पशुमा लम्पिस्किन रोगको संक्रमण क्रमशः घट्ने क्रममा छ : मन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले पशुमा लाग्ने लम्पिस्किन रोग क्रमशः घट्ने क्रममा रहेको बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री भुसालले देशभर पशुहरुमा देखापरेको लम्पिस्किन रोग घट्ने क्रममा रहेको बताएका हुन् ।

संक्रमित पशुहरुको मृत्युदर पनि क्रमशः घट्ने क्रममा रहेको उनले बताए । उनले हालसम्म १२ लाखभन्दा बढी मात्रा खोप ल्याइसकिएको र २ लाख ५० हजार ७६६ पशुलाई खोप दिइसकिएको बताए । मन्त्री भुसालले रोग नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबाट आवश्यक औषधिको आपूर्ति गर्ने व्यवस्था मिलाइएको स्पष्ट पाए ।

मन्त्रालयमा चालु आर्थिक वर्षमा बचत हुने बजेट रकमान्तर गरी स्थानिय तहमा पठाइएको उनको भनाइ छ । मन्त्री भुसालले लम्पिस्किन रोगबाट हालसम्म ७ लाख ८२ हजार १८४ पशु संक्रमित भएका बताए । संक्रमित मध्ये २८ हजार १ पशुको मृत्यु भएको र ५ लाख २१ हजार ८१४ निको भएको उहाँले उल्लेख गर्नुभयो । त्यस्तै २ लाख ३२ हजार ३०९ पशु अहिले पनि संक्रमित अवस्थामा रहेका उनले जानकारी गराए ।

उनले भने, ‘लम्पिस्किन रोगबाट हालसम्म ७ लाख ८२ हजार १८४ पशु संक्रमित भएका छन् । संक्रमित मध्ये २८ हजार १ पशुको मृत्यु भएको छ भने ५ लाख २१ हजार ८१४ निको भएका छन् । २ लाख ३२ हजार ३०९ अहिले पनि संक्रमित अवस्थामा रहेका छन् । यस रोगको रोकथामका लागि मन्त्रालयबाट सम्भव भएसम्मका सम्पूर्ण प्रयास गरिएको छ ।

अहिले हामीले जोर्डन, तान्जनिया र टर्कीबाट भ्याक्सिनहरु आयात गरिरहेका छौँ । हालसम्म १२ लाखभन्दा बढी डोज भ्याक्सिन ल्याइएको छ । असार २६ गतेसम्म २ लाख ५० हजार ७६६ पशुलाई खोप लगाइएको छ । अहिले संक्रमण क्रमशः घट्नेक्रममा छ र मृत्युदर पनि क्रमशः घट्ने क्रममा रहेको सदनलाई जानकारी गराउन चाहान्छु ।

यस रोगको रोकथाम तथा नियन्त्रणको लागि संघ, प्रदेश र स्थानीय तहबाट आवश्यक औषधिको आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ । मन्त्रालयमा चालु आर्थिक वर्षमा बचत हुने बजेट रकमान्तर गरी स्थानिय तहमा पठाइएको छ । र साथै विभिन्न विकास साझेदारहरु सँग यस रोगको रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न आह्वान पनि गरिएको छ ।’