भारतबाट कुखुरा ल्याई मासु बिक्री गर्ने सप्लायर्समा सिल

काठमाडौं । आयात रोक लगाइएको कुखुराको मासु भारतबाट ल्याई बिक्री–वितरण गर्ने बर्दघाटको एक सप्लायर्समा सिल गरिएको छ ।

बुधबार प्रहरी र व्यवसायीसहित पशु सेवा विभागका उपमहानिर्देशक डा. प्रेरणा सेढाईं, उपसचिव डा. राजेश यादव, क्वरेन्टाइन कार्यालय, भैरहवाका प्रमुख डा. भक्त न्युरे, नेपाल भेटेरिनरी एसोसिएसनका निवर्तमान अध्यक्ष डा. शीतलकाजी श्रेष्ठलगायतले बर्दघाटस्थित न्यू दाउन्ने मिट सप्लायर्समा अनुगमन गरेको थियो । त्यसक्रममा उक्त सप्लायर्सले भारतबाट अवैध रूपमा कुखुरा ल्याई त्यसको मासु कोल्ड स्टोरमा राखेको भेटिएपछि सिलबन्दी गरिएको हो ।

विभागको नेतृत्वमा बुधबार गरिएको अनुगमनबाट उक्त सप्लायर्सले अनधिकृत कार्य गरेको भेटिएकाले त्यसलाई सिलबन्दी गरिएको प्रहरीले जनाएको छ ।

कुखुराको मासु र अण्डामा देशलाई आत्मनिर्भर घोषणा गरेको सरकारले भारतलगायत मुलुकबाट कुखुराजन्य वस्तु आयात गर्दा समग्र व्यवसाय प्रभावित हुने भन्दै आयातमा प्रतिबन्ध लगाएको छ । तथापि, खुला सीमाको फाइदा उठाउँदै भारतबाट अनधिकृत ढंगले चल्ला, जिउँदो कुखुरा र त्यसको अण्डा आयात हुँदै आइरहेको छ । चोर बाटो हुँदै तस्करले सस्तो मूल्यमा भारतीय कुखुरा नेपाली बजारमा उपलब्ध गराउँदा नेपाली कुखुरापालक किसान तथा पोल्ट्री व्यवसायी मर्कामा पर्दै आएका छन् । कतिपय त यही कारण पेशाबाटै पलायन भएका छन् ।