संकटमा पोल्ट्री : शिथिल हुँदा पनि छैन सरकारलाई चिन्ता

काठमाडौं ।पछिल्लो एक दशकमा व्यावसायिक कुखुरा पालन व्यवसायमा निकै आकर्षण बढेको थियो । युवा पुस्ताको यसप्रतिको आकर्षणको सुखद् परिणामका कारण देश पोल्ट्रीमा आत्मनिर्भर बनेको छ । तर कोभिड–१९ महामारीपछि देशमा देखापरेको आर्थिक मन्दीले समग्र पोल्ट्री क्षेत्र धर्मराउन थालेको छ । उत्पादित कुखुराले उचित मूल्य नपाउनेजस्ता समस्याका कारण कुखुरा पालक किसान पलायन हुँदै जाँदा पोल्ट्रीसँग सम्बन्धित दाना उद्योग, ह्याचरी उद्योग, पशुपन्छी औषधि उद्योग र यसमा आबद्ध व्यवसायी एक साथ संकटमा पर्न थालेका छन् ।

नेपाल पशुपन्छी औषधि व्यवसायी संघका पूर्वअध्यक्ष भूपेन्द्र गौतम बजारमा मासुलगायतका कुखुराजन्य वस्तुको खपत कम हुँदा किसान क्रमशः यो व्यवसायबाटै पलायन भएको र त्यसको असर यसमा निर्भर अन्य क्षेत्रले सामना गर्नु परिरहेको सुनाउँछन् ।

‘किसानले कुखुरा पाले मात्र दाना, ह्याचरी उद्योग र औषधि उद्योगको व्यापार बढ्ने हो । किसानले नै कुखुरा पाल्न छाडेपछि यसलाई लक्ष्य गरेर सञ्चालित सबै व्यवसाय शिथिल बन्न पुगेको छ,’ गौतमले भेट टाइम्स मासिकसँग भने ।

ह्याचरी एसोसिएसनका बलराम सञ्जेल कुल गार्हस्थ्य उत्पादनमा यथेष्ट योगदान गरेको पोल्ट्री क्षेत्र देशमा सिर्जित आर्थिक मन्दीको मारमा नराम्रोसँग परेको बताउँछन् । बजारले मन्दीको सामना गर्दा पोल्ट्री क्षेत्रका सबै खम्बाहरू धर्मराउन पुगेको उनको बुझाइ छ ।

नेपाल दाना उद्योग संघका कोषाध्यक्ष उमेश सापकोटा पनि पोल्ट्री क्षेत्र नराम्रोसँग आर्थिक मन्दीको मारमा परेको सुनाउँछन् । मन्दीले कारोबार ह्वात्तै घट्दा व्यवसायीहरू व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

धमाधम पलायन हुँदै किसान
राष्ट्रिय कृषि गणना, २०७८ अनुसार नेपालमा १७ लाख ९९ हजार कृषक परिवारले कुखुरा पालन गर्ने गरेका छन् । यी किसानले ४ करोड ५१ लाख १८ हजार कुखुरा पालेको तथ्यांक विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । विभागका अनुसार, देशभर पालिएका कुल कुखुरामध्ये ५५ प्रतिशत उन्नत गिरिराज, लेयर्स र ब्रोइलर जातका छन् । जबकि, ०६८ सालमा कुखुरा पालन गर्ने किसानको देशव्यापी संख्या १८ लाख ९ हजार थियो ।

नेपाल कुखुरापालक संघका अध्यक्ष पौडेलका अनुसार, नेपालमा कुखुरा पालन व्यवसाय अधिकतम फस्टाउँदा व्यावसायिक ढंगले सञ्चालन गर्नेको संख्या १५ हजार थियो । हप्तौं लगाएर पालेका कुखुराबाट लागतसमेत नउठ्ने भएपछि यीमध्ये ६० प्रतिशत मात्र यसमा टिकेको उनको भनाइ छ । कुखुरा पालनबाट पलायन हुनेमा अधिकांश साना किसान छन् । बारम्बार नोक्सानी व्यहोर्नु पर्दा कतिपय साना किसान आत्महत्या गर्ने अवस्थामा पुगेको उनले बताए । पौडेल यही अवस्था रहे मझौला किसान पनि टाट पल्टिने औंल्याउँछन् ।

