व्यवसायी बुर्लाकोटी : जहाँ हात हाल्यो त्यहीँ सफल

दुई वटा डुंगामा खुट्टा राखेर खोला तरिँदैन

धेरै काममा हात नहालेर एउटैमा केन्द्रित भएमा मात्र सफल हुन सकिन्छ भन्ने भाष्य समाजमा करिब स्थापित जस्तै छ । त्यसकै केही प्रतिनिधि कथन हुन्, माथिका हरफ । तर धादिङका विष्णुराज बुर्लाकोटी त्यस्तो एउटा सफलतम व्यवसायी हुन् जो फरक धारका विभिन्न व्यवसायमा राज गरिरहेका छन् ।

बुर्लाकोटीको व्यावसायिक यात्रा आजभन्दा ३५ वर्षअघि एग्रोभेट पसलबाट सुरु भएको थियो । जागिरको कुँवाबाट बाहिरिएर व्यापार–व्यवसायको नदीमा हेलिएका उनले साढे तीन दशकको यो यात्रामा एग्रोभेट, मान्छेको औषधिको होलसेल, बीउ कम्पनी सञ्चालनमा ल्याएका छन् । यसका अतिरिक्त उनले भर्खरै कृषि मार्ट पनि सुरु गरेका छन्, कृषि तथा पशुपन्छीका सम्पूर्ण वस्तु तथा सेवा एउटै छानामुनि गर्ने उपलब्ध गराउने उद्देश्यले ।

 

युनिसेफको जागिर छाडेर व्यवसायमा
व्यवसाय सुरु हुनुपूर्व ०४४ अगाडि बुर्लाकोटी प्रतिष्ठित संयुक्त राष्ट बाल कोष (युनिसेफ) मा काम गर्थे । उनको ड्युटी फिल्डमा हुन्थ्यो । कहिले पूर्व पुग्थे त कहिले पश्चिम । योक्रममा उनमा एकाएक व्यापार गर्ने सोच पलाएर आयो । नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर, धनगढी घुमेर के छ, के छैन भनेर अध्ययन गरे । धनगढीमा त्यतिबेला औषधि पसलेले पशुका केही औषधि राखेका त थिए तर एग्रोभेट पसल थिएनन् । मैदान खालीको यही दृश्य देखेर आफूले धनगढीमा एग्रोभेट पसल सुरु गरेको बुर्लाकोटी सुनाउँछन् ।

बुर्लाकोटीका अनुसार, उनले ४५ हजार रूपैयाँको पशुपन्छी औषधि, बीउबिजन र विषादी खरिद गरेर व्यवसाय सुरु गरेका थिए । तर प्रारम्भमै धक्का लागेको उनी सम्झन्छन् । ‘४०–४५ हजारको औषधि किनेर पसल सुरु गरेँ । ६ महिनामा त ३ हजार ६ सयको मात्र व्यापार भयो,’ उनले संघर्षको त्यो अप्ठ्यारो कुइँनेटोको स्मरण गरे ।

बुर्लाकोटीका लागि पछाडि फर्कंने छुट छँदै थिएन किनभने उनी व्यवसायको पोखरीमा हेलिइसकेका थिए । त्यसो त त उनी हार्ने स्वभावका पनि होइनन् । कसरी सस्टेन गर्ने भन्नेमा घोत्लिँदा घोत्लिँदै बेतबासका नाङ्लोलगायत वस्तु, झाडु राख्ने सोच बनाए । राम्रो बिक्री भयो ।

यस्तैमा एक शुभचिन्तकले ‘तिमी अब मान्छेको औषधिको पनि काम गर’ भन्ने सुझाव दिए । ती शुभेच्छुककै सहयोगमा मान्छेको औषधिको होलसेल सुरु गरे । दुवै पसल चल्न थाल्यो ।

बुर्लाकोटीले मान्छे र जनावरको औषधि बिक्री थाल्दा भारतबाट ट्रकका ट्रक बीउ बिजन आउँथ्यो । व्यापार व्यवसायको सम्भावना पहिल्याउने खुबी भएका बुर्लाकोटी मसक्क कस्सिए बीउ बिजन उत्पादन कम्पनी सञ्चालन गर्न ।

