परिषद् वार्षिकोत्सवमा नेभ्लाको शुभकामना, ऐन कार्यान्वयनमा सरकार उदासीन बनेको गुनासो

काठमाडौं । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) ले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को प्रथम वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गरेको छ ।

परिषद्को प्रथम वार्षिकोत्सवको अवसरमा नेभ्लाका अध्यक्ष रामप्रसाद मेहताले मंगलबार एक सन्देश जारी गर्दै शुभकामना व्यक्त गरेका हुन् ।

पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा सेवारत प्राविधिक जनशक्तिको दर्ता, नियमन तथा परिचालन सम्बन्धमा व्यवस्था गर्न गत वर्ष असोज २३ गते आजकै दिन पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ जारी भएको थियो ।

‘… पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा सेवारत प्राविधिक जनशक्तिहरूको दर्ता, नियमन तथा परिचालन गर्नका लागि करिब २५ वर्षको संघर्षले स्थापना भएको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको प्रथम वार्षिकोत्सवको शुभअवसरमा कृषक, उद्यमी, व्यवसायी, प्राविधिक जनशक्तिलगायत सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ नेभ्ला अध्यक्ष मेहताले मंगलबार बिहान जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

परिषद् स्थापनाको एक वर्ष पूरा भए पनि ऐन कार्यान्वयनमा नआएको भन्दै मेहताले चिन्ता व्यक्त गरेका छन् । ऐन बनेसँगै परिषद् गठन, नियमावली निर्माणलगायत कार्य हुनुपर्नेमा अझै अघि नबढेको उनको भनाइ छ । परिषद्को कार्यालय, जनशक्ति व्यवस्थापन तथा परिषद् गठनलगायत कार्यका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रत्यक्ष सरोकारवाला संस्थासमेतको सहभागितामा मन्त्रालयका सचिवस्तरीय निर्णयबाट सिफारिस समिति गठन भई त्यसकै सिफारिसका आधारमा कार्यालय र जनशक्ति व्यवस्था भए पनि कानून कार्यान्वयनमा गतिरोध उत्पन्न भएको हो । मेहता चरम राजनीतिक दाउपेच, व्यक्तिगत महत्त्वकांक्षा र उच्च पदस्थ प्रशासकहरूको गलत मनसायले यो अवस्था सिर्जना भएको औंल्याउँछन् । यद्यपि, उनले नेतृत्वदायी संस्थाको हैसियतले ऐन कार्यान्वयनमा नआउनुमा आफ्नोतर्फबाट जिम्मेवारी लिने प्रष्ट पारे ।

‘हामी जिम्मेवार सरोकारवाला भएकाले पन्छिन पनि चाहँदैनौं । तर चरम् राजनीतिक दाउपेच, व्यक्तिगत महत्त्वकांक्षा र उच्च पदस्थ प्रशासकहरूको गलत मनसायले गर्दा हालसम्म पनि ठोस रूपमा परिषद् ऐन कार्यान्वयन हुन नसकेको यथार्थ सबै सामु छर्लंग छ,’ सन्देशमा भनिएको छ ।

सरोकारवालासँग छलफल गरेर परिषद् गठन र नियमावली निर्माणलगायत आवश्यक कार्य गर्ने प्रतिबद्धता मन्त्री र सचिवले व्यक्त गरे पनि चासो नदेखाएको गुनासो मेहताले गरे । पशुपन्छी क्षेत्रसँग सम्बन्धित पाँच संघ–संगठनसँग परिषद् सञ्चालनका लागि आवश्यक कार्य गर्ने प्रतिबद्धता मन्त्रीले जनाए पनि डेढ महिनासम्म कुनै चासो नराखेको मेहताको भनाइ छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले परिषद् गठन र नियमावली निर्माणलगायत विषयमा सरोकारवालालाई निषेध गर्ने मनसाय देखाएको उल्लेख गर्दै उनले त्यो मान्य नहुने प्रष्ट पारे । परिषद् ऐन कार्यान्वयन गर्न विलम्ब भएकाले सरोकारवालासँग छलफल गरेर शीघ्र टुंग्याउन पनि उनले सरकारसमक्ष आग्रह गरेका छन् ।