रेबिजविरुद्ध एकजुट भएर लड्न सरोकारवालाको जोड

काठमाडौं । पशुपन्छी क्षेत्रका सरोकारवालाले सन् २०३० सम्ममा रेबिजविरुद्धको मृत्यु शून्यमा झार्ने प्रतिबद्धतामा केन्द्रित हुन सुझाएका छन् । भेटेरिनरी अभ्यासकर्ता संघ, नेपाल, पशु सेवा, ललितपुर महानगरपालिकाको आयोजना तथा नेपाल भेटेरिनरी एसोसिएसनको सहआयोजना र नेपाल पशुपन्छी औषधि व्यवसायी संघको सहकार्यमा बुधबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा पशु चिकित्सकलगायत सरोकारवालाले यस्तो बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले रेबिज रोगविरुद्ध विभागले गरिरहेको कामबारे जानकारी गराउँदै सन् २०३० को लक्ष्य पूरा गर्न जिम्मेवारपूर्वक प्रस्तुत भएको बताए ।

त्यसका लागि प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गरिरहेको उनले जानकारी दिए । विभिन्न जिल्लामा रेबिज प्रकोपका रूपमा रहेकाले यसलाई तीन ढंगले नियन्त्रण गर्नुपर्ने मत डा. दाहालले अघि सारे । उनका अनुसार, जनचेतना, मास भ्याक्सिनेसन र कुकुरको जनसंख्या कम गरेर यसलाई नियन्त्रण गर्न सकिन्छ । ‘रेबिज रोग प्रकोपका रूपमा रहेकाले जनचेतना जगाएर, मास भ्याक्सिनेसन कार्यक्रम सञ्चालन गरेर तथा कुकुरको संख्या घटाएर यसलाई नियन्त्रणमा लिन सकिन्छ,’ डा. दाहालले भने । डा. दाहालले रेबिज दिवसअघि एक साता रेबिजविरुद्धको कार्यक्रम सञ्चालन गर्नुभन्दा वर्षभरि नै यसलाई सञ्चालन गर्न उनले सुझाव दिए । ‘यस्ता अन्तरक्रिया र छलफल एक दिन मात्र नभएर वर्षभरि नै सञ्चालन गर्नुपर्छ,’, उनले भने ।

यस्तै ,नेपाल पशुपन्छी औषधि व्यावसायी संघका वरिष्ठ उपाध्यक्ष रीतेश रिमालले अत्यावश्यक विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको जनाउँदै यसलाई थप सघन बनाउन जोड दिए । रेबिज रोगबारेको सचेतना सबैतिर आवश्यक रहेकाले यस्ता अन्तरक्रिया सातै प्रदेशमा आवश्यक भएको उनको भनाइ छ ।

ललितपुर महानगरपालिकाको पशु सेवा शाखाका प्रमुख डा. अमर रायले समुदायमा रहेका रेबिज संक्रमित कुकुर अहिलेको सबैभन्दा ठूलो चुनौती भएको बताए । प्राग ऐतिहासिक कालदेखिको कुकुरको महत्त्वबारे प्रकाश पार्दै उनले रेबिज उन्मूलनका चुनौतीबारे छलफल गर्नुपर्ने बताए ।

कार्यक्रममा भेटेरिनरी अभ्यासकर्ता संघका अध्यक्षडा. बलराम थापाले रेबिज रोगको जोखिमबारे प्रकाश पार्दै हालसम्म यो रोगबाट संक्रमित एक जना मात्र जीवित रहेको बताए । रेबिजको मृत्युदर उच्च रहेकाले गम्भीर बन्न उनले सबैमा आग्रह गरे । रेबिज रोगविरुद्धको खोपबारे चिकित्सकले गलत सल्लाह दिँदा दुःखद् घटना हुने गरेको उल्लेख गर्दै उनले आफूकहाँ आउने बिरामी तथा आफन्तलाई उचित सल्लाह मात्र दिन सुझाव दिए ।

नेपाल भेटेरिनरी एशोसियसनका महासचिव डा.केदार सुवेदीले उपस्थितलाई स्वागत गर्दै रेबिज उन्मुलनमा सबैको सहकार्यको आवश्यकता रहेको बताएका थिए ।

भेटेरिनरी अभ्यासकर्ता संघ(भिपान)का महासचिव डा.नवराज श्रेष्ठले विश्व रेबजि दिवशको उपलक्ष्यमा विभिन्न विद्यालयका उपत्यकाका विभिन्न विद्यालयका २ हजार बढी  विद्यार्थीहरुलाई कक्षा संञ्चालन गरेर जानकारी दिनुका साथै यो रोगको उच्च जोखिमको अवस्थामा समेत सेवा गर्नुपर्ने फ्रण्टलाईनर प्राविधिकहरुलाई यो रोग विरुद्धको खोप लगाउने लगाएका कार्यक्रम गरिरहेको जानकारी दिएका थिए ।

कार्यक्रममा डा .मनिषमान श्रेष्ठ र डा. रोसिका श्रेष्ठले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।  कार्यक्रममा रेबिज रोग र सन् २०३० मा यसलाई निमूल गर्ने सरकारको प्रतिबद्धतामाथि केन्द्रित रहेर आफ्नो धारणा राखेका थिए ।