लम्पी स्किनबाट १३ लाखभन्दा बढी पशु संक्रमित, राहत दिन बजेट आवश्यक :कृषिमन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले लम्पी स्किन नियन्त्रण गर्ने विषयमा तीनै तहका सरकारसँग समन्वयन भइरहेको बताएका छन् । संसदको कृषि समितिको बिहीबार बसेको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले लम्पी स्किनले नेपालका पशुपन्छीमा पारेको प्रभावकारको विवरण पनि समितिमा प्रसतुत गरेका छन् । उनका अनुसार हालसम्म १३ लाख ५ हजार ३ सय ६१ पशुमा लम्पी स्किन संक्रमण भएको छ ।

त्यसमध्ये उपचारपश्चात १० लाख ८२ हजार १ सय ५९ पशु निको भइसकेका छन् । त्यस्तै अहिले १ लाख ७५ हजार ५ सयभन्दा बढी पशुमा लम्पी स्किनको संक्रमण कायम रहेको पनि मन्त्री भुसालको भनाइ छ । यो रोगबाट ४७ हजार ६ सय ४९ पशु मरिसकेका छन् ।

यद्यपी यसअघि नै पशु सेवा विभागले भने साउन १२ गतेसम्ममै लम्पीबाट मर्ने पशुको संख्या ५० हजार नाघेको बताएको थियो । रोग नियन्त्रणका लािग भारत र चीनबाट लम्पी स्किनविरुद्ध खोप आयातको पहल भइरहेको छ । हालसम्म १३ लाख ६९ हजार डोज खोप आयात भएको र ६ लाख ८६ हजार ४ सय ५० पशुलाई खोप लगाइसकिएको पनि बताए ।

देशका ७७ वटै जिल्लामा गाईभैंसीमा लम्पी स्किन संक्रमण पुष्टि भए पनि मनाङ र मुस्ताङमा भने पूर्ण रूपमा नियन्त्रणमा आइसकेको उनले बताए । त्यस्तै, पहाडी जिल्लामा संक्रमण क्रमशः घटिरहेको छ । मधेश र बागमती प्रदेशका केही जिल्लामा संक्रमण देखिइरहे छ । मन्त्री भुसालका अनुसार लम्पी स्किन रोग नियन्त्रणका लागि पशु सेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना गरिएको छ ।

मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रदेश र स्थानीय तहका सरोकारवालाहरूसँग समन्वय गर्न ७ वटै प्रदेशमा टोली परिचालन गरिएको छ । मन्त्री भुसालले लम्पी स्किन रोगका कारण प्रभावित किसानलाई राहत उपलब्ध गराउन आवश्यक कार्यक्रम र बजेटको व्यवस्था गर्नु अनिवार्य भएको पनि बताएका छन् ।

रोग नियन्त्रणका लागि आवश्यक औषधि तथा खोप व्यवस्थापन गर्न हरेक तहमा कार्यक्रम सञ्चालन गर्न बजेट आवश्यक रहेको उनले बताए ।