Home अन्तवार्ता ‘बजारको अवस्था अहिले डामाडोल छ’,किसान रहे मात्र सबै बाँच्छौं भन्ने हेक्का गरौं
व्यासायिक पशुपालन बढेसँगै नेपालमा पशुपन्छी औषधिको कारोबारमा वृद्धि भएको छ । पशुपन्छी औषधिको बजार अवस्था नियालेर कैयन् उद्योगहरू नै नेपालमा स्थापना भएका छन् ।विगतमा पशुपन्छी औषधिको बजार राम्रो भए पनि अहिले बिग्रँदै गएको नेपाल पशुपन्छी औषधि व्यवसायी संघका पूर्वअध्यक्ष भूपेन्द्र प्रसाद गौतम बताउँछन् । विभिन्न किसिमका रोगले पशुपन्छीमा पु¥याएको क्षति र कुखुरा पालनमा आएको गिरावटले पशुपन्छीजन्य औषधिको उपभोग दर घटेको गौतमको ठम्याइ छ । किसान बाँचे मात्र सबै रहने विचार राख्ने गौतम मन्दीका कारण बजारमा पठाइएका पशुपन्छी औषधिको रकम नै नउठ्ने अवस्था आएको सुनाउँछन् । प्रस्तुत छ, गौतमसँग पशुपन्छी औषधि बजारको पछिल्लो अवस्थाबारे केन्द्रित रहेर भेट टाइम्स मासिक प्रतिनिधिले गरेको सवाल :
पशुपन्छी औषधिको वर्तमान अवस्था कस्तो छ ?
हरेक क्षेत्रमा अहिले मन्दीको अवस्था छ । पशुपन्छी क्षेत्र पनि यसबाट अछूतो छैन । पशुपन्छीतर्फ पोल्ट्री, क्याटलमा विभिन्न समस्या आएका छन् । लम्पी स्किन महामारीले मात्र गाईवस्तुमा ठूलो क्षति पुग्यो । गाउँघरमा पहिले दुई–चार वटा गाईवस्तु पालन गर्ने प्रचलन थियो । त्यसो त, व्यावसायिक हिसाबले गाईभैंसी पालन गर्ने क्रम अहिले हुँदै नभएको होइन । भइरहेको छ । तर युवाहरू विदेश पलायन हुने बढ्दो प्रवृत्तिका कारण दुई–चार वटा गाईभैंसी पालन गर्ने पुरानो प्रचलनमा कमी आएको छ । पिगको मार्केट निकै राम्रो हुँदै थियो । तर अफ्रिकन स्वाइन फिभर महामारीले यसलाई सखाप बनायो । जसले गर्दा अहिले यसको पालन गर्ने किसान कम भएका छन् । यी सबै परिस्थितिले स्वाभाविक रूपमा पशुपन्छी औषधि बजारको अवस्था पनि खराब बनेको छ ।
पशुपन्छी औषधिको विगत र वर्तमानको खपत अवस्था के छ ?
सरकारले के हिसाबले तथ्यांक निकाल्छ, वास्तविक नै हुँदैन । उहाँहरू २००, ५००, १००० कुखुरा पालनको आँकडा ल्याउनुहुन्छ, जबकि, एक लाख, दुई लाखको फार्म भइसकेको छ । त्यसैले सरकारको तथ्यांकभन्दा निकै बढी पशुपन्छी औषधिको खपत भइरहेको अवस्था छ । तर यसको यकिन तथ्यांक भने अहिले मसँग छैन । यो निकाल्न सक्ने अवस्था पनि छैन । गत वर्षको खपतसँग अनुमान गर्ने हो भने पनि अहिले धेरै फरक छ । यतिचाहिँ भन्न सकिन्छ, विगत वर्षको तुलनामा पशुपन्छी औषधिको खपतमा निकै ठूलो गिरावट आएको छ । नआओस् पनि किन ? पोल्ट्रीको यति ठूलो हब चितवनमा फार्महरू खाली छन् । कति कुखुरा पालक कृषक त व्यवसाय नै छाडेर अन्य काममा लागेको देखिन्छ । पुराना अधिकांश कुखुरा पालक कृषक त पलायन भइसकेको अवस्था छ ।
पशुपन्छी पालन र यसलाई लक्ष्य गरेर सञ्चालित व्यवसायमा आएको मन्दीले के–कस्ता चुनौती थपेको महसुस गर्नुभएको छ ?
नेपाललाई कृषि प्रधान देश भन्ने गरिन्छ । दूध, मासु र अण्डमा देश आत्मनिर्भर भएको घोषणा सरकारले गरिसकेको छ । तर अवस्था कस्तो छ भने अहिले पनि किसानको दूध बिक्री भइरहेको छैन । दूध होलिडे गर्न किसान विवश छन् । कुखुरा पालक कृषकको दुःख उस्तै छ । कुखुराको मासु प्रति किलो उत्पादन गर्न उहाँहरूको २०० रूपैयाँ खर्च भएको हुन्छ । तर बिक्री १५० रूपैयाँमा गर्नुपर्छ । ह्याचरीको स्थिति पनि त्यस्तै छ । प्रति गोटा चल्लाको उत्पादन लागत ५४–५५ रूपैयाँ पर्ने उहाँहरूको भनाइ छ । तर त्यतिमा बिक्री गर्नसक्ने अवस्थै छैन । यी सबै परिस्थितिले कुखुरा पालनमा संलग्न व्यक्तिहरू पलायन हुने अवस्था देखिँदैछ । यसको असर हामी पशुपन्छी औषधि व्यवसायीमा पनि परेको छ । किनभने, पशुपन्छी पालन बढेको खण्डमा नै औषधिको खपत बढी हुने हो ।
पशुपन्छी पालन क्षेत्रमा अहिले देखिएको समस्या समाधानमा राज्य र यसका निकायले खेल्नुपर्ने भूमिका खेलेका छन् ?
