Home पशु र मानव हिकास्टका विद्यार्थीको माग पूरा भएन, रिले अनसन बस्ने घोषणा
काठमाडौं । शैक्षिक भ्रमणका लागि शुल्क असुलेर नलगिएको भन्दै आन्दोलनरत हिकास्ट कलेजका विद्यार्थीले रिले अनसन गर्ने घोषणा गरेका छन् ।
यसअघि तालाबन्दी गरेर पठनपाठन प्रभावित पारेका विद्यार्थीले थप संघर्षका कार्यक्रम सार्वजनिक गर्दै रिले अनसन बस्ने घोषणा गरेका हुन् ।
संयुक्त विद्यार्थीहरूले बुधबार विज्ञप्ति जारी गर्दै कलेज प्रशासनसँग बिभिएससी नवौं र बिएससी एजी सातौं सेमेस्टरका विद्यार्थीले मंगलबार गरेको छलफल निष्कर्षविहीन बनेको, कलेज प्रशासन मागबारे गम्भीर नरहेकाले थप संघर्षको कार्यक्रम घोषणा गरेको जनाएका छन् । विज्ञप्तिअनुसार बुधबारदेखि रिले अनसन बस्ने कार्यक्रम घोषणा हुँदैछ ।
हिकास्टमा अध्ययनरत विद्यार्थीहरूले भ्रमण शुल्क असुलेर विभिन्न वहानामा विगत ३ वर्षदेखि नलगिएको आरोप लगाएका छन् । संयुक्त विद्यार्थीका सागर घिमिरेका अनुसार, एग्रिकल्चर र भेटेरिनरी संकायका विद्यार्थीसँग शैक्षिक भ्रमण शुल्कसहित कलेज प्रशासनले क्रमशः १० लाख ८३ हजार रूपैयाँ र १५ लाख ४५ हजार रूपैयाँ असुल्दै आएको छ । तर कोरोनाभाइरस महामारीयता विद्यार्थीलाई शैक्षिक भ्रमणमा भने लगिएको छैन । एउटा व्याजमा ७५ लाखदेखि ८० लाखसम्म फाइदा हुने भएकाले कलेज प्रशासनले शैक्षिक भ्रमणमा नलैजान अनेक बहानाबाजी गर्दै आइरहेको र यो मनपरीविरुद्ध संघर्षमा उत्रिएको घिमिरेले बताए ।
कलेज प्रशासनले भने विद्यार्थीको माग पूरा गर्ने तयारी अघि बढाइरहँदा आचारसंहिताविपरीत विद्यार्थीले गतिविधि गरेको आरोप लगाएको छ । यसबारे बुझ्न कलेजका प्रिन्सिपल श्रीराम न्यौपानेसँग सम्पर्क गर्दा उनले यसबारे पछि प्रतिक्रिया दिने भन्दै कुरा गर्न चाहेनन् ।
Language »