Home पशु र मानव लम्पी स्किनबाट जोगिन नेभ्लाको ६ सुझाव, बेवास्ता गरे आन्दोलन गर्ने
काठमाडौं । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) ले देशभर फैलिएको लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि ६ बुँदे माग अघि सारेको छ । नेभ्लाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्यमन्त्री कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएर आफ्ना मागबारे अवगत गराएको हो ।
लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारी प्रयास पर्याप्त नहुँदा महामारी देशब्यापी बनेकाले विभिन्न ६ बुँदे माग राखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको नेभ्लाले जनाएको छ ।
नेभ्लाको केन्द्रीय र जिल्ला कार्यसमितिले बुझाएको ज्ञापनपत्रमा लम्पी स्किन रोगलाई मध्यनजर गर्दै तत्काल संकटकाल घोषणा गर्न र नियन्त्रणका लागि ठोस योजनाका साथ औषधि तथा खोपको व्यवस्था गर्न माग गरिएको छ । त्यस्तै लम्पी स्किन रोगको उपचारका लागि पशु चिकित्सक र प्राविधिकको सशक्त परिचालन गर्न, बजारमा देखिएको औषधि अभाव हटाएर पर्याप्त पार्न, बीमा गरिएका पशुहरूको बीमाबापतको क्षतिपूर्ति उपलब्ध गराउन तथा लम्पी स्किनबाट क्षति व्यहोरेका किसानलाई राहत उपलब्ध गराउन पनि माग गरिएको छ ।
देशभरि महामारीको रूपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि तीनै तहका सरकारले गरिरहेको अपर्याप्त भएको र यसले ठूलो क्षति पुग्ने भन्दै नेभ्लाले यथाशीघ्र आफ्नो मागअनुसार अघि बढ्न अनुरोध गरेको छ । अन्यथा पशुधनको संरक्षणका लागि संघर्षमा उत्रने चेतावनी नेभ्लाको छ ।
लम्पी स्किन रोगबाट पशुवस्तुहरु धेरै संख्यामा संक्रमित भइरहेको साथै कृषकरव्यवसायीहरू आर्थिक रूपमा प्रभावित भइरहेको सन्दर्भमा रोग नियन्त्रण तथा राहत व्यवस्थापनजस्ता विषयहरु ठोस रूपमा सम्बोधन नभएमा विभिन्न विरोधका कार्यक्रमहरू सञ्चालन गर्न बाध्य हुने व्यहोरासमेत जानकारी गराउँदछौ,’ ज्ञापनपत्रमा भनिएको छ ।
पशु सेवा विभागका अनुसार, देशका ७७ वटै जिल्लामा लम्पी स्किन रोग फैलँदा हालसम्म करिब ११ लाख पशु संक्रमित भएका छन् । संक्रमणका कारण हालसम्म ५० हजारभन्दा बढी पशुहरूको मृत्यु भइसकेको छ भने दूध उत्पादन ८० प्रतिशतले घटेको छ । त्यस्तै, गर्भ तुहिने, प्रजननमा समस्या आउने, मृत्यु हुनेजस्ता समस्या पशुमा देखिँदा ठूलो आर्थिक नोक्सानी पुगेको छ । रोग नियन्त्रणका लागि देशभर ३० पशु प्राविधिक खटिए पनि अवस्था काबुमा आउन सकेको छैन ।
Language »