कुखुरापालक किसानले आफ्नो श्रम, सीप र लगानी सिञ्चित गरेर अण्डा उत्पादन गरिरहनु भएको छ । किसानहरूको यही प्रयासको प्रतिफल देश केही वर्षदेखि पोल्ट्रीमा आत्मनिर्भर छ । पोल्ट्रीजन्य पदार्थमा विगतमा झैं अर्बौं रूपैयाँ बाहिर पठाउनुपर्ने बाध्यता अन्त्य भएको छ । भलै खुला सीमाको फाइदा उठाउँदै तस्करी गरेर पोल्ट्रीजन्य वस्तुको आयात हुँदै आइरहेको छ । कुखुराको मासुमा नेपाल आत्मनिर्भर भइसकेकाले यो रोकिनु पर्छ ।
अनेक असहजताको सामना गरिरहेको पोल्ट्री क्षेत्रको जिडिपीमा उल्लेख्य उपस्थिति र योगदान छ । तथापि, अझैसम्म किसानका कुखुराबाट उत्पादित अण्डाले उचित मूल्य पाउन सकिरहेका छैनन् । लागत मूल्यभन्दा पनि कममा अण्डा बिक्री गर्नुपर्ने बाध्यतामा उनीहरू छन् । जसका कारण अधिकांश किसान सकिने अवस्थामा छन् । कतिपय अब नसकिने भयो भन्ने निष्कर्षका साथ फार्म बन्द गरेर विदेश पलायन भएका छन् । केही जेनतेन अडिएका छन् ।
तर खुसी छैनन्, निराश छन् । यो क्षेत्रमा लागेका किसानलाई बचाउन केही न केही गर्नुपर्ने खाँचो हिजैदेखि थियो । अहिले झन् टड्कारो बनेको छ । यही उत्तरदायित्व बोध गर्दै केही महिना अघिबाट हामीले यसमा के गर्न सकिन्छ भनेर छलफल र विमर्श थालेका थियौं । नेपाल एग ट्रेडिङ त्यही छलफलको निचोड हो ।
के हो नेपाल एग ट्रेडिङ ?
नेपाल एग ट्रेडिङ सरकारी निकायमा दर्ता कम्पनी हो । यो सञ्चालनको मूल उद्देश्य ‘बाँच र बचाउ’ हो । हामी चाहन्छौं, पोल्ट्री उद्योगले सिर्जना गरेको ५–७ लाखको रोजगारी नगुमोस् । र, यो देशभरका किसानको ओत लाग्ने थलो बनोस् ।
तर यो अभियान भर्खंरै सुरु गरिएकाले सबैतिर पुग्न सकेको छैन । आजको दिनसम्म हाम्रो ट्रेडिङको अवधारणामा ३२ जना आबद्ध हुनुहुन्छ । आशा छ, आगामी दिनमा अरू बाँकी किसान पनि जोडिँदै जानुहुनेछ ।
यहाँनिर व्यवसायी र उद्यमी यसमा जोडिन्छन् कि जोडिँदैनन् भन्ने जिज्ञासा पलाउन सक्छ । यसमा उहाँहरूलाई भने आबद्ध गराइने छैन । हाम्रो मूल उद्देश्य ट्रेडिङ हो ।
किसान र सप्लायर्सबीच पुलको भूमिका यसले निर्वाह गर्नेछ । अझै बुझिने भाषामा भन्नुपर्दा नेपाल एग ट्रेडिङले कुखुराको अण्डाको बजारीकरणमा मध्यस्थताको भूमिका निर्वाह गर्नेछ । लगानी कसरी जुटाइयो भन्ने अर्को जिज्ञासा पनि हुनसक्छ । उद्योग नै खडा गर्ने कुरा नभएकाले यसमा ठूलो लगानी केही छैन ।
के–के गर्छ यसले ?
