पाँचखालमा खुल्यो हिमालय भेटेरिनरी क्लिनिकको सेवा केन्द्र

काठमाडौं । काभ्रेको पाँचखालमा हिमालय भेटेरिनरी क्लिनिकको सेवा केन्द्र सञ्चालनमा आएको छ । पोल्ट्रीसँग सम्बन्धित औषधिको परामर्श, भ्याक्सिनेसन, पोस्ट्मार्टमलगायत सेवा प्रवाह गर्ने गरी हिमालयले सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

यसअघि पाँचखाल क्षेत्रका किसान स–साना समस्यामा बनेपा धाउनुपर्ने बाध्यता थियो । किसानले झेलेको असुविधा मध्यनजर गरेर चिकित्सकसहितको सेवा प्रारम्भ गरिएको हिमालय भेटेरिनरी क्लिनिकका सञ्चालक डा. हरिकृष्ण थापाले जानकारी दिए ।

किसानलाई सहायता गर्ने उद्देश्यले सञ्चालित केन्द्रले सिन्धुपाल्चोकको सबै क्षेत्र, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोकको कोशीपारि, मण्डनदेउपुर, दोलालघाट, पलाञ्चोक, तेमाल क्षेत्रका किसान किसानलाई सेवा प्रदान गर्ने उद्देश्य राखेको छ ।

सञ्चालक डा. थापाका अनुसार, केन्द्रबाट पोल्ट्रीसँग सम्बन्धित सबैखाले सेवा–सुविधा प्रदान हुनेछ ।

हिमालय भेटेरिनरी क्लिनिक एण्ड पोल्टी सर्भिसेजका सञ्चालक लक्ष्मण दुलालले पाँचखालको पोल्ट्रीको सम्भावना र आवश्यकतालाई केन्द्रमा राखेर सेवा केन्द्र विस्तार गरेको बताए ।