दशैंमा मासु कस्तो खाने?कसरी छान्ने?

काठमाडौं । दशैंमा मासुको खपत अत्यधिक हुने गरेको छ । परिवारका सदस्यसँग मीठो–मसिनो खाएर मनाइने यो पर्वमा खसीबोका, भेडा र च्यांग्राको माग बढी हुने गरेको छ ।

दशैंमा मासु माग उच्च हुने भएकाले उपभोक्तालाई सहुलियत प्रदान गर्न खाद्य तथा व्यापार कम्पनीले खसीबोका बिक्री गर्दै आएको छ । खाद्य तथा व्यापार कम्पनीका अनुसार विगत वर्षझैं यस वर्ष पनि असोज २९ गतेबाट खसीबोका र च्यांग्राको बिक्री वितरण सुरु गरिएको छ ।

दशैंमा कतिको संख्यामा खसीबोका बिक्री हुन्छ भन्ने यकिन तथ्यांक त छैन । तर विगत वर्षको दशैंमा ४५ हजार वटा खसीबोका खपत भएको अनुमान छ । नेपाल चौपाया खरिद बिक्री तथा कृषि फार्म ग्रुप प्रालिका अध्यक्ष दीपक थापा विगत वर्षको तुलनामा यस वर्ष खसीबोकाको माग कम हुने आकलन सुनाउँछन् । उनका अनुसार, यस वर्ष ३५ हजार वटा खसीबोका खपत हुने अनुमान गरिएको छ ।

के गर्दैछन् खाद्य र पशु सेवा विभाग ?
खाद्य तथा व्यापार संस्थानले असोज २९ गतेबाट खसीबोकाको बिक्री वितरण खुला गरेको छ । धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्यांग्रा बिहान काठमाडौं ल्याउने र दिउँसोबाट बिक्री गर्ने कम्पनीको तयारी छ । कम्पनीका अनुसार, खसीबोका र च्यांग्राको बिक्री थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट गरिएको छ । यस वर्ष २ हजार खसीबोका र १ हजार च्यांग्रा बिक्री गर्ने खाद्ययको योजना छ । यसका लागि खाद्यले यो वर्ष ८ करोड ३३ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।

उपभोक्तालाई सहुलियत प्रदान गर्न बजार मूल्यभन्दा प्रतिकिलोमा १० रूपैयाँ छुट दिइएको छ ।
खसीबोकालगायत पशु चौपाया भित्रिने क्रम बढेसँगै पशुसेवा विभागले स्वास्थ्य परीक्षण र प्रमाणीकरणको काम थालेको छ । विभागका अनुसार, उपभोक्ताको भान्छामा स्वस्थ मासु पाकोस् भन्ने हेतुले स्वास्थ्य परीक्षणका लागि काठमाडौं उपत्यकाका विभिन्न ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गरिएको छ ।

टोलीले उपत्यका भित्रिएका पशुपन्छीको नमुना संकलन गरी परीक्षण गर्नेछ । स्वस्थ प्रमाणित भएमा हरियो रङ र रोगी देखिए रातो संकेत गर्ने विभागले जनाएको छ । यस्तो टोली कलंकी खसी बजार, बल्खु कालीमाटी माछाबजार, चोभार नाका र चाल्नाखेल राँगा बजार, टुकुचा खसीबार र खाद्यस्थित थापाथलीमा टोली परिचालन गरिएको छ । त्यस्तै, लोकन्थली खसी बजार, साल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक, मूलपानीमा टोली खटाइएको छ । विभागले स्वस्थकर र फुर्तिलो खसी, बोका, राँगा छनोट गर्न र मासु उत्पादन र बिक्री वितरण गर्दा सरसफाइमा ध्यान दिन पनि आग्रह गरेको छ ।

पुग्दैन खाद्यको खसीबोकाले
नेपाल चौपाया खरिद बिक्री तथा कृषि फार्म ग्रुप प्रालिका अध्यक्ष दीपक थापाका अनुसार, दशैंमा काठमाडौं उपत्यकामा मात्रै ३५ हजार खसीबोका खपत हुने आकलन छ । यो गत वर्षको तुलनामा १० हजारले कम हो ।

