नेपालमा गाई मुख्यतया दूध उत्पादनको लागि पालिन्छ । जात र स्याहारसुसार जस्तैः आहार, स्वास्थ्य स्थिति आदिले यसको दूध उत्पादन क्षमतामा असर पार्दछ । उपयुक्त घाँस, दाना र पानीको व्यवस्था गरेमा उन्नत जातका पशुबाट राम्रो उत्पादनको आशा गर्न सकिन्छ । स्थानीय जातका पशुमा पनि स्याहारसम्भार एवं अन्य व्यवस्थापन राम्ररी गरिएमा राम्रो उत्पादन लिन सकिन्छ । यद्यपि, स्थानीय जातका पशुहरूमा वंशाणुगत रूपमै तिनको उत्पादन क्षमताको सीमा कम रहने गर्दछ । उन्नत जातका गाईले स्थानीय जातको तुलनामा धेरै गुणा बढी दूध दिन्छन् र बाच्छाबाच्छी पनि चाँडै हुर्कन्छन् ।
फलस्वरूप कम उमेरमा नै बाली खोज्ने हुनाले छिट्टै ब्याएर चाँडै दूध दिन थाल्छन् । उन्नत जातका गाईको २ बेतबीचको अवधि कम हुने हुनाले छिटो–छिटो व्याउँछन् । तसर्थ, उन्नत जातको गाई पालेमा बढी फाइदा लिन सकिन्छ ।
नेपालमा पालन गरिएका गाईभैंसीमा अधिकांश स्थानीय जातका छन् । उन्नत जातका गाईभैंसीको तुलनामा यस्ता गाईभैंसीबाट निकै कम दूध उत्पादन हुन्छ । त्यसकारण दूध उत्पादन बढाउन उन्नत नश्लको पशु, उपयुक्त आहारा र स्वास्थ्य व्यवस्थापन तथा बजारीकरणमा ध्यान दिनुपर्छ । हरियो घाँसमा आधारित पशुपालन गरी उत्पादन लागत घटाउने हो भने गाईपालनबाट उचित फाइदा लिन सकिन्छ ।
घरपालुवा पशुहरूमध्ये गाई सर्वाधिक प्रचलित जनावर हो । गाई पाल्ने प्रचलन नेपालमा मात्र नभएर विश्वभरि नै छ । नेपालमा पनि परापूर्वकालदेखि नै गाई पालन हुँदै आएको देखिन्छ । हामीकहाँ खासगरी दूधका लागि गाई पालिन्छ । नेपालमा प्रचलनमा रहेका गाईपालन गर्ने तरिकाहरू निम्नानुसार छन् ।
क. चराएर पाल्ने
जमिन धेरै भएको ठाउँमा पशु वस्तुहरू चराएर पाल्ने तरिका प्रचलित छ । यस तरिकामा पशुवस्तुहरू चराउने प्रयोजनका लागि चरन खर्कहरू छुट्टयाइ व्यवस्थित तरिकाले चराइन्छ । यस्ता चरन खर्कहरूमा उन्नत घाँसहरू लगाएर वा आफैं उम्रेका घाँस र वनस्पतिहरूलाई जोगाएर राखिन्छ र वर्षको निश्चित महिनामा तोकेको खर्कमा चराइन्छ । यस्ता चरन खर्कहरू व्यक्तिगत वा समुदायविशेषको सामूहिक पनि हुन सक्दछन् । यस तरिकाको पशुपालन हाम्रो देशको उच्च पहाडी भागहरूमा बढी मात्रामा प्रचलित छ । खासगरी चौरीपालनमा यो अभ्यास बढी पाइन्छ । त्यसैगरी मध्य पहाडी भागमा पनि पशु चराउने गरिन्छ । यस प्रकारको पशुपालन व्यवयायमा पशुहरू पूर्ण रूपमा चरनमा नै निर्भर रहने गर्दछन् । कृषकको तर्फबाट नियमित रूपमा नुन दिने चलन छ ।
