पशुपन्छी औषधि व्यवसायी संघ, काभ्रे पुर्व शाखामा नयाँ नेतृत्व, अध्यक्षमा श्रेष्ठ, सचिवमा मानन्धर

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, काभ्रे पुर्व शाखाले नयाँ नेतृत्व पाएको छ । काभ्रेको बनेपामा बिहीबार सम्पन्न शाखाको चौथो अधिवेशन तथा छैठौं वार्षिक साधारणसभाले टंककुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले बेलबहादुर महत, अमृत थापा र हरिकृष्ण मानन्धरलाई उपाध्यक्षको जिम्मेवारी दिएको छ । राजेश मानन्धर सचिवमा चयन हुँदा विजय अधिकारी र पवन केसीले क्रमशः कोषाध्यक्ष र सहसचिवको भूमिका पाएका छन् ।

त्यसैगरी, शाखामा पाँच सदस्यसमेत चयन भएका छन् । सदस्यहरूमा माया श्रेष्ठ, सुदीप धिताल, सुमन चौलागाई, भीम न्यौपाने र बासुकुमार थापा छन् ।

अधिवेशन कार्यक्रममा  प्रमुख अथिति तथा नेपाल पशुपन्छी औषधि व्यावसायी संघका केन्द्रीय अध्यक्ष पुर्णचन्द्र सापकोटाले आफ्नो कार्यकालको अन्तिम समय आएको र बाकी रहेको २० दिनलाई पनी उपलब्धिमूलक बनाउन लागिरहेको बताए । उनले व्यवसायमा रहेको टड्कारो समस्या ९ वर्ष देखी रोकिएको ओरिएन्टेसन तालिमको व्यवस्था प्रदेश कार्यसमिति र केन्द्रिय कार्यासमितिको संयुक्त पहल सफल भएको भन्दै यसको जस म आफूमात्र लिने पक्षमा नरहेको बताए । उनले केन्द्रिय महाधिवेशन सफल पार्न सबैमा आग्रह गरे।

काभ्रे पूर्व शाखाका निवर्तमान भएका अध्यक्ष यज्ञराज पन्तले व्यवसायमा रहेका विभिन्न समस्या समाधान गर्दा सरसल्लाह र समस्याको पहिचानका आधारमा गर्न केन्द्रिय कमिटीको ध्यानाकर्षण गराए ।

कार्यक्रममा संस्थापक महासचिव मधुसुदन गुरागाँईले संघले प्रविधिमैत्री बनाउँदै संस्थाका विधान,कार्यविधीहरु लगाएत वेभसाईटमा राख्ने र सूचना अधिकारी तोकेर संस्थाका बारेरमा सार्वजनिक जानकारी दिने व्यवस्था कानुनमै भएकोले सो व्यवस्थापन गर्नु पर्ने  सल्लाह दिएका थिए ।यस्तै पूर्व अध्यक्षहरु कम्पोज  बडाल,हेमराज बडाल ,नवराज शर्मा तिमिल्सेना, भुपेन्द्र गौतमको समेत उपस्थिति थियो ।

अधिवेशन कार्यक्रममा बोल्दै नेपाल पशुपन्छी औषधि व्यवसायी संघको केन्द्रीय समितिका अध्यक्ष दाबेदार रितेश रिमालले पहिलेदेखि नै नेतृत्वका लागि तयारीमा जुटेको उल्लेख गर्दै भित्तामा नाम टाँस्न मात्र अध्यक्ष बन्न नलागेको बताए । संघमा रहेर काम गरेको लामो अनुभव भएको तथा देशभरका पशुपन्छी व्यवसायीसँग भिजेको समेत भएकाले अध्यक्षमा विजयी गराउन उनले आग्रह गरे ।

अध्यक्षकी अर्की प्रत्यासी धनकुमारी अधिकारी पाण्डेले ३२ वर्षदेखि पशुपन्छी औषधि व्यवसायमा लागेको, २० वर्ष सरकारी सेवा गरेको तथा महिलाका रुपमा यति लामो समय व्यवसाय गरेको पहिलो व्यक्ति भएकाले अध्यक्षमा आफूले अवसर पाउन उपयुक्त हुने बताइन् ।

संस्थाप्रतिको मायाले भवन

फरक प्रसंगमा धनकुमारीले संस्थाप्रतिको मायाले आफूले काठमाडौंमा घडेरी दिन लागेको बताइन् । संस्थाको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै केही समयअघि धनकुमारीले काठमाडौंको वनस्थलीमा रहेको ४.५ आना जग्गा संस्थाको भवन निर्माणका लागि उपलब्ध गराउने बताएकी थिइन् । धनकुमारीको यस्तो घोषणापछि पशुपन्छी औषधि व्यवसायी तरंगित छन् ।

धनकुमारीको घडेरी दिने घोषणामाथि टिप्पणी गर्दै पूर्वअध्यक्ष हेमराज बडालले घरभन्दा व्यवसायीको समस्या ठूलो भएकाले त्यतातिर ध्यान दिनुपर्ने बताए । ‘अहिले संघलाई घरभन्दा पनि व्यवसायीको समस्या ठूलो हो,’ उनले भने, ‘घर र घडेरी त हामी आफैं पनि बनाउन सक्छौं ।’