मेरो कार्यकालमा जे गरेँ

नेपाल पशुपन्छी औषधि व्यवसायी संघ चलायमान भएको छ । जसका कारण सातै प्रदेश र २२ वटै शाखाको अधिवेशन सम्पन्न भएर नयाँ कार्यसमिति चयन भएको छ । फुर्सदमा नगर्ने र अन्तिममा चटारो गर्ने नेपाली सनातनी स्वभावका कारण सोह्र श्राद्धमा पण्डितलाई चटारो परेजस्तो अधिवेशनको चटारो हामीलाई प¥यो । एकै दिन दुईभन्दा बढी शाखाको अधिवेशन पनि सम्पन्न भए । तपाथि हामीले संगठनलाई चलायमान बनाएका छौं । भूगोलअनुसार पशुपन्छी औषधि व्यवसायीका समस्या फरक छन् । समष्टीगत रूपमा यी समस्यालाई दृष्टिगत गरेर यिनको समाधान तथा व्यवसायीको हक–हितका लागि मेरो नेतृत्वको कार्यसमितिले काम ग¥यो ।

अघिल्लो कार्यकालमा कोभिड–१९ महामारी र आर्थिक मन्दी थियो । यसले अवस्था केही असहज बनाएकै थियो । मन्दीको अवस्था कायम रहे पनि अघिल्लामा जस्तो मेरो कार्यकालमा असहजता महसुस गर्नु परेन । यसलाई सुखद् नै भन्नुपर्ला ।

मेरो कार्यसमितिमा रहेका, प्रदेश र शाखाका साथीहरूले भनेको समयमा काम गरेर सघाउनुभयो । ९ वर्षसम्म व्यवसायीको तालिम रोकिएको अवस्था थियो जुन पुनः सञ्चालन गरियो ।

मैले निर्वाचनका बेला दुर्घटनालगायत कारणले आफन्त गुमाएका पशुपन्छी औषधि व्यवसायीका वाञ्छनीय योग्यता पुगेका आफन्तलाई तालिम प्रदान गर्ने घोषणा गरेको थिएँ । मेरो कार्यकालमा करिब १२ जना त्यस्ता व्यक्तिलाई तालिम प्रदान गर्न सकियो । जसलाई मैले मेरो कार्यकालकै सबैभन्दा ठूलो उपलब्धिका रूपमा यसलाई लिएको छु ।

व्यवसायीमा व्यावसायिक एकता कायम हुनु पर्छ । एकले अर्कोलाई सम्मान गर्ने संस्कृति हामीमा हुनुपर्छ । अग्रजले अनुजलाई सम्मान गर्नु हाम्रो सभ्यता हो । व्यवसायीले आफ्नो व्यवसाय नम्समा रहेर गर्नुपर्छ ।

विगतमा कुनै पसलमा दुई वर्ष काम गरेको अनुभवका आधारमा पशुपन्छी औषधि पसल दर्ता हुन्थ्यो । बदलिँदो परिस्थितिसँगै अहिले यो व्यवस्था परिस्कृत भएको छ । ओरिएन्टेसन कक्षा लिनुपर्ने प्रावधान समेटिएको छ ।

१४ वटा जति तालिम सञ्चालन गर्ने हो भने पुराना सबै व्यवसायी समेटिने देखिन्छ । नयाँका लागि भने थप तालिमको प्रबन्ध गर्नुपर्ने खाँचो छ । तर दर्ता नगरी पशुपन्छी औषधि पसल सञ्चालन गर्ने प्रवृत्ति विकराल छ । मेरो विचारमा यो अहिलेको सबैभन्दा ठूलो चुनौती हो । यस्ता व्यक्तिलाई कानूनी दायरामा ल्याएर सदस्य बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्छ । यसो गर्दा सदस्य संख्या मात्र बढ्ने छैन, व्यावसायिक मर्यादा पनि उचो हुनेछ ।