ख. चराउनुका साथै थप आहारा पनि दिएर पाल्ने
यो तरिकाको पशुपालनमा पशुहरूलाई चराउनुका साथै थप केही कृषिजन्य उप पदार्थहरू मिसाएर तयार गरेको दाना र डालेघाँसहरू पनि दिइन्छ । यो तरिकाको व्यवसाय हाम्रो देशको मध्य पहाडी भाग र तराई क्षेत्रमा बढी प्रचलित छ । यसअन्तर्गत पशुलाई बिहान र बेलुका दूध दुहुने समयमा गोठमा बाँधिन्छ र दिउँसो चरनमा पठाइन्छ । पशुलाई प्रायःजसो खुला चौर तथा वन जंगलको छेउछाउमा चराइन्छ।
ग. बँधुवा गरी पाल्ने
व्यावसायिक रूपले पशुपालन गर्दा यो तरिका अपनाइन्छ । यसमा पशुहरूलाई गोठमा बाँधेर राखिन्छ र तिनलाई चाहिने आवश्यक घाँस, दानापानीलगायत सबै सेवा बाँधेकै स्थानमा दिइन्छ । यसरी पशुपालन गर्न थोरै जमिन भए पनि हुन्छ । तर कृषकमा पशुपालन व्यवस्थापनसम्बन्धी प्राविधिक ज्ञानको राम्रो जानकारी हुन आवश्यक छ ।
खोरको व्यवस्थापन
गाईपालनबाट पूर्ण रूपमा उत्पादन लिन हर मौसममा आराम हुने किसिमको वासस्थान (गोठ) हुनुर्पछ । राम्रो तरिकाले बनाएको गोठमा गाई पाल्दा सन्तोषजनक उत्पादन लिन सकिने र रोग लाग्ने सम्भावना कम हुन्छ । लागिहाले पनि सहजै नियन्त्रण गर्न सकिन्छ । पशुका उमेरअनुसारका छुट्टाछुट्टै गोठहरू हुनु अति आवश्यक छ । गोठ पानी नजम्ने, निकासको राम्रो व्यवस्था भएको, चिसो सोस्ने किसिमको माटो भएको, जमिन केही उचो र मानव बस्तीभन्दा अलि पर हुनु उपयुक्त हुन्छ । गोठ रेखदेख गर्न पनि सजिलो हुने र बस्तीमा प्रदूषणको समस्या पनि नहुने किसिमको स्थान छनोट गर्नुपर्दछ । गोठको भुइँ सकभर सिमेन्ट र कंक्रिटबाट बनाइ हल्का किसिमले स्लोप (भिरालो) राखिएमा सफा गर्न सजिलो हुन्छ । गोठ बनाउँदा सकभर सस्तो स्थानीय सामग्रीको प्रयोग हुने गरी र मर्मत खर्च पनि सस्तो पर्ने तथा गोठ स्वस्थकर हुनुको साथै हिंस्रक जनावरहरू पस्न नसक्ने किसिमको हुनुपर्छ । गोठ निर्माण गर्दा यी कुरामा ध्यान दिनुपर्छ ।
गाईलाई दूध दुहुने र उपचार गर्ने समयमा बाहेक अन्य समयमा नबाँधीकन खुल्ला रूपमा राखिन्छ । खुल्ला क्षेत्रमा जाडो, गर्मी वा वर्षादको पानीबाट जोगाउन टहरो बनाएको हुन्छ । पशुलाई पानी पिउन र घाँस खान क्रमशः नाली र डुँडको व्यवस्था गर्नुपर्छ । पशुलाई दूध दुहुने घरमा लगेर दूध दुहिन्छ र त्यस बेलामा दाना दिइन्छ । यसरी पशुलाई नबाँधीकन राख्दा तिनीहरू स्वतन्त्र हुन्छन् र आराम महसुस गर्दछन।