तर वरिष्ठ पशु रोग चिकित्सक डा. केदार कार्की भने दशैंमा काठमाडौं उपत्यकामा मात्र ६५ हजार खसीबोकाको माग हुने गरेको बताउँछन् । दशैंमा खसीबोकाको माग यति धेरै भए पनि खाद्यले भने २ हजार खसीबोका र एक हजार च्यांग्रा बिक्री गर्ने तयारी गरेको छ । विगत वर्षदेखि नै उपभोक्ताले खाद्यको खसीबोका रुचाए पनि देखावटी केही हजार मात्र ल्याएर बिक्री गर्ने गरिएको छ ।

भान्छामा अस्वस्थ मासु पुग्ने खतरा
पशुपन्छीमा लाग्ने विभिन्न रोग मानिसमा संक्रमण हुने जोखिम हुन्छ । पशु सेवा विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ पशु रोग विशेषज्ञ डा. वंशी शर्मा पशुजन्य रोग मानिसमा सर्ने खतरा भएकाले स्वस्थ र स्वच्छ पशु चौपायाको मात्र मासु उपभोग गर्न सुझाउँछन् ।

अर्का पशु रोग विशेषज्ञ डा.केदार कार्की खसीबोकाको स्वच्छ मासुमा सम्झौता गर्न नहुने बताउँछन् । दशैंमा मासु बढी खपत हुने भएकाले विशेष चनाखो हुनुपर्ने उनको सुझाव छ । पशुपन्छीजन्य रोग मासुमा सर्ने भए पनि सरकारले परीक्षणलाई प्रभावकारी बनाउन सकेको छैन । नाकाहरूमा पशुपन्छी चेक जाँचका लागि क्वारेन्टाइनको व्यवस्था गरे पनि तिनले झारा टार्ने काम मात्र गरेको बताउँछन्, नेपाल चौपाया खरिद बिक्री तथा कृषि फार्म ग्रुप प्रालिका अध्यक्ष थापा । यसले भान्छामा अस्वस्थ पशुपन्छीको मासु प्रवेश गर्ने जोखिम बढेको बताए ।

‘पशु चौपायामा अहिले खोरेतलगायत विभिन्न रोग देखापरिरहेको छ । अस्वस्थ खसी उपभोग गर्दा अनेक रोगको जोखिम हुने भएकाले परीक्षण गर्नुपर्ने आवश्यकता छ,’ थापाले भेट टाइम्स मासिकसँग भने, ‘धादिङ, नुवाकोटलगायत उपत्यका आसपासका क्षेत्रबाट आउने खसीबोकाको स्वास्थ्य परीक्षण नगरे पनि भारतका विभिन्न स्थान हुँदै ल्याइएका खसीबोका बिना स्वास्थ्य परीक्षण उपभोक्ताको भान्छासम्म पुगिरहेको छ । यसले उपभोक्ताको स्वास्थ्यमा कस्तो असर गर्ला ? सोचनीय प्रश्न छ ।’

तर पशु सेवा विभाग उपभोक्ताको स्वास्थ्यप्रति संवेदनशील हुँदै बिक्री वितरणका लागि ल्याइएका पशु चौपायाको परीक्षण तीव्र पारिएको दाबी गर्छ । तर थापा यो स्वीकार्न तयार छैनन् । नाकामा क्वारेन्टिन भए पनि तिनले गर्नुपर्ने काम नगरेको उनी बताउँछन् ।

बधशालाको अवस्था पनि उस्तै दुरुह
पशुपन्छीको बधशाला स्वस्थ र स्वच्छ हुनुपर्ने अवधारणा आत्मसाथ गरेर यसको मापदण्ड तय गरिएको छ । सरकारले वर्षौंअघि बधशाला सञ्चालनसम्बन्धी मापदण्ड बनाए पनि यसको कार्यान्वयन अवस्था भने दयनीय छ ।

बधशालालाई व्यवस्थित गर्न नियमित अनुगमन गर्न सकिने भए पनि हुने गरेको छैन । उपभोक्ता अधिकारकर्मीहरू उपभोक्ताको स्वास्थ्यसँग जोडिएको यति संवेदनशील विषयमा राज्यका निकाय र सरकार गम्भीर नबनेको बताउँछन् ।

राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बि.सी. बधशालामा समस्या रहेको बताउँछन् । बधशालामा समस्या रहेकाले स्वस्थ र स्वच्छ ठाउँको मासु मात्र उपभोग गर्न उनले उपभोक्तालाई सुझाए ।

