किसानको ढाड सेक्न सरकारले भारतबाट खसीबोका आयात गरिरहेको छ

बिनापरीक्षण खसीबोका भित्रिँदा जोखिम बढे पनि अनदेखा गरिएको छ

काठमाडौं । दशैंमा मासुको खपत अरू बेलाभन्दा ज्यादा हुन्छ । खसीबोकालगायत पशु चौपाया बिक्रीका लागि खाद्य तथा व्यापार कम्पनीसँगै निजी क्षेत्रले पनि काम गरिरहेका छन् ।

नेपाल चौपाया खरिद बिक्री तथा कृषि फार्म ग्रुप प्रालिका अध्यक्ष दीपक थापा विगत वर्षको तुलनामा यस वर्ष मासुको खपत घट्ने आकलन सुनाउँछन् । स्वदेशी उत्पादनले खसीबोकाको मासुको माग धान्ने स्थिति रहे पनि भारतबाट आयात गरेर किसान तथा व्यापारीको ढाड सेक्ने काम गरिएको उनको गुनासो छ । दशैंमा मासुको बजारको अवस्थालगायत विषयमा थापासँग भेट टाइम्सले गरेको केही सवाल :

यस वर्ष दशैंका उपभोक्ताका लागि खसी, बोकालगायत चौपायको व्यवस्थापन कसरी हुँदैछ ?
मासुका लागि बिक्री हुने पशु चौपायाको व्यवस्थापन मूलतः राज्यको दायित्व हो । तथापि, संघले पनि जिम्मेवारीबोध गरेर यस वर्षको दशैंमा उपभोक्तालाई स्वस्थ र स्वच्छ पशु चौपाया उपलब्ध गराउन जुटेको छ । बाहिरबाट व्यापारीले आ–आफ्नो ढंगले पशु–चौपाया ल्याउनु हुन्छ । त्यसलाई टुकुचा, लोकन्थली, दहचोक, कलंकी, चाबहिल, काँडाघारीबाट बिक्री गर्दैछौं ।

यस वर्ष मासुको माग कति हुने अनुमान गर्नुभएको छ ?
गत वर्ष ४५ हजार हाराहारी खसीबोका खपत भएको थियो । यस वर्ष विगतको तुलनामा कम मासु खपत हुने हाम्रो आकलन छ । मेरो विचारमा यस वर्ष करिब १० हजारले माग खुम्चिएर ३५ हजारमा झर्ने मेरो अनुमान छ ।

खसीबोकाको मासुको मूल्यचाहिँ कस्तो छ यस वर्ष ?
सोह्र श्राद्ध समाप्त भएपछि पनि खसीको मूल्यमा कुनै बदलाव आएको छैन, स्थिर छ । तपाईंसँग घटस्थापनाको दोस्रो दिन कुरा गरिरहँदा ज्युँदो खसीको प्रति केजी मूल्य ६६० रूपैयाँदेखि ६८० रूपैयाँसम्म छ । यी मूल्यमा खसी हेरेर बिक्री भइरहेको छ । यो अंक आगामी दिनमा थोरै बढेर ७०० रूपैयाँ पुग्ने देखिएको छ ।

दशैंमा खसीबोकासँगै च्यांग्रा पनि उपभोग हुने गर्छ । उपभोक्ताको मागलाई ध्यानमा राखेर च्यांग्रा बिक्री–वितरण गर्ने तयारी गरेका छौं । गत वर्षको तुलनामा मूल्य बढ्ने हल्ला चले पनि के होला, अहिले यसै भन्न सकिने अवस्था छैन । बजारको आपूर्ति र मागमा यो निर्भर हुनेछ ।

नेपालका किसानले उत्पादन गरेको खसीबोकाले माग धान्ने अवस्था छ कि छैन ?
खसीबोकामा हामी आत्मनिर्भर छौं । त्यसैले यसलाई विदेशबाट ल्याइराख्नुपर्ने अवस्था अहिले छैन । स्थिति यस्तो हुँदाहुँदै पनि त्यसलाई अनदेखा गरेर भारतबाट खसीबोका भित्रिरहेको छ । पछिल्लो पाँच दिनमा मात्रै पाँच हजार खसीबोका नेपाल भित्रिएको छ । कमजोर राज्य संयन्त्रणको फाइदा उठाउँदै अझ भनौं उनीहरूकै मिलेमतोमा भारतबाट खसीबोका भित्रिरहेको छ ।

खुला सीमाबाट यसरी खसीबोका भित्रिँदा किसानलाई कस्तो असर परिरहेको छ ?
हामी व्यापारीको चाहना स्वदेशी किसानले पालेका खसीबोकाले राम्रो बजार र मूल्य पाओस् भन्ने छ । हामी स्वदेशी खसीबोका बिक्री गर्न चाहन्छौं । स्वदेशी खसीबोका आफ्नै बजारमा बिक्री वितरण गर्दा एकातिर किसानले लाभ लिन सक्नेछन् भने अर्कातिर विदेशतिर पुँजी पलायन हुँदैन । राज्यका निकायको अहिलेको नीति स्वदेशी उत्पादनले पुगेको स्थितिमा आयात नगर्ने र अपुग भएको अवस्थामा गर्ने हुनुपथ्र्यो । तर यसतर्फ सरकार फिटिक्कै गम्भीर देखिँदैन । म यहाँनिर सरकारलाई प्रश्न गर्न चाहन्छु– आफ्नो उत्पादनले पुग्छ भनेर रटान लगाउँदै भारतबाट किन खसीबोका आयात गरेको ? नेपाली किसानलाई मार्न ?

यस्तो व्यवस्था गर्दा फेरि उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने अवस्था आउला नि त ?
हुँदैन । हामी अहिलेको चलनचल्तीको मूल्यमा खसीबोकाको मासु उपभोक्तालाई उपलब्ध गराउन सक्षम छौं ।

तस्करीको समस्या जटिल रहेको बताउनुभयो । यसबाहेक अरू के–के असुविधा नेपाली किसान र व्यापारीले झेलिरहेका छन् ?
पशु चौपायामा अहिले खोरेतलगायत विभिन्न रोग देखापरिरहेको छ । अस्वस्थ खसी उपभोग गर्दा अनेक रोगको जोखिम हुने भएकाले परीक्षण गर्नुपर्ने आवश्यकता छ । धादिङ, नुवाकोटलगायत उपत्यका आसपासका क्षेत्रबाट आउने खसीबोकाको स्वास्थ्य परीक्षण गरिराख्न परेन, किनभने नजिकैबाट ल्याइएकामा त्यस्तो जोखिम हुँदैन । तर भारतका विभिन्न स्थान हुँदै ल्याइएका खसीबोका बिना स्वास्थ्य परीक्षण उपभोक्ताको भान्छासम्म पुगिरहेको छ । यसले उपभोक्ताको स्वास्थ्यमा कस्तो असर गर्ला ? सोचनीय प्रश्न छ ।

नाकाहरूमा क्वारेन्टिनहरू त खडा गरिएको छ नि होइन र ?
राज्यले नाकाहरूमा पशुपन्छी चेकजाँचका लागि क्वारिन्टन खडा गरेको छ । तर यिनको काम झारा टार्ने मात्रै छ । मैले राज्यको निकायलाई होच्याएर पूर्वाग्रहका साथ यसो भनेको होइन । क्वारेन्टिहरूले आफूले गर्नुपर्ने काम जिम्मेवारीपूर्वक गरेकै छैनन् ।