सरकारले कृषिलाई आफ्नो प्राथमिकताको क्षेत्र भएको बताउने गरेको छ । तर व्यवहारमा त्यस्तो महसुस हुन सकेको छैन ।
यो क्षेत्रमा अहिले देखिएको मन्दी अन्त्य गरेर चलायमान बनाउन के–के गर्नुपर्ला ?
भारतसँग हाम्रो खुला सीमा छ । खुला सीमाबाट तस्करी हुने गरेकाले हामी समस्यामा पर्दै आएका छौं । भारतमा अहिले कुखुराको मासु प्रति केजी ६०–७० आइसीमा उपलब्ध छ । जबकि, नेपालमा यसको उत्पादन लागत नै २०० रूपैयाँ छ । भारतबाट कम मूल्यमा कुखुराको मासु नेपाल भित्रिँदा बजार ध्वस्त भएको छ । दूधमा पनि त्यस्तै छ । भारतबाट आएको पाउडर दूधले यहाँको ताजा दूध बिक्री नभएर फाल्नु परिरहेको छ । यसले एकातिर किसान दूध नबिकेर पीडित बनिरहेका छन् भने अर्कातिर उपभोक्ता पनि ठगिरहेका छन् ।
रह्यो कुरा पशुपन्छी क्षेत्रलाई चलायमान गराउने । यसका लागि सरकारले केही काम गर्नुपर्ने म देख्छु । पहिलो त भारतबाट आउने वस्तुको आयात रोक्नुपर्छ । त्यसैगरी किसानलाई वैज्ञानिक ढंगले अनुदानको व्यवस्था पनि गर्नुपर्छ । त्यसो त, अनुदान सरकारले नदिएको होइन, दिइरहेको छ । तर यसमा पाउनुपर्नेले नपाउने र नपाउनुपर्नेले पाइरहेको भन्ने कुरा आइरहेको छ । यसको अन्त्य हुनुपर्छ । उत्पादनको भोलुमअनुसार मासु र अण्डामा पनि अनुदान दिन सकिन्छ । यसो गर्दा किसान लाभान्वित भएर पेशाबाटै पलायन हुनुपर्ने थिएन ।
बजारको अवस्था अहिले डामाडोल छ । उत्पादन गर्नेले लागतभन्दा कममा बिक्री गर्नुपर्ने तर बिचौलियाले कुस्ता कमाउने अवस्था छ । उता उपभोक्ता पनि चर्को मूल्यको मारमा छन् । अण्डाकै कुरा गरौं । अहिले प्रति अण्डा उत्पादन गर्दा किसानको १२ रूपैयाँ खर्च हुने गरेको छ । तर उहाँहरू मात्रै १० रूपैयाँमा अण्डा बिक्री गर्न बाध्य हुनुहुन्छ । तर हामीले उसिनेको त्यही अण्डा होटलमा गएर खानुप¥यो भने २५–३० रूपैयाँ तिर्नुपर्छ । अझै राम्रो होटलमा गएर खाने हो भने एउटै अण्डाको परिकारका लागि १०० रूपैयाँसम्म तिर्नुपर्छ । उत्पादन गर्ने किसानले दुई पैसा कमाउन नसिकरहेका बेला उपभोक्ताले यति महँगो तिर्ने अवस्था बन्नु दुःखद् हो । पहिले साना किसान धेरै थिए । तर अहिले ती बच्ने अवस्था छैन । मेरो विचारमा बजार विस्तारै ठूला किसानकेन्द्रित हुन थालेजस्तो देखिएको छ ।
अहिले विभिन्न उद्योगले स्वदेशमै पशुपन्छी औषधि उत्पादन गरिरहेका छन् । बाहिरबाट आयात गरेर स्वदेशमा बिक्री गर्ने पनि उत्तिकै हुनुहुन्छ । यो क्षेत्रमा तत्काल कस्तो असर परिरहेको छ ?
जब किसान र पशुपालन हुन्छ, तब औषधि, दाना, चल्ला बिक्री हुन्छ । जब किसान छैन, तिनले पशुपालन गरिरहेका छैनन् भने स्वाभाविक रूपमा यी कुनैको पनि बजार हुँदैन । औषधिको पनि त्यस्तै हो । पशुपन्छी पालन संकुचित हुँदा यो क्षेत्र पनि सुस्ताएको छ ।
नेपाली औषधि उद्योग संकटमा परेका र यसको व्यवसायमा लागेकाहरू पलायन भएका घटनाचाहिँ कत्तिको छन् ?
धेरै व्यवसायीहरू लोनमा चल्नुभएको छ । लोनले केही समय उहाँहरू थामिनुभएको होला । सरकारले व्याजदरमा केही राहत दिए मात्र हो नभए आउँदा दिनमा उहाँहरूलाई समस्या पर्ने देखिन्छ । मेरो विचारमा केही समयपछि उद्योगहरू बन्द हुने क्रम सुरु हुनेछ । हाम्रो बजार करिब करिब १०० प्रतिशत नै उधारो हो । उधारो नदिईकन बजारमा बिक्री हुने अवस्था छैन । ५ देखि ७ वर्षअघि सम्म ६० दिन, ७० दिन, ९० दिनसम्म तोकेर उधारो दिने चलन थियो । तर अहिले यसको कुनै लेखाजोखा छैन । यति दिनमा रकम उठ्छ भन्ने कुनै अनुमान गर्न सकिँदैन ।
Language »