‘विगतमा व्यावासयिक रूपमा कुखुरा पालन गरेकामध्ये ६० प्रतिशत मात्र यसमा टिकेका छन् । बाँकी पलायन भइसकेका छन्,’ कुखुरा पालन व्यवसायबाट पलायन हुनेको हिसाब सुनाउँदै पौडेलले भने, ‘पलायन हुने अधिकांश साना किसान छन् ।’

पोल्ट्रीको हब मानिने चितवनमा पलायन हुने कुखुरा पालक किसानको संख्या अन्यत्र भन्दा बढी रहेको उनले बताए । पौडेलका अनुसार ५० हजारबाट माथि कुखुरा पालन गर्ने ठूला कुखरा पालकले निरन्तरता दिए पनि अधिकांश साना किसान चितवनबाट पलायन भइसकेका छन् । उद्योगी र बिचौलिया मात्र मोटाउने स्थिति वर्षौंदेखि कायम रहिराखेकाले आफूले पनि वर्षौंदेखि गर्दै आएको कुखुरा पालनबाट हात झिकेको उनले प्रष्ट पारे ।

दाना उद्योगमा झुण्डिन थाले ताला
कुखुरा पालक किसान पेशाबाट पलायन हुँदै जाँदाको असर दाना उद्योगमा समेत चर्को रूपमा देखापर्न थालेको छ । नेपाल दाना संघका उमेश सापकोटा अपरेटिङ खर्च धान्न नसकेर दाना उद्योगहरू कतिपय बन्द भएको र सञ्चालन रहेका पनि टिक्न नसक्ने स्थिति बनेको सुनाउँछन् ।

सापकोटाका अनुसार अहिले नेपालमा १५० हाराहारी दाना उद्योग सञ्चालनमा छन् । तर यी कुनै पनि पूर्ण क्षमतामा सञ्चालित छैनन् । क्षमताअनुसार दाना उत्पादन गर्न नसक्दा दाना उद्योगहरू समस्यामा परेको र यही अवस्था कायम रहे अबको ६ महिनामा ३० प्रतिशत दाना उद्योग बन्द हुने प्रक्षेपण उनको छ ।

‘नेपालमा सञ्चालित १५० हाराहारी दाना उद्योगसँग दैनिक १० हजार मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता छ । तर अहिले क्षमताको ३० प्रतिशत पनि उत्पादन गरेको अवस्था छैन । यो सरदर आँकडा हो । कुनैमा १०–१५ प्रतिशत त कुनैमा ३० भन्दा माथि पनि उत्पादन भइरहेको छ,’ दाना उद्योगको अवस्थाबारे वर्णन गर्दे उनले भने, ‘क्षमताको शत प्रतिशत उत्पादन गर्दा होस् या कम गर्दा जनशक्तिलगायत अपरेटिङ खर्च पनि बराबर नै हुन्छ । यसले गर्दा उद्योगहरू घाटामा गइरहेका छन् ।’

दाना उद्योग संघले दाना उद्योगी घाटामा रहेको दाबी गरिरहँदा एक दाना उद्योगले भने मूल्य घटाएको छ । चितवनका व्यवसायीको आत्महत्या प्रकरणमा जोडिएका व्यवसायी प्रदीप रुंगँटाको दाना उद्योगले अन्यको मूल्यभन्दा कममा किसानलाई दाना उपलब्ध गराएको हो ।
‘दानाको कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय रूपमा बढ्दा संसारभर दानाको लागत मूल्य बढेको छ,’ उनले भने ।

नेपाल दाना उद्योग संघका सापकोटा कच्चा पदार्थको भाउ अकासिएकाले दानाको मूल्य नबढाइ धरै नभएको बताउँछन् । ‘अहिले दाना संघको बैठक बसेको छैन । यो बसेर भाउ बढाउने निर्णय गरिन्छ,’ उनले भने । रुंगँटाले फाइदाको गलत दाबी गरेर दानाको भाउ वृद्धि गरेको दाबी पनि सापकोटाले गरे । चितवनका व्यवसायीको आत्महत्या प्रकरणमा संघले कारबाही गरेकाले रुंगँटाले प्रतिशोध साँधेर साना दाना उद्योग समाप्त पार्न यस्तो दाउपेच रचेको उनको भनाइ छ ।

