Home पशु र मानव ३४ वर्षमा नेभ्ला, विभिन्न कार्यक्रम गरेर मनाइयो स्थापना दिवस
काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा सेवारत प्राविधिकहरूको छाता संगठन नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) ३४ वर्षमा प्रवेश गरेको छ । २०४७ साल मंसिर ९ गते विधिवत् रूपमा स्थापना भएको नेभ्ला शनिबारदेखि ३४ वर्ष लागेको हो ।
नेभ्लाका अध्यक्ष राम प्रसाद मेहताले दिवसका अवसरमा एक सन्देश जारी गर्दै कृषक, उद्यमी, व्यवसायी, प्राविधिक जनशक्तिलगायत सम्पूर्ण सरोकारवालामा शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष मेहताले सन्देशमार्फत झण्डै साढे तीन दशक लामो इतिहास बोकेको नेभ्लाले गरेका कामहरूको स्मरणसमेत गरेका छन् । उनका अनुसार स्थापनापश्चात नेभ्लाले सशक्त रूपमा पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रको रूपान्तरणका लागि सहुलियत कर्जा, कृषि तथा पशु बीमा, कृषकको पहुँचमा प्राविधिक जनशक्तिको व्यवस्थापन, सरकारी र निजी क्षेत्रमा सेवारत जनशक्तिको क्षमता अभिवृद्धि कार्यक्रम, पशु औषधि पसल दर्तासम्बन्धी तालिम, स्थानीय तहमा दरबन्दी वृद्धि, भूकम्प, बाढीपहिरो, कोरोनाभाइरस महामारीजस्ता विपद् व्यवस्थापनका लागि राहत सहयोग, पशुपालक कृषकका लागि निःशुल्क पशु स्वास्थ्य शिविरलगायत विभिन्न कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।
पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा सेवारत प्राविधिक जनशक्तिहरूलाई दर्ता, नियमन र परिचालन गर्न पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ जारी गरी सोको कार्यान्वयन अवस्था सिर्जना हुनुमा पनि नेभ्लाकै २५ वर्ष लामो संघर्षको योगदान रहेको उनको भनाइ छ । नेभ्लाले यो कार्यमा सहयोग गर्ने सबैमा आभारसमेत व्यक्त गरेको छ ।
रोजगारी अभावमा युवा पलायन, उत्पादन क्षेत्रको निराशाजनक अवस्था, अत्यधिक व्यापार घाटा, उत्पादन क्षेत्रमा सरकारको प्राथमिकता, जनशक्ति अभावले कृषिक्षेत्र कमजोर भई जग्गा बाँझो हुन पुगेको र व्यवस्थित बजार अभावले देशको आर्थिक अवस्था भयावह बन्न पुगेको निचोड पनि नेभ्लाले निकालेको छ । यसले देशको सामाजिक संरचनामा नै असर परेको उल्लेख गर्दै अध्यक्ष मेहताले उत्पादन क्षेत्रलाई बलियो बनाएर त्यसमा युवालाई जोड्न सरकारसमक्ष माग गरेका छन् ।
‘युवा जनशक्तिह विदेशिने अवस्था र बाध्यता, उत्पादन क्षेत्रको निराशाजनक अवस्था, अत्यधिक व्यापार घाटा, उत्पादन क्षेत्रमा सरकारको लगानी, कमजोर प्राथमिकता, जनशक्ति अभावले कृषिक्षेत्र कमजोर भई जग्गा बाँझो, कृषकले उत्पादन गरेको सामग्रीहरूको बजार व्यवस्थापन अस्तव्यस्त जस्ता कारणले देशको आर्थिक अवस्था भयावह बन्दै गएको छ,’ अध्यक्ष मेहताले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।
देशमा अहिले देखिएको आर्थिक संकटको उपयुक्त व्यवस्थापन र आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि ऊर्जावान् युवाहरूलाई देशमा परिचालन गरेर उत्पाद क्षेत्रलाई बलियो बनाई कृषि तथा पशु सेवा क्षेत्रमा ठोस योजना र प्राथमिकताका साथ अगाडि बढेमा त्यो देश रूपान्तरणमा कोसेढुंगा बन्ने विश्वास पनि नेभ्लाले प्रकट गरेको छ ।
यसैबीच, नेभ्लाले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्यो । मानसिक अस्पताल लगनखेलमा शनिबार फलफूल वितरण कार्यक्रम गरिएको छ ।
Language »