अध्यक्षमा निर्वाचित भएलगत्तै मैले तीन प्रकृतिका योजना बनाएको थिएँ, तत्कालीन, अल्पकालीन र दीर्घकालीन । तत्काल गर्नुपर्नेको सूचीमा तालिम थियो, त्यो उपलब्ध गराएँ । औषधि ऐन, २०३५ परिमार्जनसम्बन्धमा अन्तरक्रिया, गोष्ठीहरू आयोजना भएका थिए । तिनमा सहभागी भएर सम्बोधन गराउने मौका पाएँ । त्यसको परिणाम आगामी दिनमा देखिने नै छ । तर सबैभन्दा महत्वपूर्ण कुरा थिती बसेको छ ।

संघ सबैको आड भरोसा हो । यो रहे मात्रै व्यवसायी रहन्छन् । व्यवसायी नरहे परिवार रहँदैनन् । त्यसैले व्यवसायी एकतालाई कसिलो बनाउँदै यसलाई सशक्त र प्रभावी बनाउन हामी लागेका छौं । प्रदेशमा सर्वसम्मत नेतृत्व चयन हुनु यसैको द्योतक हो । केन्द्रमा पनि यसको सम्भावना छ । त्यसमा हामी लागिपरेका छौं ।

म अन्तर्राष्ट्रिय संगठन रोटरी क्लबमा पनि छु । त्यसमा पूर्वअध्यक्षको प्रेसिडेन्टियल काउन्सिल रहने र निवर्तमान अध्यक्षले नेतृत्व गर्ने अभ्यास छ । नेपाल पशुपन्छी औषधि व्यवसायी संघमा पनि पूर्वअध्यक्षको यस्तै मञ्च स्थापना गर्ने मेरो प्रस्ताव छ । राम्रो प्रस्ताव ल्याउनुभयो भनेर साथीहरूले यसमा सहमति जाहेर गर्नुभएको छ । यो स्थापना हुन सकेको खण्डमा उहाँहरूको सल्लाह र सुझावले संघ थप एकताबद्ध र सुदृढ हुनेछ भन्ने मेरो विश्वास छ । उद्योग वाणिज्य महासंघमा जस्तो वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा अध्यक्ष हुने प्रावधान राख्ने अर्को प्रस्ताव पनि मेरो छ ।
चुनाव भड्किलो हुनु हुँदैन भन्ने मान्यतामा म हिजैदेखि अडिग थिएँ, अहिले पनि छु । तर म आफैं त्यो भुंग्रोमा परेँ । त्यो मेरो बाध्यता थियो । अध्यक्षलगायत पदमा सर्वसम्मत गर्ने हो भने यो अवस्था रहँदैन । यस्ता गलत परिपाटीलाई विस्तारै न्यूनीकरण गर्दै लैजानुपर्छ । यसमा मेरो निरन्तर प्रयास रहनेछ । आगामी कार्यकालका लागि जति पनि उम्मेदवार हुनुहुन्छ उहाँहरूलाई खर्चको होडबाजी गरेर रवाफ नदेखाउनूस् भन्न चाहन्छु ।

हाम्रो संस्थामा बजेट छैन । कसैले निःसर्त दान दिँदा स्वीकारिरहेका छौं । अझ भनौ संघले यस्ता सहयोग पाउँदा हात थापिरहेको छ । घर जग्गा मात्र होइन, सानोसानो व्यानर पनि मागिरहेका छौं । तर हामी सहयोगबापत यो गरिदेऊ, उसो गरिदेऊ भनेर कसैले भन्छ भने त्यो स्वीकार गर्न तयार छैनौं । यो कुरा सबैले महसुस गर्दा हुन्छ । यही पुस २४ र २५ गते चितवनमा संघको १४औं महाधिवेशन आयोजना हुँदैछ । सुरुमा त म सबै व्यवसायी साथीहरूलाई यसमा सहभागिताका लागि तपाईंमार्फत निमन्त्रण गर्न चाहन्छु ।

चितवन त्यही ऐतिहासिक जिल्ला हो, जहाँबाट ०४७ सालमा मरेतुल्य रहेको हाम्रो संगठनलाई अग्रजले पुनर्जीवन प्रदान गरेका थिए । संयोगले यो १४औं महाधिवेशन चितवनमै गर्ने अवसर मिलेको छ । मैले चितवन घोषणापत्रमार्फत आगामी कार्यसमितिको कार्यदिशा तय गर्दैछु, जुन ऐतिहासिक दस्तावेजका रूपमा दर्ज हुने मेरो विश्वास छ ।