काठमाडौं । गृह मन्त्रालयले कुखुरा तथा कुखुराजन्य वस्तुको आयात रोक्न दुई प्रहरी संगठन र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पाँचबुँदे निर्देशन दिएको छ ।
गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले मंगलबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई एक सर्कुलर जारी गरेर कुखरा तथा कुखुराजन्य वस्तुको आवश्यक निगरानी तथा अवैध कारोबार नियन्त्रण गर्न निर्देशन दिएको हो ।
यही भदौ ३ गते सरोकारवालाहरूले गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नाकाबाट भइरहेको कुखुराजन्य वस्तुको अवैध ओसारपसारबारे जानकारी गराएका थिए । सरोकारवाला निकायसँगको सोही छलफलबमोजिम कुखुराजन्य वस्तुको अवैध आयात निर्यात नियन्त्रणका लागि सर्कुलर जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गृहद्वारा जारी पाँचबुँदे सर्कुलरमा खुला सीमा नाकाबाट गैरकानूनी रूपमा ओसारपसार हुनसक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउन, अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा सवारीसाधनलाई प्रचलित कानूनबमोजिम कारबाही गर्न र सीमा नाकामा गस्ती निगरानी बढाउन भनिएको छ ।
त्यसैगरी, सीमाक्षेत्रमा अवैध तथा मापदण्डविपरीत खोलिएका कुखुरा फार्म, बधशाला, ह्याचरी र कोल्ड स्टोर हटाउन र भन्सार तथा क्वारेन्टाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय तथा सहयोग गर्न पनि गृहले निर्देशन दिएको छ ।
सरकारले यसअघि कुखुरा तथा कुखुराजन्य वस्तुमा आत्मनिर्भर घोषणा गर्दै आयातमा प्रतिबन्ध लगाएको थियो । तथापि, भारतसँगको खुला सीमाको फाइदा उठाउँदै लामो समयदेखि कुखुराजन्य वस्तुको तस्करी भइरहेको छ । यसरी सीमाबाट कुखुराको तस्करी हुँदा समग्री पोल्ट्री व्यवसाय नै संकटमा परेको गुनासो व्यवसायीले गर्दै आइरहेका छन् ।