कँडेलको अनुसन्धान प्रभावित हुन नदिन निरन्तर खबरदारीमा छु : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानेले पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणको अनुसन्धानमा कुनै कमी हुन नदिन आफूले निरन्तर खबरदारी गरिरहेको बताएका छन् । एउटा जिम्मेवार जनप्रतिनिधिको भूमिका निर्वाह गर्दै कँडेलको परिवारसँग निरन्तर संवादमा रहेको र घटनामा राजनीतिक रंग नपोतियोस् भनेर सचेत रहेको उनले बताए ।
‘चितवनका सफल व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणमा म परिवारसँग निरन्तर संवादमा छु, प्रशासनसँग निरन्तर समन्वयमा छु, अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरिरहेको छु, घटनामा राजनीतिको रंग नपोतियोस् भनेर सचेत छु,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।
आफू सत्य, न्याय र पीडितको पक्षमा रहेको प्रष्ट पार्दै उनले घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर प्रहरी प्रशासनलाई घच्घच्याइरहेको बताए ।
कँडेल आत्महत्या प्रकरणमा जोडिएका प्रदीप रुंगाटा पक्राउ नपरेको विरोधमा गरिएको बन्दको प्रसंगमा उनले आर्थिक समस्यासँग लडिरहेको चितवनमा बन्द, हड्ताल केही नहोस् भनेर आफू सचेत रहेको र यी सबै कुरा संयमपूर्वक नियालिरहेको बताए ।
चितवनले एउटा असल मित्र गुमाएको उल्लेख गर्दै उनले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे ।
नेपाल दाना संघका उपाध्यक्षसमेत रहेका कँडेल गत मंगलबार चितवनमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । घटनास्थलमा भेटिएको सुसाइड नोटमा अनमोल फिड बिक्रीपछि आफूले पाउनुपर्ने रकम नदिएर प्रदीप रुंगाटा र चार्टड एकाउन्टेन्ट जीवन रावलले आत्महत्याको बाटो रोज्ने अवस्थामा पुर्याएको उनले उल्लेख गरेका थिए । अनमोल फिडका नेतृत्वमा रहेका कँडेलले केही महिनाअघि सोको ८५ प्रतिशत सेयर रुंगाटालाई बिक्री गरेका थिए । घटनापछि परिवारका सदस्यले रुंगाटा र रावलविरुद्ध किटानी जाहेरी दिएका थिए । रावल त्यसको केही समयपछि नै पक्राउ परे पनि रुंगाटा फरार छन् ।