दाना उद्योगी संकटमा परेको उल्लेख गर्दै उनले यसको कच्चा पदार्थ आयातमा सहुलियतको माग गरे । पशु सेवा विभागबाट दानाको कच्चा पदार्थ आयातका लागि सिफारिस लिएकालाई एक प्रतिशत भन्सार दरमा कच्चा पदार्थ उपलब्ध गराउन मनासिव हुने उनले बताए । बैंकको ऋणका कारण व्यवसायी समस्यामा परेकाले तिनलाई जोगाउन उनले व्याजदरमा सहुलियतको अर्को माग पनि गरे ।

‘दाना उद्योगले आयात गर्ने कच्चा पदार्थको विद्यमान भन्सार दर उच्च छ । १३ प्रतिशत भ्याट र भन्सार लागत १० गरेर २३ प्रतिशत छ,’ सरकारबाट सहुलियतको अपेक्षा राख्दै उनले अगाडि थपे, ‘यसले दानाको लागत बढाएको मैले माथि नै उल्लेख गरिसकेँ । यस्ता कच्चा पदार्थ सम्बन्धित निकायको सिफारिसमा आयात गर्दा एक प्रतिशत मात्र भन्सार दर कायम गरिदिने हो भने त्यसले निकै राहत पुग्ने थियो । म तपाईंमार्फत यसतर्फ राज्य र यसका निकायको ध्यानाकर्षण गराउन पनि चाहन्छु ।’ अन्यथा अहिलेकै अवस्था कायम रहेमा स्थानीयस्तरमा सञ्चालित उद्योग बन्द हुने उनले बताए ।

अछूतो छैन औषधि उद्योग पनि
नेपालमा वार्षिक करोडौंको पशुपन्छी औषधि कारबोबार हुने गरेको छ । देशमा आर्थिक मन्दी भित्रिएसँगै पशुपन्छीको औषधि खपतमा पनि भारी गिरावट आएको छ । नेपाल पशुपन्छी औषधि व्यवसायी संघका पूर्वअध्यक्ष भूपेन्द्र गौतम पोल्ट्रीमा आएको मन्दी तथा पशुहरूमा देखिएका विभिन्न रोगका कारण पशुपन्छी औषधिको बजारमा ठूलो संकुचन आएको ठान्छन् ।

‘किसानले पशुपन्छी पालन गरे भने ती बिरामी हुन्छन् र उनीहरूले औषधि खुवाउँछन्,’ गौतम भन्छन्, ‘अहिले त किसानले पशुपन्छी पालन गर्न नै कम गरेका छन् । किसानले पशुपन्छी पालन कम गरेकाले पशुपन्छी औषधिको बजार विगतको भन्दा निकै खस्किएको छ ।’

एकातिर औषधिको कारोबार नै घटेको र अर्कातिर उधारोमा दिइएको औषधिको रकम भुक्तानी नहुँदा पशुपन्छी औषधि व्यवसायी अप्ठ्यारोमा पर्दै गएको उनले बताए ।

किसान बाँचे मात्र अन्य फस्टाउने भएकाले पशुपन्छीपालनको अवस्था सिर्जना गर्नुपर्ने उनले बताए । बजारीकरणलगायतका कारण पशुपन्छी पालनमा कमी आएको उल्लेख गर्दै उनले यसलाई व्यवस्थित गर्नुपर्ने औंल्याए । खासगरी कुखुराको मासु, अण्डा तथा चल्ला भारतबाट तस्करी हुने गरेकाले त्यसलाई रोक्नुपर्ने उनले बताए । किसानलाई दिइने अनुदान किसान मैत्री नभएकाले यसलाई सुधार गर्न पनि उनले सुझाए ।

ह्याचरीको अवस्था पनि खराब बन्दै
कोभिड–१९ महामारी आउनुभन्दा पहिले सरकारी निकायमा दर्ता ह्याचरी उद्योगको संख्या ३४६ थियो । तर यी उद्योगमध्ये अहिले करिब १५० मात्र सञ्चालनमा रहेको ह्याचरी एसोसिएसनका बलराम सञ्जेल बताउँछन् ।

कुखुराको चल्लाको मागमा भारी गिरावट आउँदा यस्तो अवस्था बनेको उनले बताए । सञ्जेलका अनुसार कोभिड–१९ महामारीको पेरिफेरिमा नेपालमा हप्ताकै ३५ लाख हाराहारीमा चल्लाको माग हुने गरेकोमा अहिले १७–१८ लाखमा झरेको छ । करिब पाँच लाख जनशक्तिलाई यो क्षेत्रले प्रत्यक्ष÷अप्रत्यक्ष रोजगारी दिएकोमा त्यसमा समेत संकुचन आएको उनको भनाइ ।