फाइदा
-
यो तरिकाले पशु पाल्दा निर्माण खर्च कम लाग्छ ।
-
पशुले हिँड्डुल गर्दा प्रशस्त कसरत गर्न पाउँछन् र आराम महसुस गर्दछन् ।
-
पशुलाई सफा राख्न सकिन्छ ।
-
अलग घरमा दूध दुहुने भएकाले सफा दूध उत्पादन हन्छ ।
-
भविष्यमा फार्मको आकार बढाउन सकिन्छ ।
-
ज्यामी खर्च कम लाग्छ ।
बेफाइदा
-
बढी जमिनको आवश्यकता पर्छ ।
-
आहारा खाने बेलामा प्रतिस्पर्धा हुन्छ ।
-
चिसो र बढी पानी पर्ने यो तरिका सुहाउँदैन ।
-
हरेक गाई लाई हेरविचार पु¥याउन सकिदैन ।
-
दूध दुनको लागि अलग घर चाहिन्छ ।
-
बथानमा पशुहरूमा रोग फैलने सम्भावना बढी हुन्छ ।
गोठको निर्माण
१. गोठको जग र दिवाल
नरम माटो भएको स्थानमा अलि गहिरो र कडा माटो भएको स्थानमा अलि कम गहिराइ भए हुन्छ । जमिनमाथि ४ फिट माथिसम्म पानीले पखाल्न सहज हुने गरी चिल्लो पार्नुपर्छ । गोठको कुनाको भागलाई पुरेर गोलो पार्नु पर्छ । यसो गर्दा कुनामा धुलो जम्मा हुन पाउँदैन । साथै दिवालमा कोण परेको धारिलो भागलाई गोलो पारेमा चोटपटक लाग्न पाउँदैन ।
२. गाईको गोठको भुइँ क्षेत्र निर्माण
कडा, पानी नसोस्ने र सफा गर्न सजिलो हुने ढंगबाट निर्माण गर्नुपर्दछ । त्यसका लागि सिमेन्ट, कंक्रिट ढलान गरेर वा इँटा छपाएर वा ढुंगा छापेर गोठको भुइँ निर्माण गर्न सकिन्छ । सकेसम्म खुला क्षेत्र, नसके पनि बन्द क्षेत्र अनिवार्य सिमेन्टेड हुनु पर्दछ । यसरी भुइँ क्षेत्रको निर्माण गर्दा भुइँ नचिप्लिने र खस्रो खालको बनाउनु पर्दछ । गोठको भुइँ सामान्यतया जमिनदेखि ४० से.मि. जति उचो हुनु पर्दछ । भुइँ क्षेत्रको निकासका लागि सतह हल्का भिरालो बनाउनु पर्दछ । जसले गर्दा सफा गरेको पानी र पिसाब बगेर जान्छ ।
३. पर्खाल क्षेत्र
गोठको बन्द तथा खुला क्षेत्रको पर्खाल एकदमै मजबुत अर्थात् बलियो हुनु पर्दछ । पर्खाल बनाउँदा इँटा–ढुंगाबाट वा १०–१२ से.मि. बाक्लो रेनेफोर्स सिमेन्ट कंक्रिट पर्खाल पनि बनाउन सकिन्छ । यो नै सर्वोत्तम पर्खाल हुन्छ ।
भिरालो छाना भएको गोठमा बन्द क्षेत्रको पर्खालको उचाइ २.२५ मिटर र खुला क्षेत्रलाई १.५ मिटर अग्लो पर्खाल वा (galvanized corrugated Iron) ले घेरेको हुन पर्दछ ।
४. गोठको चौडाइ
-
एकोहोरो लाइनमा राख्दा ३.८० देखि ४.२५ मिटर
-
दोहोरो लाइनमा राख्दा ७.९ देखि ८.७ मिटर