्डा उठाउँदा आफैंविरुद्ध हमला होला नि ?
यस्ता तत्वलाई म धुलो चटाइदिन्छु । अनधिकृत काम गर्ने तत्वहरू आफैं सेलाएर जान्छन् अब । हाम्रो उपस्थिति देख्नेबित्तिकै यस्ता तत्वहरू हल्लिन थालिसकेका छन् ।

संघको महाधिवेशनमा आउने प्रतिनिधिहरूलाई तपाईंको सन्देश के छ ?
संघमा केही विकृति पनि मौलाएको छ । जस्तो ५ प्रतिशत पनि व्यावसायिक ज्ञान नभएका व्यक्ति अहिले चुनावी प्रतिस्पर्धामा आउन खोजेका छन् । त्यस्ताबाट संघ र व्यवसायीले के नै आशा गर्न सक्छन् र ? यस्ता व्यक्तिलाई संघभित्र प्रवेश निषेध हुनुपर्छ ।

व्यवसायीका हरेक समस्या मलाई थाहा छ । समस्या मात्र होइन, समाधान पनि मलाई थाहा छ । व्यवसायीले आफ्नो अमूल्य मत मलाई दिनुहुन्छ भन्ने विश्वास छ । म हरेक मतको सम्मान गर्ने प्रतिबद्धता जनाउँदै मत जाहेर गरेर विजयी गराउन व्यवसायीहरूलाई अनुरोध गर्न चाहन्छु ।
महाधिवेशनमा चितवनमा आउन सबै प्रतिनिधि र व्यवसायी साथीहरूलाई स्वागत गर्न आतुर छु ।