दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाका भुरा वितरण गरेको छ । व्यावसायिकरूपमा माछापालन गरिरहेका कृषकलाई गाउँपालिकाले माछाका भुरा वितरण गरेको हो ।
सातवटै वडाका कृषकलाई ६० हजार माछाका भुरा वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिनुभयो । माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न र माछापालन व्यवसायमा टिकाइराख्ने उद्देश्यसहित गाउँपालिकाले अनुदानमा माछा भुरा वितरण गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विगत लामो समयदेखि माछापालन व्यवसायमा आबद्ध कृषकसँग भुरा प्राप्तिका लागि निवेदन माग गरेका थियौं। निवेदन प्राप्त भएका २२ कृषकलाई भुरा वितरण गरिएको छ ।” उहाँका अनुसार प्रतिरोपनी सात सयका दरले माछाका भुरा वितरण गरिएको छ ।
कृषकलाई तातो हावापानीमा हुर्किन सक्ने कमन कार्पको माछाका भुरा वितरण गरिएको छ । “म्याग्दे गाउँपालिकाको हावापानीसँग मिल्ने प्रजातिको भुरा बाँडेका हौँ, यो माछा एक वर्षमा दुई किलोसम्म हुन्छ”, उहाँले भन्नुभयो । गाउँपालिकाले नेपाल सरकार कृषि अनुसन्धान केन्द्र मातहतको मत्स्य अनुसन्धान केन्द्र बेगनासबाट प्रतिभुरा ५० पैसामा खरिद गरेको हो ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले माछापालक कृषकलाई प्रोत्साहन गर्न अनुदानमा भुरा वितरणको कार्यक्रम ल्याइएको बताउनुभयो । “गाउँपालिकाले व्यावसायिकरूपमा काम गरिरहेका सबै कृषकलाई अनुदानको नीति ल्याएको छ, सोहीबमोजिम माछापालक कृषकलाई पनि शतप्रतिशत अनुदानमा भुरा वितरण गरेका हौँ”, उहाँले भन्नुभयो, “यसले अहिले व्यवसाय गरिरहेकालाई त प्रोत्साहन हुन्छ नै नयाँलाई आकर्षण थप्ने विश्वास लिएका छौँ ।”