काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) को अध्यक्षमा डा. रामकृष्ण खतिवडा विजयी बनेका छन् । आफ्ना प्रतिस्पर्धी डा.कृष्ण काफ्लेलाई पाखा लगाउँदै खतिवडा आगामी कार्यकालका लागि विजयी बनेका हुन् ।
डा. खतिवडा ३८० मतका साथ जित दर्ता गराउँदा डा. काफ्ले २६५ मतमा सीमित भए ।
एनभिएको नेतृत्वमा खतिवडाको यो दोस्रो इन्ट्री हो । यसअघि पनि उनले एक कार्यकाल पशु चिकित्सकहरूको छाता संगठन एनभिएको नेतृत्व गरेका थिए ।
वर्तमान अध्यक्ष डा. शीतलकाजी श्रेष्ठको स्थान लिँदै खतिवडाले आगामी २ वर्ष एनभिएको नेतृत्व गर्नेछन् ।
देशभर रहेका पशु चिकित्सकलाई संगठित गरी समग्र पशुपन्छी क्षेत्रको हक हितमा आफूलाई खरो उतार्नु उनको चुनौती हुनेछ ।
उपाध्यक्षमा डा. अशेष भट्टराईको पल्लाभारी भयो । आफूसँग प्रतिस्पर्धामा रहेका डा. अर्जुन अर्याललाई पछि पार्दै उनी विजयी भएका हुन् । उनीहरूको मत क्रमशः ३४५ ,२९७ छ ।
संगठनको अध्यक्षपछिको अर्को शक्तिशाली पद महासचिवमा डा. केदार सुवेदी विजयी भए । डा. सुवेदीले ४९० मतका साथ जित निकाल्दा डा. योगेन्द्रराज पन्तले मात्रै १४८ मत ल्याए ।