शंकर कँडेल आत्महत्या दुरुत्साहन आरोपमा रावल पक्राउ

काठमाडौं । पोल्ट्री व्यवसायी शंकर कँडेललाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा अनमोल फिडका चार्टड एकाउन्टेन्ट जीवन रावल पक्राउ परेका छन् ।
कँडेलको सुसाइड नोटमा व्यवसायी प्रदीप रुंगाटा र रावलले आत्महत्या गर्न बाध्य पारेको व्यहोरा लेखिएको पाइएपछि परिवारका सदस्यले उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय, चितवनमा आत्महत्या दुरुत्साहनको उजुरी दिएका थिए । उजुरीपछि फरार रावल बिहीबार पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनले जितपुरसिमरा उपमहानगरपालिका–२ बाट रावललाई नियन्त्रणमा लिइएको जनाएको छ । थप अनुसन्धानका लागि प्रहरीलाई उनलाई जिल्ला अदालतमा पेस गर्ने तयारी गरेको छ ।
नेपाल दाना उद्योग संघका उपाध्यक्षसमेत रहेका कँडेल मंगलबार आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । नेपाल दाना उद्योग संघका अर्का उपाध्यक्ष रुंगाटामाथि कँडेललाई आत्महत्या गर्न मुख्य भूमिका खेलेको आरोप लागेको छ । परिवारका तर्फबाट प्रहरीमा किटानी जाहेरी परेपछि उनी पनि फरार छन् । प्रहरीले फरार उनको खोजी कार्य चलिरहेको जनाएको छ ।
अनमोल फिडका नेतृत्वकर्ता कँडेलले आर्थिक दायित्व थेग्न नसकेपछि केही महिनाअघि रुंगाटालाई उक्त उद्योगको ८५ प्रतिशत सेयर बिक्री गरेका थिए । सेयर बिक्रीपछि आफूले पाउनुपर्ने रकम रुंगाटाले नदिएर मानसिक तनाव दिएको कँडेलको सुसाइड नोटमा भेटिएको प्रहरीले जनाएको छ ।
घटनापछि कुखुरापालक किसान तथा पोल्ट्री क्षेत्रका विभिन्न संघ, संगठन तथा व्यक्तिहरूले घटनाको निष्पक्ष छानबिन गरेर दोषीउपर कारबाही गर्न माग गरेका छन् ।