२ महिनामा कामपाले गर्यो ४४६९ कुकुर–बिरालाको बन्ध्याकरण

घरपालुवा कुकुर–बिरालोमा अब अब अनिवार्य माइक्रो चिप्स जडान गर्नुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा)ले ३ हजार ४६९ सामुदायिक कुकुर तथा बिरालाको बन्ध्याकरण गरेको छ । आफ्नो क्षेत्रभित्रका सामुदायिक कुकुर तथा बिरालाको संख्या घटाउन ९ कम्पनी तथा साझेदार संस्थासँगको सहकार्यमा नौ वटा वडामा अभियान थालेको कामपाले दुई महिनाको बीचमा ३ हजार ४६९ कुकुर–बिरालाको बन्ध्याकरण गरेको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले दुई महिनाको बीचमा ३ हजार ४६९ कुकुर–बिरालाको बन्ध्याकरण तथा ५ हजार ३२० लाई रेबिजविरुद्धको खोप दिइएको जनाएका छन् । बन्ध्याकरण गरिएका कुकुर–बिरालालाई कानमा सानो चिह्न लगाएर छाडिएको छ ।

मंसिर मसान्तभित्र बाँकी अन्य सामुदायिक कुकुर तथा बिरालाको पनि बन्ध्याकरण गरिने मेयर शाहले जानकारी दिए । मेयर शाहका अनुसार कामपा क्षेत्रभित्र सोचेभन्दा कम कुकुर–बिरालो भेटिएका छन् । टोलमा भेटिएका त्यस्ता कुकुर–बिरालालाई वडाका प्रतिनिथिको रोहवरमा अभिलेखन गरेर पशुकल्याण तथा पशु अधिकारलाई आत्मसात गर्दै समाउने, बन्ध्याकरणका लागि सेल्टरमा लैजाने तथा उपचारपछि पुनःस्थापना गर्ने कार्य भइरहेको उनले बताए ।

सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर भएकालाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने लक्ष्य कामपाले राखेको मेयर शाहले प्रष्ट पारेका छन् ।

अहिले अघि बढाइएको अभियानलाई निरन्तरता दिने उल्लेख गर्दै उनले यसमा सहयोग गर्न सबैमा अनुरोध गरेका छन् । कानमा सानो चिह्न नभएका कुकुर तथा बिरालो भेटिएको अवस्थामा कल सेन्टरको निःशुल्क टेलिफोन नम्बर ११८० मा सम्पर्क गर्न महानगरपालिकाले सबैमा आग्रह गरेको छ ।

घर पालुवा जनावरको हकमा भने घर धनी आफैंले बन्ध्याकरण तथा खोप दिने व्यवस्था मिलाउनु पनछ ।

कामपाले घरपालुवा कुकुर तथा बिरालोमा माइक्रो चिप्स जडान प्रक्रिया अघि बढाएको पनि मेयर शाहले जनाएका छन् । शाहका अनुसार, त्यसपछि घर पालुवा जनावर पाल्ने सबै घरधनीले अनिवार्य रूपमा उक्त चिप्स राख्नुपर्नेछ ।

पशु चौपाया ओसारपसारका लागि एम्बुलेन्स र मृत जनावर व्यवस्थापनका लागि इन्सिनिरेटर खरिद प्रक्रिया पनि कामपाले अघि बढाएको छ । यसबाट पशु कल्याण तथा सहज वातावरणमा बाँच्ने पशु अधिकारमा नयाँ आयाम थपिने मेयर शाहको विश्वास छ ।

कामपाले यसै वर्ष कुकुर, बिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि जारी गरेको थियो । सोही कार्यविधिअनुसार उसले कुकुर तथा बिरालाको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।