‘कोभिड–१९ महामारीको पेरिफेरिमा नेपालमा हप्ताकै हाराहारी ३५ लाख चल्लाको बजार थियो । तर यही बजारमा अहिले सातामा १७–१८ लाख चल्ला पनि बिक्री भएको छैन,’ बजार अवस्थाबारे जानकारी दिँदै सञ्जेलले भने ।

बजारमा संकुचन आएकाले २५० अर्बभन्दा बढीको लगानी रहेको ह्याचरी उद्योग सकसमा पर्दै गएको उनले बताए । यति ठूलो संकट व्यवसायीले भोगिरहँदा पनि राज्यका निकायबाट यसको समाधानमा ठोस पहल नभएको उनको गुनासो छ ।

‘ह्याचरी उद्योगमा झण्डै २५० अर्बभन्दा माथिको लगानी छ । कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा यसको ४.५ प्रतिशतको योगदान छ । करिब ५ लाख मानिसलाई यसले रोजगारी दिएको थियो । व्यवसायले लय पक्डिएको हुनाले त्यहीअनुसार उद्योगमा लगानी थपियो, पूर्वाधारहरू बने, रोजगारीको अवस्था सिर्जना भयो । आर्थिक चहलपहल विशाल भयो । परिणामतः मुलुक कुखुराको मासु र अण्डामा आत्मनिर्भर बन्यो,’ उनले भने, ‘तर अहिले देशमा आर्थिक मन्दी हुँदा ह्याचरी उद्योग अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेका छन् । बैंकको ऋणले ह्याचरी उद्योगी समस्यामा परेकाले व्याजदरमा सहुलियत दिन उनले माग गरे । ‘व्यवसायी बैंकको व्यादरका कारण मर्कामा छन् । व्याजदरमा सहुलियत दिने हो भने उनीहरू थोरै भए पनि लाभान्वित हुने थिए,’ उनले भने ।

पोषकको मूल्य घट्यो, रुंगँटा भन्छन्– अरूले पनि घटाउनु पर्छ
अन्य दाना उद्योगीले कच्चा पदार्थको भाउ बढेको भन्दै दानाको मूल्य बढाउने तयारी गरिरहेका बेला पोषक प्लेट दानाको मूल्य भने घटाइएको छ । उद्योगले गत असोज १४ देखि लागू हुने गरी सात प्रकारका दानाको मूल्य घटाएको हो । पोषकले बिपीएस, बी१, बी२, बी३ र एल१ मा प्रति केजी रु. ३ ले र एल२ र एल३ मा रु. ५ ले मूल्य घटाएको हो ।

रुंगँटाले दानाको मूल्य घटाएर किसानलाई उपलब्ध गराएपछि अन्य दाना उद्योगीहरूले उनको आलोचना गरेका छन् । चितवनका एक व्यवसायीको आत्महत्या प्रकरणमा नेपाल दाना उद्योग संघले कारबाही गरेपछि त्यसको प्रतिशोध साँध्न रुंगाँटाले नोक्सानी खाईखाई मूल्य घटाएको अन्य दाना उद्योगीको आरोप छ । नेपाल दाना उद्योग संघका उपाध्यक्ष उमेश सापकोटाले व्यवसायीलाई समाप्त पार्ने मक्सदका साथ रुंगाँटाले घाटा व्यहोरेर मूल्य घटाए पनि त्यसले दाना उद्योगीलाई कुनै प्रभाव नपर्ने टिप्पणी गरे ।

तर रुंगँटाले भेट टाइम्स मासिकसँग सापकोटाले लगाएको आरोपको खण्डन गरे । फाइदा भएकै कारण दानाको मूल्य घटाएको उल्लेख गर्दै उनले अन्य दाना उद्योगीले पनि अब मूल्य घटाएर किसानलाई दाना उपलब्ध गराउनुपर्ने बताए ।

‘फाइदा भएरै मैले दानाको मूल्य घटाएको हुँ,’ उनले अगाडि थपे, ‘अन्य दाना उद्योगीले पनि धेरै फाइदा खानुभन्दा मूल्य घटाएर कम फाइदा लिनु राम्रो हुन्छ ।’