अहिले किसानले पालेका कुखुराबाट उत्पादित सबै अण्डाले बजार पाएका छैनन् । यसको एउटा कारण किसानको पहुँच बजारसम्म नहुनु पनि हो भन्ने हाम्रो ठम्याइ छ ।
बजारमा अण्डा बिक्री गर्न सकेका छन् कतिपयले । तर तिनले उचित मूल्य पाइरहेका छैनन् । लागतभन्दा पनि कममा बेचिरहेका छन् । नेपाल एग ट्रेडिङले किसानहरूलाई सप्लायर्ससँग जोडिदिएर बजार उपलब्ध गराइदिनेछ । कम्तीमा लागत मूल्यभन्दा कममा अण्डा बिक्री गर्नु नपरोस् भन्ने हाम्रोमा प्रयास रहनेछ । अहिले किसान बिचौलियाले आजित छन् ।
दुःख गर्ने किसानले लाभ पाउँदैन तर बीचका बिचौलियाले मिहिनेत र परिश्रम नै नगरी कुस्ता लाभ लुड्याइरहेका छन् । यहाँनिर प्रश्न उठ्छ, यो बजारीकरणको अवधारणामा लेयर छ कि छैन ? बिचौलिया मोटाउने अहिलेको बजार प्रणाली यसले भत्काउँछ ?
हाम्रो मूल उद्देश्य नै बिचौलिया अन्त्य हो । अहिलेलाई चाहिँ हामीले सुरक्षाको हिसाबले काम गर्न खोजेका छौं । बजार नपाएर विस्थापित हुने अवस्था आउन नदिन किसान र सप्लायर्सलाई हामीले जोड्ने छौं ।
अण्डा लिँदा सप्लायर्सको पनि लगानी हुन्छ । लगानी भइसकेपछि उसले फाइदा खोज्छ । यो अस्वाभाविक होइन । उनीहरूको लगानी र मुनाफाको सुनिश्चितता नेपाल एग ट्रेडिङले गरिदिनेछ । किसान र उपभोक्ताबीचको मूल्यमा निकै ठूलो खाडल छ ।
एकातिर किसान लागत मूल्यसमेत नलिई कम मूल्यमा आफ्नो अण्डा बिक्री गर्न बाध्य छन् भने अर्कातिर उपभोक्ता महँगो रकम तिरेर उपभोग गर्नुपर्ने अवस्थामा छन् । उपभोक्ताले सर्वसुलभ मूल्यमा अण्डा प्राप्त गरुन् र किसानले पनि कम्तीमा लागत मूल्यसम्म प्राप्त गर्न सकून् भन्ने हाम्रो ध्येय छ । फेरि पनि दोहो-याऊँ, हाम्रो ‘अल्टिमेट’ उद्देश्य भनेको किसान नसकियोस्, विस्थापित नहोस् र यो क्षेत्रले सिर्जना गरेको ५ लाखदेखि ७ लाख रोजगारी यथावत् कायम होस् भन्ने हो ।
किसानले कसरी गर्ने सम्पर्क ?
मैले माथि नै भनेँ कि यो अभियानलाई देशव्यापी बनाउने सोच हाम्रो छ । भर्खरै सुरु भएकाले यसको कार्यालय काठमाडौंको ढुंगेअड्डामा छ । देशको बीचमा पर्ने तथा राजधानी भएकाले काठमाडौंलाई उपयुक्त हुने ठानेर रोजिएको हो ।
देशभरका सबै किसानलाई हाम्रो यो कार्यालय खुला छ । यहाँ आएर अण्डाको बजारीकरणबारे जो सुकैले सुझाव लिन सक्नुहुनेछ । हाम्रो कार्यालयमा सहजीकरण गरिदिने व्यक्ति हुनुहुन्छ, टेलिफोन सम्पर्क गरेर पनि लाभ उठाउन सकिन्छ । यसरी मध्यस्थताको भूमिका निर्वाह गरेबापत हामीलाई कुनै शुल्क तिर्नु पर्दैन । बजार नपाएर मर्कामा परिरहेका किसान लाभान्वित बनून् भन्ने हेतुले सुरु गरिएको अभियान भएकाले यहाँ सबै किसानले आफ्ना समस्या निर्धक्क राख्न सक्नु हुनेछ ।
(नेपाल एग ट्रेडिङका अध्यक्ष ढकालसँग टेलिफोनमार्फत गरिएको कुराकानीमा आधारित)
Language »