वरिष्ठ पशु रोग चिकित्सक डा. शर्मा बधशाला स्वस्थ र स्वच्छ नहुँदा त्यसले अनेक रोग फैलाउने भएकाले सेचत रहन आग्रह गर्छन् (हेर्नुस् शर्माले यसै अंकमा मासु उपभोगबारे लेखेको आलेख) । चाडबाडका समयमा अस्वस्थकर खसी, बोका, राँगा, भैंसीको मासुले टेनिया सोडियम, बंगुरको मासुबाट टेनिया स्याकिटेटा नामक जुका र अस्वस्थ माछा खाँदा एच नाना र अस्वस्थ कुखुराको मासुबाट बर्डफ्लु तथा नपाकेको मासु खानाले दिमागमा स–साना टेपवर्म जाने र त्यसले मानिसको मृत्यु हुने वरिष्ठ पशु चिकित्सक कार्की बताउँछन् । दशैंको मासु आँशु बन्न सक्ने भएकाले सचेत रहन उनले सुझाए ।

भारतबाट भित्रिँदै खसीबोका, नेपाली किसान मर्कामा
नेपाली किसानले उत्पादन गरेका खसीबोकाले उपभोक्ताको माग धान्ने अवस्था अहिले छ । खसीबोकामा देश आत्मनिर्भर भएकाले विदेशबाट आयात गरिराख्नुपर्ने आवश्यकता छैन ।

नेपाल चौपाया खरिद बिक्री तथा कृषि फार्म ग्रुप प्रालिका अध्यक्ष थापा नेपाली खसीबोकाले बजारको माग धान्ने भए पनि भारतबाट आयात हुँदा किसान र व्यापारी मर्कामा परेको बताउँछन् । राज्य संयन्त्रको फितलोपना र नीतिका कारण भारतीय खसीबोका नेपाली बजारमा पुगे पनि सरकारले अनदेखा गरेको उनको गुनासो छ ।

‘खसीबोकामा हामी आत्मनिर्भर छौं । भारतबाट आयात गरिराख्न जरुरी छैन,’ उनले भने, ‘ स्थिति यस्तो हुँदाहुँदै पनि त्यसलाई अनदेखा गरेर भारतबाट खसीबोका भित्रिरहेको छ । पछिल्लो पाँच दिनमा मात्रै पाँच हजार खसीबोका नेपाल भित्रिएको छ ।’ थापा खुला सीमाको फाइदा उठाउँदै र राज्य संयन्त्रका कर्मचारीलाई भजाउँदै यस्तो गलत कार्य भइरहेको दाबी गर्छन् ।

कसरी छान्ने स्वस्थ खसी ?

जनस्वास्थ्यविद्हरूका अनुसार, मानिसको शरीरमा कीटाणुको सबैभन्दा छिटो आक्रमण मासुकै कारण हुन्छ । मासुबाट अनेक रोग लाग्ने भएकाले यो स्वस्थ र स्वच्छ हुनुपर्छ । मासुलाई ओठदेखि गोठसम्म पनि भन्ने गरिन्छ । गोठबाट ओठसम्म आइपुग्दा यसको दूषित मात्रा कम गर्न जरुरी छ ।
वरिष्ठ पशुरोग विशेषज्ञ डा. वंशी शर्मा मासुका लागि पशुचौपाया खरिद गर्दा निम्न कुरामा ख्याल गर्नुपर्ने सुझाउँछन् :

  • स्वस्छ पशु चञ्चल हुन्छ । पशु बथानमा बस्न रुचाउँछन् र कसैले समात्ने प्रयास गरेको खण्डमा भाग्छन् ।

  • घाँसपात, दाना खान रुचि राख्छन् । दिसा–पिसाब नियमित हुन्छ र उत्पादनमा पनि एकरूपता हुन्छ ।

  • उमेरअनुसार तौल हुन्छ ।

  • रौं, छाला चिल्लो र चम्किलो हुन्छ । शरीरको बनावट पनि मिलेको हुन्छ ।

  • आँखा तेजिलो हुन्छ । नाकमा सिँगान हुँदैन र थुतुनो पनि रसिलो हुन्छ ।

  • हिँडाइको चाल एकनास हुन्छ ।

  • शरीरिक तापक्रम, नाडीको चाल र श्वास–प्रश्वास दर सामान्य हुन्छ ।

  • अस्वस्थ पशु लोसे, एक्लै बस्ने र सजिलै समात्न सकिने हुन्छन् । घाँसपात,दाना खान अरुचि गर्नुका साथै छेर्ने पनि हुन्छ ।

  • आँखा रसिलो, सिँगान बगेको र थुतुनो सुख्खा हुनु अस्वस्थ पशुको लक्षण हो