यसका लागि लगानी अलिक बढी चाहिन्थ्यो । अनुभव पनि थिएन । यसलाई सहज पार्न उनले उपाय सुझाए, साथीहरूको एउटा समूह बनाउने । यसरी उनले वर्षौं सुरु गरेको बीच कम्पनी अहिले राम्रैसँग फुलिरहेको छ । यही सफलताका कारण उनले देशभर ८ वटा बीउ कम्पनी सञ्चालन गरेका छन् । यी कम्पनीले विभिन्न किसिमका बीउ बिजन उत्पादन गरिरहेको बुर्लाकोटीले प्रसन्न मुद्रामा भेट टाइम्स प्रतिनिधिलाई सुनाए ।

कृषि मार्टको अवधारणा
किसानलाई लक्षित गरेर बुर्लाकोटीले व्यवसाय सञ्चालन गरिरहेका छन् । उनको औषधि पसलका अतिरिक्त बीउ बिजन कम्पनीसमेत सञ्चालनमा छन् ।

 

किसानलाई लक्षित गरेर विभिन्न वस्तुको उत्पादन तथा बिक्री भइरहे पनि उनीहरूका लागि आवश्यक सबै सामान तथा सेवा एउटै छानामुनि भने थिएन । बुर्लाकोटीको दिमागमा फ्याट् फुरिहाल्यो, किसानका लागि आवश्यक वस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउने । यही सोचको उपज हो, कृषि मार्ट ।

धनगढीमा सञ्चालनमा आएको कृषि मार्टमा के के पाइन्छ त ? बुर्लाकोटीका अनुसार, बीउ बिजन बिक्रीको स्टल, बिज्ञ सेवा, कृषि तथा भेटेरिनरीका विभिन्न औजार तथा मेसिनको बिक्री वितरण, कृषि उत्पादन खरिद, डेरी तथा परम्परागत स्थानीय खाजा र खाना, फ्रोजन मिट र माछा, हस्तकला, वन तथा कृषिका साधनबाट बनाइएका सामगी यहाँबाट खरिद गर्न सकिन्छ । तालिका लागि हलको पनि व्यवस्था गरिएको छ ।

 

किसानको बालीमा प्रयोग हुने पुराना सामग्री र घरमा खाद्यान्न तयार गर्ने विभिन्न साधनसहितको कृषि संग्रहालयलाई पनि उनले आकार दिएका छन् । सहरमा बस्ने बालबालिकाले शैक्षिक सामग्रीका रूपमा प्रयोग गरुन भन्ने हेतुले पनि उनले काम गरिरहेका छन् । सबैभन्दा सुखद कुराचाहिँ के भने उनको मार्टबाट किसानले कृषि र भेटेरिनरी क्षेत्रका विज्ञबाट सेवा लिन सक्छन् । यो विशेषज्ञ सेवा लिँदा कुनै शुल्क लाग्दैन ।

बुर्लाकोटीले अघि सारेको यो नितान्त नयाँ मोडल हो । यसले सफलता लिएको अवस्थामा देशका अन्य स्थानमा पनि विस्तार गर्ने चाहना उनको छ । ‘कृषि मार्ट एउटा नयाँ मोडल हो । यो सफल भएपछि विभिन्न सहरमा विस्तार गर्ने सोच छ,’ उनले भावी योजनाबारे सोधिएको प्रश्नको जवाफ दिँदै भने ।

 

बुवालाई सघाउँदै कम्प्युटर इन्जिनियर छोरा
चिकित्सा विज्ञान, इन्जिनियरिङ विषय अध्ययन गरेका व्यक्ति सायदै अन्य क्षेत्रमा संलगन हुन्छन् । यो क्षेत्रमा सजिलै रोजगारी पाइने भएकाले अन्यत्र जानुपर्ने अवस्था पनि छैन ।

विष्णुराजका छोरा उज्ज्वल इन्जिनियरिङ विषय अध्ययन गरेका छन् । तर उनी आफ्नो क्षेत्रमा नलागेर बुवाले निकै मिहिनेत र परिश्रमले हुर्काएको व्यापार व्यवसायलाई आडभरोसा दिइरहेका छन् ।