पशुपन्छी औषधि उद्योगको वर्तमान अवस्था, सम्भावना र चुनौती
नेपालमा ४० को दशकको सुरुमा पशुपन्छीको औषधि बजार नै थिएन । व्यावसायिक पशुपन्छीपालन गर्ने क्रम बढेसँगै नेपालमा औषधि बजार फैलँदै गएको पाइन्छ । कुनै बेला भारतलगायत मुलुकबाट पशुपन्छीका लागि आवश्यक औषधि आयात गर्नुपर्ने बाध्यता रहे पनि अहिले त्यस्तो छैन । इन्जेक्टेबलबाहेकका पशुपन्छीका सबैजसो औषधि नेपालमै उत्पादन हुन्छ । यस्ता औषधि उत्पादनका निम्ति नेपालमा उद्योगहरू खुलेका छन् । यीमध्ये राम्रा उद्योगको अवस्था राम्रै छ ।
नेपालमा पशुपन्छी औषधिको माग कति छ भन्ने यकिन तथ्यांक छैन । यो निकाल्न पनि कठिन छ । किनभने, दर्ता नभएका औषधि मधेस प्रदेश, लुम्बिनी प्रदेशलगायतका जति पनि भारतसँग खुला सीमाना जोडिएका स्थान छन्, त्यहाँबाट अनधिकृत ढंगले भित्रिने गरेका छन् । यकिन तथ्यांक निकाल्न नसकिए पनि नेपाली पशुपन्छी औषधि र फिड सप्लिमेन्टको बजार वार्षिक करिब १० अर्ब हाराहारी छ भन्ने अनुमान गरिन्छ ।
उत्पादन स्थलका आधारमा बजारमा पुग्ने पशुपन्छीका औषधि तथा फिड सप्लिमेन्ट दुई खाले छन् । एउटा, स्वदेशी उद्योगका छन् भने अर्को भारतलगायत देशबाट आउँछन् । यीमध्ये बजारको २० प्रतिशत हिस्सा स्वदेशी उद्योगका उत्पादनले ओगटेको पाइन्छ । औषधितर्फ भने अलिक बढी ३५–४० प्रतिशत स्वदेशी उत्पादन उपभोग हुने गरेको छ । इन्जेक्टेबल औषधिमा भने नेपाल पूर्णतः परनिर्भर छ । किनभने, यस्ता औषधिको उत्पादन लागत धेरै भएको र बजार पनि साँघुरो रहेकाले नेपालमा उत्पादन हुँदैन ।
फिड सप्लिमेन्ट आयात गर्न दिने÷नदिने निर्णय पशु सेवा विभागले लिँदै आएको छ । पशु सेवा विभागले फिड सप्लिमेन्ट आयातका लागि सिफारिस दिने तौरतरिका वैज्ञानिक नभएकाले नेपाली उद्योगहरूको स्थिति असाध्यै खराब भएको छ । अहिले पशु सेवा विभागबाट आयात अनुमति पाएर नेपाल भित्रिएका ३०–३५ वटा कम्पनीभन्दा बाहेकको फिड सप्लिमेन्टमा गुणस्तर छ भन्ने हामीलाई लाग्दैन । पशु सेवा विभागले उत्पादनको गुणस्तरबारे न्यूनतम जानकारीसमेत नलिई आयात अनुमति दिइरहेको छ, जुन अहिलेको समस्याको खास कारण हो ।
औषधि उत्पादन गर्ने उद्योग प्रचलित नियम र कानूनको अधीनमा रहेर स्थापना भएका हुन्छन् । उद्योग नै स्थापना नगरी उत्पादन सम्भव हुँदैन । तर नेपाल नै एउटा देश हो जहाँ संसारमै कहीँ अस्तित्वमा नरहेका कम्पनीले उत्पादन गरेका फिड सप्लिमेन्ट आइपुग्छन् । यस्ता फिड सप्लिमेन्टमा रसिया, जापान, स्विटजरल्याण्ड, हंगेरीलगायतमा निर्माण भएको दाबी गरिएको हुन्छ । तर आउँछन् चाहिँ कानपुरबाट ।
अनौठो लाग्न सक्छ, फिड सप्लिमेन्ट भनेर आयात गरिएका यस्ता वस्तुमा खरानी मात्र हुन्छ । र पनि पशु सेवा विभागले नजर नपुगेर या जनशक्ति नपुगेर, के भएर हो ? आँखा चिम्लिएर यस्ता अनधिकृत निकम्मा वस्तुको आयात अनुमति दिन्छ । अब खरानीसँग नेपाली उद्योगले प्रतिस्पर्धा गर्न सक्ने कुरा भएन । किनभने, खरानीजस्तो सस्तोमा नेपाली उद्योगले आफ्ना गुणस्तरीय फिड सप्लिमेन्ट बिक्री गर्न सक्दैनन् ।
पशु सेवा विभागको यस्तो गैरजिम्मेवार कार्यशैलीले नेपालका पशुपन्छी औषधि उद्योगलाई निकै ठूलो समस्यामा पारेको छ । औषधिको आयात अनुमति भने औषधि व्यवस्था विभागले गुणस्तर जाँचपछि मात्रै दिन्छ । त्यसैले पशुपन्छीको औषधिमा चाहिँ फिड सप्लिमेन्टमा जस्तो अव्यवस्था र ब्रह्मलुट छैन । विभागले स्वीकृति दिएको औषधिको गुणस्तरमा समस्या नभए पनि स्वीकृति लिने प्रक्रिया भने निकै झण्झटिलो छ ।
नेपाली पशुपन्छी औषधि उद्योगको सबैभन्दा ठूलो समस्याका रूपमा भन्सार दर रहेको छ । औषधि व्यवस्था विभागले सिफारिस दिइसकेपछि जुनसुकै दरबन्दीको भए पनि पाउनुपर्ने छुट पाउनुपर्ने थियो । तर थुप्रै सामानमा छुट पाउने अवस्था छैन । यहाँनिर यो किन भइरहेको छ भन्ने स्वाभाविक प्रश्न उठ्न सक्छ । योचाहिँ हाम्रो देशको नीतिगत समस्याका कारण भइरहेको छ ।
नेपालका पशुपन्छी औषधि उद्योगले अहिले विभिन्न चुनौती र समस्याको सामना गरिरहेका भए पनि भविष्य र सम्भावना उज्ज्वल छ । तर त्यसका लागि राज्यले समन्वयकारी भूमिका खेलिदिनुपर्छ । पशु सेवा विभाग, औषधि व्यवस्था विभागले सहयोगीको भूमिका खेलिदिने हो भने पशुपन्छी औषधि उद्योगलाई धेरै आड भरोसा मिल्नेछ ।
(कान्तिपुर फर्मास्युटिकल्स ल्याब प्रालिका सञ्चालक बडालसँगको कुराकानीमा आधारित । )
Language »