बसिलस लाइकेनिफर्मिस नामको खास प्रोबायोटिक जीवाणुबाट फर्मेन्टेसन पद्धतिद्वारा बिएमडी बनाइन्छ । हामीले खाने चिज (cheese) लगायत खाद्यवस्तुमा संरक्षितको रूपमा प्रयोग हुने nisin सँग बिएमडीको रूप धेरै हदसम्म मिल्दछ । यो सर्वप्रथम सन् १९४५ मा पत्ता लागेको हो ।
अमेरिका, भारत, चीनलगायत मुलुकमा यसको प्रयोग हुने गरेको छ । तर केही देशले भने यसको प्रयोगलाई प्रतिबन्ध लगाएका छन् । युरोपियन युनियन आबद्ध कुनै पनि देशमा यसको प्रयोग गर्न पाइँदैन । युरोपियन युनियनले सन् २००६ को जनवरी १ मा यसमाथि प्रतिबन्ध लगाएको हो । हाम्रो देश नेपालमा पनि सन् २०१६ देखि यसमा प्रतिबन्ध लगाइएको छ ।
मान्छेमा हुने इन्टेरिक कोलाइटिस (enteric colitis) रोगको उपचारका लागि भ्याङ्कुमाइसिन प्रयोग गरिन्छ । भ्याङ्कुमाइसिनले भविष्यमा काम नगरेमा बिएमडीलाई सुरक्षित औषधिको रूपमा सञ्चय गरेर प्रयोग गर्न सकिने विश्वास गरिएको छ । यही कारण यसलाई पशुपन्छीको दानामा प्रयोग गर्न रोक लगाएको देखिन्छ । एउटा एन्टिबायोटिक्सको प्रयोगले अरू एन्टिबायोटिक्सको रेसिस्टेन्ट बढी हुने अर्को विश्लेषणले पनि यसमा भूमिका खेलेको बताइन्छ ।
अमेरिकाले बिएमडीलाई किन लगाएन प्रतिबन्ध
खाद्य तथा औषधि प्रशासन (FDA) ले बिएमडीलाई मान्छेका लागि आवश्यक पर्ने महत्वपुर्ण एण्टिबायोटिक्स नभएको सूचीमा राखेको छ । किनकि, यो एण्टिबायोटिक्स मानिसको घाउ खटिरामा मल्हमको रूपमा मात्र प्रयोग गरिन्छ । अमेरिकन वैज्ञानिकहरूको भनाइ अनुसार बिएमडी मान्छेमा इन्टेरिक कोलाइटिसको उपचारमा प्रयोग गर्ने सम्भव छैन । किनकि, बिएमडीको प्रयोगले मानिसको मृगौलामा अत्यधिक असर गर्ने सम्भावना हुन्छ । तसर्थ, आन्तरिक उपचार नभई शरीरको बाहिरी छालामा भविष्यमा पनि यो मल्हमको रूपमै प्रयोग भइरहने छ ।
बिएमडीको प्रयोगले पशुपन्छीमा अरू जीवाणुजन्य रोगको उपचारमा सफलता बढी देखिएको हुँदा प्रतिरोध क्षमाताको स्थानान्तरणको सम्भावना निकै कम देखिएको छ । युरोपमा बिएमडीलाई पूर्ण प्रतिबन्ध लगाइएको भए पनि मानिसमा भ्याङ्कुमाइसिन एण्टिबायोटिक्स रेसिसटेन्सकोे दर अमेरिकाभन्दा बढी देखिएको छ ।
विश्व स्वास्थ्य संगठन (WHO), संयुक्त राष्ट्र खाद्य एवं कृषि संगठन FAO) र विश्व पशु स्वास्थ संगठन (OIE) को विज्ञहरूको छलफलले पनि बिएमडीलाई चिकित्सकीय कार्यमा कम प्रयोग हुने वस्तुको सूचीमा राखेको छ ।