नेपालमा ठूलो मात्रामा औषधि आयात हुने गरेको छ । विभिन्न मुलुकबाट औषधि आयात गर्दा बर्सेनि अर्बौं रूपैयाँ बाहिरिने गरेको सरकारी तथ्यांकले देखाउँछ । यसरी अर्को मुलुकबाट आयात गरिने औषधिको गुणस्तरमा भने बारम्बार प्रश्न उठ्दै आइरहेको छ । केही कम्पनीहरूले नेपालमा बिक्री गर्नकै लागि कम गुणस्तरका फिड सप्लिमेन्ट पठाउने गरेको सरकारी प्रयोगशालामा गरिएको परीक्षणले नै देखाएको छ । नेपालमा पशुपन्छी औषधि पैठारीमा सयौं व्यवसायी संलग्न छन् । यसलाई व्यवस्थित र मर्यादित गर्न संस्थागत प्रयास पनि भइरहेका छन् । नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघ त्यस्तै संगठित प्रयासको योग हो । सो संघको नेतृत्वमा हालै रेवतीरमण निरौला निर्वाचित भएका छन् । निरौलासँग पशुपन्छी औषधि बजार स्वस्थ र स्वच्छ राख्न संघले खेल्ने भूमिका, औषधि आयातको वर्तमान अवस्था, त्यसको गुणस्तरलगायत विषयमा केन्द्रित रहेर भेट टाइम्सले गरेको सवाल :
तपाईं नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघको अध्यक्षमा निर्वाचित हुनुभएको छ । सर्वप्रथम यहाँलाई भेट टाइम्सको तर्फबाट बधाई छ ।
नेपाल पशुपन्छि औषधि पैठारीकर्ता संघको नयाँ कार्य समिति र मेरो व्यक्तिगततर्फबाट भेट टाइम्स परिवारलाई पनि धन्यवाद छ ।
तपाईं नेपाल पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्ष भइसक्नु भएको व्यक्ति हुनुहुन्छ । अहिले पैठारीकर्ता संघको अध्यक्षमा पनि चयन हुनु भएको छ । खासमा यी दुई संघ एकै प्रकृतिका भएकाले गाभ्नुपर्ने बहस उठेको छ । यसबारे तपार्ईंको मत के छ ?
म नेपाल पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्ष भइसकेको व्यक्ति हुँ । हाल म नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघको अध्यक्ष छु । बाहिरबाट सरसर्ती हेर्दा खासमा यी दुई संघ एकै प्रकृतिको जस्तो लाग्छ ।
यही कोणबाट दुई संघलाई गाभेर एउटै संघ बनाउन पर्छ भन्ने आवाज नउठेको होइन । यी दुई संघ एक अर्काका परिपूरक छन् । तर उस्तै भने होइनन् । नेपाल पशुपन्छी औषधि व्यवसायी संघले पूर्व मेचीदेखि पश्चिम महाकालीका पशुपन्छी औषधि व्यवसायी विशेष गरी खुद्रा र थोक बिक्रेतालाई तथा केही हदसम्म पैठारीकर्तालाई पनि समेट्छ ।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघको सदस्य हुन अनिवार्य रूपमा औषधि व्यवस्था विभागबाट व्यावसायिक प्रमाणपत्र (पसल दर्ता प्रमाणपत्र) लिएको हुनु पर्दछ । तर नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघले सम्पूर्ण पशुपन्छी पैठारीकर्ताहरूलाई मात्र समेट्दछ ।
व्यवसायी औषधि व्यवस्था विभागमा दर्ता भएको होस वा नेपाल सरकारको कुनै निकायमा, पशुपन्छी औषधि पैठारी गर्ने कार्य गरेको पुष्टि हुने व्यक्ति÷फर्म पैठारीकर्ता संघको सदस्य हुन सक्छन् ।
नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघ आजभन्दा १६ वर्ष पहिले विधिवत् दर्ता भई पैठारीकर्ता व्यवसायीको हक हितको काम गर्दै आइरहेको छ । पशुपन्छी औषधि व्यवसायी संघले चाहिँ खुद्रा तथा थोकको व्यावसायिक हकहित र्छ । राज्यबाट प्रदान गरिने व्यावसायिक तालिम (ओरिएन्टेसन कोर्ष), रिफ्रेसर कोर्षजस्ता कार्यक्रममा दुई संघबीच सहकार्य हुँदै आएको छ ।
अध्यक्षज्यू, नेपालको पशुपन्छी औषधि क्षेत्रको विद्यमान समस्या के–के छन् ?
समस्या उजागर गर्ने हो भने समस्या नै समस्याको चाङ माथि यो पैठारीकर्ता संघ बसेको छ । समस्याको चाङमाथि भए पनि तिनको उचित सम्बोधन र समाधान हुने कुरामा नयाँ कार्यसमिति आशावादी छ । पैठारीकर्ता संघको मुख्य काम औषधि व्यवस्था विभाग तथा पशु सेवा विभागसँग समन्वयकारी भूमिका निर्वाह गरी व्यवसायीहरूले झेलेका समस्या समाधानमा सहजीकरण गरिदिने हो । आवश्यक परेमा स्वास्थ्य मन्त्रालय तथा कृषि मन्त्रालयसम्म पुगेर व्यवसायीको हक हितमा आवाज उठाउन पनि संघ तयार छ । हालै औषधि व्यवस्था विभागमा भएको परिचयात्मक कार्यक्रममा पनि आफ्ना समस्याहरूबारे जानकारी गराएका थियौं ।
ती निम्नानुसार छन् :
-
पशुपन्छीमा प्रयोग हुने अत्यावश्यक औषधिको विवरण (List of Essential Veterinary Drugs) को सूचि अहिलेसम्म तयार नभएकाले अघि बढाउनुपर्ने ।
-
औषधि सल्लाहकार समितिमा यस व्यवसायी संघको प्रतिनिधित्व नरहेकाले हुनुपर्ने । यो विषय विभागका अतिरिक्त कृषि तथा पशुपन्छी विकास मन्त्रालयका श्रीमान् सचिवज्यूसमक्ष पनि राखेका छौं ।
-
पैठारीकर्ताहरूले औषधि व्यवस्था विभागले तोकेको मापदण्डको सम्पूर्ण प्रक्रिया पु-याएपछि हाल इन्जेक्सनलाई मात्र पैठारी इजाजत प्रमाणपत्र दिने प्रवधान रहेकाले यसबाहेकका औषधिहरूलाई पनि पैठारी दिन मिल्ने प्रावधान राख्न अनुरोध गरिएको ।
-
तालिम प्राप्त वैकल्पिक व्यवसायीको व्यवस्थापन गर्न कानूनी अडचन नै भए फुकाएर गर्न अनुरोध गरिएको ।