केनलका हस्ती शाहको पेट फुड आयातमा ‘इन्ट्री’

काठमाडौं । केनल क्लब व्यवसायी सुरेश शाहले पेट फुड (घरपालुवा जनावर)को खाना को आयात थालेका छन् । कुकुरको व्यावसायिक पालन र प्रवद्र्धनमा करिब तीन दशकदेखि सक्रिय शाहले पहिलो पटक पेट फुडको आयात थालेका हुन् ।

भारतीय पेट फुड कम्पनी टाइयो ग्रुपको उत्पादन नेपाली बजारमा पु–याउन आफूले आयात अनुमति लिएर काम थालेको शाहले जानकारी दिए । टाइयोले कुकुर, बिरालोलगायत जनावरका लागि बैरो ब्राण्डका विभिन्न फुड उत्पादन गर्दै आइरहेको छ । अब शाहको माउण्ट एभरेष्ट केनल क्लबले उक्त कम्पनीका फुड नेपालमा भित्राएर बजारसम्म पु¥याउनेछ ।

गत शुक्रबार गोरखाको गण्डकी गाउँपालिकामा आयोजित एक कार्यक्रमबीच शाहले आफूले आयात थालेको भारतीय कम्पनीको पेट फुड सार्वजनिक गरे ।

भेटेरिनरी क्षेत्रका विभिन्न व्यक्ति तथा केनल व्यवसायीको बाक्लो उपस्थितिमाझ पेट फुड लन्चिङ गर्दै शाहले ग्रो टुगेदरको अवधारणा अंगीकार गरेर आफूले पेट फुडको आयातमा हात हालेको जानकारी दिए । उनका अनुसार, उनले आयात गरेको पेट फुड बिक्री गर्दा ठूलालाई भन्दा रिटेलरलाई बढी फाइदा हुनेछ । पिँधका बिक्रेतालाई लक्ष्य गरेर आफूले थप स्किमहरू सार्वजनिक गर्ने उनले जानकारी दिए ।

केनल व्यवसायका हस्ती शाहलाई नेपालमा व्यावसायिक रूपमा कुकुरको बिक्री वितरण तथा पालनको सुरुवातकर्ता मानिन्छ । ०५४ सालबाट व्यावसायिक रूपमा कुकुरको कारोबार थालेका शाहले ‘ग्रो टुगेदर’को अवधारणा अघि सारेका छन्। सबै व्यवसायी बाँच्नुपर्छ र व्यवसाय बाँचे मात्र सबैको हित हुन्छ भन्ने बुझेर आफूले व्यवसायीबीचको एकतामा जोड दिएको उनले बताए ।